+
+

पासाङल्हामु राजमार्गमा जोखिम बढ्यो

रासस रासस
२०७८ असोज २१ गते १३:१९
फाइल तस्वीर

२१ असोज, रसुवा । ठूलोे ढुंगा लच्किएका कारण उत्तरी रसुवास्थित याङयाङ खोलाको पासाङल्हामु राजमार्गमा जोखिम बढ्दै गएको छ । कुनातर्फ रहेको एक विशाल ढुंगाले माटोको भाग समेत केही मात्रामा छोडी राजमार्ग सतहतर्फ दब्बिन थालेका कारण जोखिम बढेको हो ।

सदरमुकाम धुञ्चेबाट करिब १३ किलोमिटर उत्तरमा अवस्थित उक्त याङयाङ खोलाबाट मालबाहकलगायत दैनिक दर्जनांै सवारीसाधन ओेहोरदोहोर गर्दै आएका छन् । ढुंगा लड्ने सम्भावना बढ्दै गएकाले मानवीय क्षति हुन्छ कि भन्ने जनमानसमा त्रास समेत बढ्न थालेको  छ ।

गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने उक्त स्थानमा पुग्नासाथ ढुंगा पल्टिन्छ कि भन्ने डरले  गाडीको गतिलाई तीव्र रूपमा अगाडि बढाउने गरेको र आफूले रसुवागढीदेखि काठमाडौंसम्म नियमित सवारीसाधन चलाइरहेको चालक सुरेश श्रेष्ठले बताए । आफूले सवारी साधन गुडाउँदा ढुंगाको अवस्था हेर्ने गरेको र १०÷१५ दिनको अवधिमा झण्डै एक मिटर लच्किन गई ढुंगा बसेको सतह भागमा चिराचिरा भइसकेको उनले बताए ।

नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने प्रमुख मार्गमा बढेको जोखिम न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ । राजमार्गको जोखिम व्यवस्थापन गरी जटिल समस्या समाधान गर्न गृह मन्त्रालय मार्फत भूगर्भविद्ले छिट्टै अध्ययन गर्नेमा आफू आशावादी रहेको रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताए ।

उक्त ढुंगा कुनबेला पल्टिन्छ भन्ने ठेगान छैन । ढुंगा पल्टिँदा मानवीय क्षति हुन सक्छ भनेर सर्वसाधारण त्रसित छन् । भिरालो भूभागको राजमार्गमा क्षति भएमा मालबाहक सवारीसाधन रोकिन गई भन्सार शुल्कबाट प्राप्त हुने नियमित राजस्व असुली समेत प्रवाभित हुने देखिएको भन्सार कार्यालयले जनाएको छ ।

ढुंगाभन्दा करिब पाँच सय मिटरको उत्तरतर्फ २०६० सालदेखि भूमिगत रूपले सञ्चालित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र रहेको छ । ढुंगा झरेर भोटेकोशी थुनिएमा चिलिमे विद्युत केन्द्रले निकास लिइरहेको पानी प्रवाहमा असर पुर्‍याउन सक्ने भएकाले सो ढुंगालाई समयमै व्यवस्थापन गर्न जरूरी रहेको विद्युत क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन् ।

नेपाल–चीन बीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गको समस्या छिटोभन्दा छिटो समाधान गरिदिन नेपाली कांग्रेस रसुवाका सभापति पेम्वाछिरिङ तामाङले आग्रह गरेका छन् । सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सो ढुंगाको नियमित अध्ययन गर्न एक प्राविधिक स्याफ्रुबेंसीमा तैनाथ गरिएको र सडक सुधार आयोजनाको क्षेत्रभित्र पर्ने भएकाले कुन तरिकाले फुटाउने भन्ने विषयमा प्राविधिक अध्ययन समेत भइरहेको छ ।

गल्छीदेखि मैलुङ हुँदै स्याफ्रुबेंसीसम्मको सडक राजमार्ग सुधार एवं व्यवस्थापन कार्य अगाडि बढेपनि गत असार १ गतेको भारी वर्षाले ठाउँ–ठाउँमा भीषण पहिरो गई जोखिम बढेपछि असारबाटै निर्माणका सबै गतिविधि रोकिएकाले याङयाङ खोलाको काम अगाडि बाँकी रहेको बताइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?