+
+

ईपीएलको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते ७:४६

२३ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन् ।

दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ ।

दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका छन् ।

चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै पारजित गरेर फाइनल पुगेको हो । पोखराले भने अर्को अवसरमा भैरहवा ग्लाडिएटर्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै चितवनसँग भेट पक्का गरेको हो ।

यी दुई टोली यही संस्करणमा दुई पटक भेट हुँदै दुवै पटक चितवन विजयी भएको थियो ।

जितवन लिग चरणमा पाँचमध्ये चार खेल जित्दै ८ अंक जोडेर पहिलो भएको थियो भने पोखरा तीन जित र १ बराबरीबाट ७ अंक जोड्दै दोस्रो भएको थियो । लिगमा पोखरा चितवनसँग मात्र पराजित भएको थियो ।

यसअघि चितवन र पोखराबीच दुई खेल हुँदा दुवै खेलमा चितवनले सहज जित हात पारेको थियो । लिग चरणमा मोहम्मद शाहाजाद र भीम शार्कीले अर्धशतक बनाएपछि चितवनले पोखराले दिएको १२४ रनको लक्ष्य १६.४ ओभरमा एक विकेट मात्र गुमाएर पूरा गरेको थियो ।

यस्तै पहिलो क्वालिफायरमा चितवनले पोखरालाई ६६ रनमा अलआउट गर्दै ९ विकेटको जित हात पारेको थियो । चितवनमा अफगानिस्तानका मोहम्मद शाहाजाद र करिम जन्नतले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

यस्तै श्रीलंकन सेकुगे प्रसन्न र मलेसायका भिरनदिप सिंह पनि विदेशी खेलाडीको रुपमा छन् । शाहजाद सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन् । उनले ६ खेलमा १ अर्धशतकसहित १९६ रन बनाएका छन् ।

सोमपाल कामीसहित नेपाली युवा खेलाडीहरु भिम शार्की, सिंह ऐरी, सागर ढकाल, शाहब आलम, राजेश पुलामी मगरलगायतले चितवनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । चितवनका सागर ढकाल १३ विकेटसहित सर्वाधिक विकेट लिनेमा अघि छन् । चितवनकै करिम ९ विकेटसहित दोस्रो स्थानमा छन् । शाहब र कमलले समान ८ विकेट लिएका छन् ।

पोखरामा रहेका श्रीलंकन साहान अराचचिगे र असेला गुनारत्नेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यस्तै अन्य विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका रिचर्ड लेभी र वेष्ट इन्डिजका केज्रिक विलियम्स छन् । लेभी १५५ रन बनाउँदै सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा छन् । पोखराका लागि युवा अलराउण्डर विवेक यादवले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ११२ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।

फाइनलअघि शुक्रबार टीयू मैदानमा भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले फाइनलका लागि तयार भएको बताएका थिए ।

चितवन सोमपाल कामीको कप्तानीमा र पोखरा विनोद भण्डारीको कप्तानीमा खेल्दैछ ।

चितवनका कप्तान सोमपाल कामी र पोखराका कप्तान विनोद भण्डारीले फाइनल भनेर धेरै सोच्ने भन्दा पनि एउटा गेम सोचेर खेल्ने बताए ।

यस पटक ईपीएलमा पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदी जस्ता नाम चलेका स्टार खेलाडीहरु आएका थिए । अफ्रिदीसहित करिब दुई दर्जन खेलाडीले टीयू मैदानमा ईपीएल खेले ।

विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीले पनि धेरै कुराहरु सिक्ने अवसर पाएको सोमपाल र विनोदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?