
२१ असोज, काठमाडौं । ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउन ७ वटा कम्पनीले आवेदन पेश गरेका छन् । सडक विभागले फ्लाइओभर बनाउन गत असारको अन्तिम सातामा इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनाउने गरी ठेक्का आह्वान गरेको थियो ।
सडक विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीका अनुसार परामर्शदाता कम्पनीले विभिन्न विकल्पसहित दिएको प्रारम्भिक रिपोर्टका आधारमा ग्वार्को चोकमा फ्लाइओभर निर्माणको लागि प्रक्रिया अघि बढिसकेको बताए । यो फ्लाइओभर बनाउन अर्थ मन्त्रालयले ३३ करोडको स्रोत सुनिश्चित गरेको छ ।
‘चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको हो,’ उनले भने,’बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्याम्प बनाउनुपर्नेछ,’ उनले भने ।
ठेक्काका कालिका कन्स्ट्रक्सन पनि सहभागी भएकाले उसलाई मूल्यांकनमा राख्ने/नराख्नेबारे विभाग अनिणिर्त छ ।भ्रष्टाचारको मुद्दा लागेका कम्पनी टेन्डरमा सहभागी भएमा सरकारको स्वीकृतिमा मात्रै मूल्यांकन गर्न सकिने कानुनी व्यवस्था छ । त्यसका लागि मन्त्रालयको अनुमति चाहिने भएपनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्तिमा भएको ढिलाइले मूल्यांकन पनि प्रभावित भएको छ ।
सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले गत २०७५ मंसिर २१ गते कालिका कन्स्ट्रक्सनविरुद्ध मुद्दा दायर गरेको थियोआयोगले कम्पनीसँग दुई अर्ब १३ करोड ७६ लाख ८० हजार विगो माग गरेको छ ।
ठेक्का सम्झौता भएको २ वर्षभित्र फ्लाइओभर बनाइसक्ने लक्ष्य छ । चक्रपथका चार लेनमा समानान्तर भएर बन्ने फ्लाइओभरले ग्वार्को चोकमा हुने जाम घटाउने विश्वास विभागको छ । फ्लाइओभर निर्माण भएपछि इमाडोल-पाटन गुड्ने सवारीसवारीसाधन फ्लाइओभरकै मुनि हालकै चक्रपथबाट वारपार गर्नेछन् ।
प्रतिक्रिया 4