+
+

चीन : पतनउन्मुख कि चौथो औद्योगिक क्रान्तितर्फ लम्कँदै ?

सुनिल बराल सुनिल बराल
२०७८ असोज २३ गते १७:०२

२३ असोज, काठमाडौं । केही दिनअघि फरेन अफेयर्समा ‘चिनियाँ उदयको अन्त्य‘ भन्ने एक लेख प्रकाशित भयो । टुफ्ट विश्वविद्यालयका प्राध्यापक माइकल बेक्ली र जोन हप्किङ्नस विश्वविद्यालयका हल ब्रान्ड्सद्वारा लिखित उक्त लेख प्रकाशित भएपछि विश्वभर एकखाले बौद्धिक बहस र तरङ्ग उत्पन्न भएको छ ।

बेक्ली र ब्रान्ड्सले आफ्नो लेखमा चिनियाँ उदय उत्कर्षमा पुगेको तर्क गरेका छन् । ‘चीनले प्राय: पतनमा टुंगिने एउटा आर्क (वृत्तांश) लाई पछ्याइरहेको छ अर्थात् आश्चर्यपूर्ण उदयपछि हुने कष्टकर पतनको बाटोतर्फ लम्किरहेको छ’, लेखकद्वयले आफ्नो लेखमा भनेका छन् ।

अर्थतन्त्रलाई बाँकी विश्वसँग खुला राख्ने देङ सिआयो पिङको नीतिका कारण चीनले छोटो समयमै चमत्कार गरेको छ । अमेरिकासँग द्विपक्षीय सम्बन्ध सुधार गर्दै चीनले पुँजीवादलाई आफ्नै परिवेश अनुसार उपयोग गर्दै उन्नतितर्फ लम्बने बाटो रोज्यो । आर्थिक चमत्कारको चरणमा चीनसँग धेरै अनुकूल अवस्था थिए । यसतर्फ संकेत गर्दै बेक्ली र ब्रान्ड्स आफ्नो आलेखमा लेख्छन्-

चिनियाँ सरकार सुधारप्रति प्रतिबबद्ध भएका कारण उसले यस्तो गर्न सकेको हो। सन् १९७६ मा माओत्सेतुङको निधनपछि चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना नेतामाथि कार्यकालसम्बन्धी समयसीमा सहित अन्य नियम लागू गरेको थियो। विषयगत दक्षता (टेक्नोक्रेटिक कम्पिटेन्स) र प्रभावकारी आर्थिक उपलब्धिलाई पुरस्कृत गर्न थालियो। ग्रामीण समुदायलाई हल्का नियमन गरिने गरी उद्यम (इन्टरप्राइज) खोल्ने अनुमति दिइयो। विशेष आर्थिक क्षेत्र देशभर विस्तार गरियो र विदेशी लगानीकर्ताले स्वतन्त्र भएर व्यवसाय सञ्चालन गर्न पाए।

आर्थिक चमत्कारको चरणमा चीनसँग आवश्यक कच्चा पदार्थ, सस्तो श्रम र जनसांख्यिकीय लाभांश भएकाले आर्थिकवृद्धि दर उच्च हुन पुगेको पनि उनीहरूको तर्क छ । तर पछिल्ला केही वर्षयता चीनमा अवस्था ठीक उल्टो रहेको भन्दै बेक्ली र ब्रान्ड्स लेख्छन्:

चीनमा स्रोतसाधनको अभाव देखिन थालेको छ। आधा नदीनालाहरू सुकिरहेका छन् भने ६० प्रतिशत भूमिगत पानी प्रदूषणका कारणमानवका लागि अयोग्यबनेको छ । तीव्र विकासले चीनलाई विश्वकै ठूलो इन्धन आयातकर्ता बनाएको छ। खाद्य सुरक्षा खराब बन्दै छ। अत्यधिक प्रयोगले ४० प्रतिशत कृषियोग्य भूमि काम नलाग्ने भएको छ र चीन विश्वमै कृषिजन्य उपजको सबैभन्दा ठूलो निर्यातकर्ता बनेको छ। स्रोत साधनको अभावले गर्दा आर्थिक वृद्धि निकै खर्चिलो बनिरहेको छ। यो शताब्दीका शुरुआती वर्षमा झैं वृद्धि हासिल गर्न चीनले तीन गुणा पुँजी लगानी गर्नुपर्ने अवस्था छ जुन कुनै पनि अर्थतन्त्र परिपक्व हुँदै गएपछि अपेक्षा गरिने मात्राभन्दा निकै धेरै हो।

