
काठमाडौं । दिल्ली भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा)का नेताहरुसँग भेटवार्ता गरेको छ ।
भाजपाको निमन्त्रणमा बिहीबार बिहान दिल्ली गएका कांग्रेस नेताहरुले भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको हो ।
भेटमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहर पनि सहभागी थिए । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा नेताहरु उदयशमशेर राणा र अजय चौरसिया दिल्ली गएका हुन् ।
कांग्रेस नेता राणाले भाजपा अध्यक्षसँगको भेट सौहार्दपूर्ण भएको र दुई पार्टीबीच सम्बन्ध सुधारका विषयमा केन्द्रित रहेको बताए । ‘कांग्रेस र भाजपाबीचको सम्बन्ध विस्तार गर्नेबारे हामीहरुबीच कुराकानी भयो,’ उनले दिल्लीबाट अनलाइनखबरसँग भने ।
कांग्रेस नेताहरुले शुक्रबार भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेट्ने कार्यक्रम छ । शनिबार उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
यसअघि कांग्रेसको निमन्त्रणमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । उनी फर्किएलगत्तै कांग्रेसलाई भारत भ्रमणको निम्तो दिएका हुन् ।
प्रतिक्रिया 4