+
+

चीनसँगको द्वन्द्व चर्काउन नहुने अमेरिकी निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १३:१४

२२ असोज, काठमाडौं । चीनका वरिष्ठ कूटनीतिज्ञ याङ जिइची र अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबीच भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको ज्युरिकमा बुधबार भएको भेटवार्तामा दुवै पक्ष सौहार्द रूपले प्रस्तुत भएका थिए ।

त्यसक्रममा अमेरिका-चीन सम्बन्ध र साझा चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाबारे गहन छलफल भएको थियो । ताइवानसँग तनाव चर्किरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोनमा कुराकानी भएलगत्तै दुवै पक्ष छलफलमा जुटेका हुन् । छलफल रचनात्मक भएको र आपसी समझदारी बढाउन भूमिका खेल्ने ग्लोबल टाइम्सले जनाएको छ ।

ग्लोबल टाइम्सका अनुसार भेटवार्तापछि रणनीतिक छलफल बढाउन, मतभेद हटाउन, टकराव तथा द्वन्द्व रोक्न, आपसी लाभमाथि जोड दिन र द्विपक्षीय सम्बन्धलाई पुन: सही मार्गमा ल्याउन दुवै पक्ष सहमत भएका छन् ।

अमेरिका-चीन सम्बन्धलाई नजिकबाट हेरिरहेका एक विज्ञले समेत जिइची र सुलिभानबीचको भेटवार्ताले द्विपक्षीय सम्बन्ध मेलमिलाप तथा तनाव न्यूनीकरणको अध्यायमा प्रवेश गरेको संकेत गर्ने बताएका छन् । लि योङहुईले ‘अमेरिका र चीन आसपमा कुराकानी गर्न तथा मुद्दा समाधान गर्न तयार’ रहेको सन्देश दिएको बताए । लि बेइजिङ फरेन स्टजिड युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिका प्राध्यापक हुन् ।

‘अमेरिकी पक्षले चीनविरुद्धको व्यापार युद्धसहितका यसअघिका आफ्ना नीतिबाट अपेक्षा गरिएअनुसार कुनै परिणाम निकाल्न नसकेको निष्कर्षमा पुगेको छ,’ लिले भने, ‘दुवै मुलुकले आपसी हित हुने गरी सहकार्य गर्नुपर्नेमा चिनियाँ पक्षले बारम्बार जोड दिँदै आएको छ ।’

‘सेप्टेम्बरमा अमेरिकी राष्ट्रपतिले राष्ट्रसंघीय महासभामा बोल्दै आफ्नो मुलुकले नयाँ शीतयुद्ध नचाहेको बताएका थिए,’ लिले थपे, ‘यसलाई कुटनीतिक इशाराको रूपमा मात्रै पनि बुझ्न सकिन्छ र बाइडनले महत्वपूर्ण मुद्दासम्बन्धी आफ्नो आधारभूत अडानमा कुनै परिवर्तन गर्ने छैनन् तर उनको अभिव्यक्तिले एउटा सहज वातावरण निर्माण गर्नेछ ।’

अमेरिका र चीन प्रमुख अन्तर्राष्ट्रिय शक्ति भएकाले उनीहरुको सम्बन्ध विश्व शान्ति तथा विकाससँग जोडिएको हुनाले तनाव कम गर्नुपर्ने पनि लिको भनाइ थियो । ‘दुवै मुलुकले मतभेदलाई संकट निम्त्याउने गरी नियन्त्रण बाहिर जानबाट रोक्नुपर्छ,’ उनले भने, ‘मेरो विचारमा यो महत्वपूर्ण मुद्दालाई भेटवार्ताले सम्बोधन गरेको छ ।’

तर तनाव कम गर्ने कार्यले चीनलाई रणनीतिक प्रतिस्पर्धी ठान्ने अमेरिकी दृष्टिकोणमा खासै परिवर्तन नआउने समेत लिले प्रस्ट पारे ।

डोनाल्ड ट्रम्पको पालामा निकै बिग्रिन पुगेको सम्बन्ध सुधार गर्न राष्ट्रपति बाइडन समेत इच्छुक देखिन्छन् । यसै वर्षको अन्त्यतिर सी र बाइडेनबीच भर्चुअल बैठक हुने ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?