लेखकद्वयका अनुसार चार दशकदेखि लगातार आर्थिक प्रगति गर्दै आएको चीनको पतन सन्निकट छ । सुस्त आर्थिक वृद्धिदर र अमेरिकासहितका मुलुकको रणनीतिक घेराबन्दीका कारण निकट भविष्यमै ‘चिनियाँ उदयमा पूर्णविराम’ लाख्ने उनीहरूको निष्कर्ष रहेको छ । बेक्ली र ब्रान्ड्सले अनुत्पादक क्षेत्रमा पुँजी लगानी, श्रमयोग्य जनशक्तिमा देखिएको गिरावत लगायतलाई समेत नजिकिँदो पतनको कारण भनेका छन् ।

तर बेक्ली र ब्रान्ड्सको तर्क तथा निष्कर्षप्रति कतिपयले तीव्र असहमित जनाएका छन् । यसरी असहमति जनाउनेमा अमेरिकी अर्थशास्त्री तथा लेखक डेभिड पि. गोल्डम्यान पनि एक हुन् ।

गोल्डम्यानले एसिया टाइम्समा शुक्रबार एक लेख प्रकाशित गर्दै बेक्ली र ब्रान्ड्सप्रति असहमति जनाएका छन् । उनले ‘चिनियाँ पतनबारे भएका बौद्धिक भविष्यवाणी आत्मसान्त्वना दिने अल्छी सम्भ्रान्तको भ्रम’ भन्दै बेक्ली र ब्रान्ड्सको तिखो आलोचना गरेका छन् । ‘चीन चौथो औद्योगिक क्रान्तितर्फ लम्किँदै’ शीर्षकको आफ्नो लेखमा गोल्डम्यानले आर्थिक समस्या देखिए पनि अत्यधिक सरप्लस र उच्च बचत दर भएको चीनमा संकट नआउने तर्क गर्दै भन्छन्-

चाहिनेभन्दा बढी ढाडस दिइएको रियल स्टेट क्षेत्रमा निकै खराब वित्तीय समस्या देखिएको छ तर अत्यधिक सरप्लस र उच्च बचत दर भएका मुलुकमा संकट आउँदैन । यस्ता मुलुक पुनर्संगठिन हुन्छन् । हो, चीनमा जनसांख्यिकीय समस्या छ तर जापान, दक्षिण कोरिया वा ताइवानमा जस्तो गम्भीर छैन, अमेरिकाभन्दा केही गम्भीर भने छ ।

अबको चिनियाँ पुस्ताले एभरग्रान्डेको जारी संकट, यस वर्षको ऊर्जा अभाव वा चौथो औद्योगिक क्रान्तिअगाडि देखिएका झिनामसिना व्यवधान भुल्ने छन् । यसको साटो उनीहरूले स्वचालित वेयरहाउस, फाइभजीमा स्मार्ट पोर्ट, रिमोट कन्ट्रोलबाट चल्ने खानी, रोबोटबाट चल्ने फ्याक्ट्री र चालकविहीन ट्याक्सीबारे कुरा गर्ने गोल्डम्यानको प्रक्षेपण छ । यसबारे उनी लेख्छन्-

दोस्रो औद्योगिक क्रान्तिले अमेरिका र जर्मनीमा जसरी आर्थिक जीवन रुपान्तर भएको थियो त्यसरी नै उत्पादन, स्वास्थ्य लगायतका क्षेत्रमा बिग डाटा र एआईको प्रयोगले (चिनियाँको) आर्थिक जीवनमा आमूल परिवर्तन हुनेछ ।

‘चीनले निर्वाहमुखी कृषिमा संलग्न किसानलाई औद्योगिक श्रमितमा परिणत गरेर ४० वर्षको अवधिमा ६० करोड मानिसलाई ग्रामीण क्षेत्रबाट सहरमा ल्याएको र यस क्रममा प्रतिव्यक्ति आय १० गुणाले बढेको’ यथार्थलाई समेत गोल्डम्यानले उल्लेख गरेका छन् । चीनले अमेरिकाभन्दा निकै चाँडो प्रति व्यक्ति आय बढाउन सफल भएको भन्दै उनी लेख्छन्-

