
२१ असोज, काठमाडौं । काठमाडौं महानगरका चौपाया बजारमा खसी, बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो ।
परीक्षणको पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङ्मा हरियो रङ् लगाएर परीक्षण थालनी गरे ।
कलंकी काठमाडौंको ठूलो चौपाया बजार भएकाले यसलाई व्यवस्थित गरेपछि अन्य ठाउँमा यहाँबाट जाने चौपाया निरोगी पुग्ने महानगरपालिकाले जनाएको छ।
‘संघको सहयोगमा हामीले यहाँका धेरै जसो व्यापारी व्यवसाय दर्ता गराएका छौं। दर्तावाला व्यापारीबाट ठगी हुने सम्भावना कम हुन्छ,’ उनले भनिन् ।
पशु सेवा विभागकी महानिर्देशक डा. श्रेष्ठले दशैमा धेरै मासु खपत हुने भएकोले विशेष समूह बनाएर बजारमा आएको बताइन् ।
महानगरको पशु सेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाकाअनुसार पहिले खसी, बोका, भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरिन्छ । यदि मासु खान योग्य देखियो भने सिंहमा हरियो रङ्ग लगाइन्छ ।विरामी भएर खान अयोग्य भेटियो भने सिंङ्मा रातो रङ्ग लगाइन्छ । आवश्यकताका आधारमा यसरी विरामी भेटिएका चौपायाको नमूना संकलन गरेर परीक्षण पनि हुनेछ ।
महानगरभित्र दशैं लक्षित गरेर कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्रमा चौपाया विक्री वितरण हुन्छ हुन् । महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा विहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन हुनेछन् ।
काठमाडौं महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मावि पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरीे -थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण हुँदैछ ।
सामान्यतया चौपायाको मूल्य माग र आपूर्तिमा निर्भर हुने गरेको छ । काठमाडौँ चौपाया खरिद विक्री प्रालिका सञ्चालक व्यवस्थापक जीवन खतिवडा भन्छन्, ‘मूल्य नबढोस् भन्नेमा हामी सजग छौँ । मूल्य नियन्त्रण सबैको प्रयासबाट सम्भव हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4