अमेरिकालाई आफ्नो प्रतिव्यक्ति आय १० गुणा वृद्धि गर्न १२५ वर्ष (१८७०-१९९५) लागेको थियो । तर चीनले भने २८ वर्षमा यो काम गर्‍यो । बेक्ली र ब्रान्डले भनेझैं चीनले वृद्धिको यो स्रोतबाट फाइदा लिएको सत्य हो । धेरै कुरामा चिनियाँ नेतृत्व खराब छ । तर एउटा महत्वपूर्ण कुरामा भने चिनियाँ नेतृत्व निकै सही देखिन्छ र त्यो भनेको भावी उत्पादकत्वसम्बन्धी योजना बनाउने क्षमता हो ।

गोल्डम्यानले देङ सिआयोपिङ र सी जिङफिङको समेत खुलेर प्रशंसा गरेका छन् । उनी लेख्छन्-

देङ सिआयोपिङले चिनियाँ किसानलाई औद्योगिक श्रमिकमा बदले र सी जिङफिङले तिनै श्रमितका छोराछोरीलाई इन्जिनियर बनाइरहेका छन् । देङले १९८९ मा आर्थिक सुधारको थालनी गर्दा विश्वविद्यालय शिक्षा हासिल गर्ने २०-३० वर्षका (हाल ५०-६० वर्ष पुगेका) मानिसको संख्या २ प्रतिशत मात्रै थियो तर उक्त संख्या बढेर २७ प्रतिशत पुगेको छ । र २०-३० वर्षको उमेरमा उच्च शिक्षा हासिल गर्ने चिनियाँको संख्या बढिरहेको छ ।

चिनियाँ जीवन स्तर पश्चिमीहरूको जीवन स्तरै जस्तै बन्न लागेको पनि गोल्डम्यानको विश्लेषण छ ।

‘चौथो औद्योगिक क्रान्तिको नेतृत्व गर्ने आफ्नो अभियानमा चीन गम्भीर, दत्तचित्त र अनुशासित देखिन्छ’, गोल्डम्यानले आफ्नो लेखको अन्त्यमा भनेका छन्, ‘अमेरिकाले यो अवधारणाबारे कुरा मात्रै गर्छ, समस्याप्रति ध्यान दिएको छैन ।’

चिनियाँ शान पतनतर्फ कि नयाँ छलाङ् मार्दै भन्ने बहसबीच राष्ट्रपति सीको कार्यशैली प्रति शंका तथा आलोचना व्यक्त गर्ने पनि उत्तिकै छन् । विशेषगरी उदारवादी धारबाट सीको विरोध हुने गरेको छ । उनले देङको आर्थिक नीतिविपरीत पूर्णत: राज्यनियन्त्रित मौलिक अर्थतन्त्रको परिकल्पना गरेको कतिपयको तर्क छ ।

द इकोनोमिस्टले समेत ‘चिनियाँ राष्ट्रपति पुँजीवादउन्मुख आर्थिक प्रकृयालाई रोक्न उद्दत रहेको’ आशयसहितको एक लेख प्रकाशित गरेको थियो । अर्बपतिलाई मार्क्सवादको उपहास ठान्ने सीले अलिबाबा जस्ता ठूला प्रविधि कम्पनीमाथि निगरानी बढाइरहेका छन् । बहसमाथि अंकुश लगाउने र फरकमत नरुचाउने सीको अधिनायकवादी शैलीले अन्तर्राष्ट्रिय जगतमा चीनको छवि बिगार्ने विश्लेषक बताउँछन् ।

चिनियाँ समाज बेक्ली र ब्रान्ड्सले भने झैं अप्रत्यासित पतन देखिएला कि गोल्डम्यानले भनेझैं चीनले चौथो ‍औद्योगिक क्रान्तितर्फ छलाङ मार्ला ? वा अर्को कुनै मार्गतर्फ अग्रसर होला ? भविष्यले नै देखाउँला । तर एउटा कुरा निश्चित छ- हालको सकस र चुनौतीपूर्ण परिस्थितिमा चीन लामो समय रहन सक्दैन । पछिल्ला बहस र घटनाक्रमले समेत यही संकेत गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment