Comments Add Comment
पुस्तक समीक्षा :

अजस्र भावनाको धार :  अपरिचित अनुहार

कथा पढ्नुका आ-आफ्ना इरादा हुँदा हुन् । कथापठनको आ-आफ्नै विविधता पनि हुँदो हो । आ-आफ्ना ढाँचा, समय, उमेर र प्रयोजन अनि फ्रेमअनुसार ।

कोरा मनोरञ्जनका लागि पनि कथा उत्तिकै पढिन्छन् । कथा आजकै समयको उपज हो भन्नेहरू पनि छन् । साहित्यको ठेलमठेल बजारमा कथासाहित्य कताकता लुकिछिपी पनि पाठक माझ पुगिहाल्छ ।

वास्तवमा प्रस्ट परिचित अनुहार भएको विधा हो कथा तर कथा अपरिचित व्यक्तिहरूको पनि लेखिन्छ । अनुहारविहीन, सीमान्तकृत जीवन बाँचेकाहरूको पनि लेखिन्छ । संसारमा त्यस्तो विषय बनेकै छैन जसलाई कथाले नछोएको होस् । यस्तै सर्वस्वीकृत विधामा अनुबन्धित भएर विलुप्‍त चेहेराको घुम्टो खोल्न बजारमा आएको छ महेश पौड्यालको कथासङ्ग्रह, अपरिचित अनुहार ।

यो कथाकार पौड्यालको तेस्रो कथात्मक कृति हो । समाजका लागि बालसुलभ भावनाको मसीले लेखिएको कथा हो यो ।

कथाकार समाज रूपान्तरणको सारथी बन्दै वैदेशिक रोजगार, शरणार्थी, अपाङ्गता, सहरकेन्द्री आकर्षण, परिवार गुमाउँदाका पीडा, पर्यावरण विनाशलगायत विविध समकालीन मुद्दालाई यस सँगालोमा बुनिएको छ ।

०००

समाजरूपी रङ्गमञ्चको पर्दाभित्र छिपेर रहेका विल्कुल छायामा परेका पात्रको मनोदशाबाट यस कथाको शुभारम्भ हुन्छ । घातक पोलियो रोगका कारण घररूपी झ्यालखानामा कुजिएकी किशोरी पात्र अप्सराको विवाह हुन्छ । श्रीमान्‌ले उनलाई अद्‌भूत प्रेम गर्छन् । उनी चाँडै नै आमा बन्दैगरेको खुसखबरले उनका बाबा(आमाको जीवनमा हर्षको गुराँस फुलाइदिन्छ । अप्सराको हिलाम्य जीवनमा सुन्दर कमल फूल मुस्कुराएसँगै आरम्भ हुन्छ कथासँगालो ‘अपरिचित अनुहार’ ।

हामी संसारलाई हाम्रो आँखाको सीमितताबाट मात्र हेर्छौं । हामीले देखेको अर्धसत्य नै हामी पूर्णसत्य र दृष्‍टिविहीनहरूलाई हामीले हाम्रो अनुसार परिभाषित गर्न खोज्छौं । बाहिरी आँखामा उज्यालो नभएकी पात्र मृगनयनीलाई हामी अन्धी, दृष्‍टिविहीन भनिरहन्छौं । जुनदिन अन्तर्दृष्‍टि भएकी मृगनयनी संसारलाई उज्यालो पार्ने गरी प्रकटित हुन्छे र हामी सभ्य भनिएका मनुष्य पश्‍चात्तापमा पर्छौं । चर्मचक्षुले मात्र दृष्‍टियुक्त भइँदैन । हाम्रो धारणा नै सर्वधारणा हो भन्ने भ्रममा हामी बाँचेका छौं । जब पात्र मृगनयनीबाट पात्र प्राञ्जल दीक्षित बन्छ उसलाई एक पल पनि सभ्य मान्छे बन्न नसकेकोमा आत्मग्लानि हुन्छ । यस्तै भ्रमपूर्ण जीवन बाँच्न अभिसप्‍तहरूको आँखा उघारिदिने कथाबाट बिस्तारित हुन्छ अपरिचित अनुहार ।

हामीले बाहिरी रूपलाई सार्विक सत्य ठान्छौं । सतहलाई पूर्ण घनत्व ठान्छौं । रङका आधारमा, आवरणका आधारमा बाहिरी बोक्राका आधारमा हामीले एकल गहिराइको धारणा बनाउँछौ । दुर्घटनामा अनुहार डडेर कुरूप बनेको पात्र एक्लेहरूको अनुहारलाई हामी अन्तिम सत्य ठान्छौं । त्यस्ता व्यक्तिहरूको अन्तस्चेतनालाई कहिल्यै हेर्ने प्रयास गर्दैनौं झन् अपमान गरिरहन्छौं । मान्छे जे कुरामा रमाउँछ त्यसैमा छोडिदिनुपर्छ । कसैलाई गोली मन पर्दैन । शान्तिपूर्ण समाजमा अभ्यस्त भइयो भने मात्र शान्ति चाहिने हो मान्छेलाई । लडाइँमा बानी परेकाले बमगोला र बारुदको दुन्दुभिमा पनि निदाउन सक्छन् ।

कसैलाई गोलीदेखि डर लाग्छ तर लडाइँमा घाइते भएर आफूले जित्न नपाएको अभिमन्युजस्ता घाइते सिपाहीलाई लडाइँ मनपर्छ । यो यस्तै वागीमनोभावनालाई पर्गेल्ने कथा हो । समाजले त्याग्ने, आफन्तले छोड्ने र अन्ततः आफ्नी श्रीमती आफ्ना फूलजस्ता छोराछोरीसहित परिवारले छोडेपछि एक्लिएको पात्र एक्ले र विचलित पात्र अभिमन्युको आँसुको कथा हो ‘अपरिचित अनुहार’ ।

डा. अशोक थापा

हामी टुक्रँदै छौं । हामी आफैं भत्किंदैछौ र सामाजिक संरचनालाई झन् जर्जर बनाउँदै छौं । हामीलाई जोडिदिन एउटा अबोध बालक काफी छ । उसको निष्कलङ्क भावनाको तारले हामीलाई जोडिदिन सक्छ । मान्छे मान्छेकै बीच विभेदका ग्रेटवाल बनाएर किन सामाजिक प्राणीको ढोङ् गर्छौं हामी रु हामी किन विभक्त हुँदा खुसी हुन्छौं रु हामी किन चुडिँदै छौ मानवीय सम्बन्ध र सद्‌भावको डोरीबाट रु यसको जवाफ चेतनाको तहमा हामीसँग छैन । यस्तै सहभाव र एकत्वको सबक सिकाउने बालपात्र कुडुको कथा हो अपरिचित अनुहार ।

हामी समूहमा बस्छौं । समूहमा आफ्ना दैनिकी बिताउँछौ र समूहको कथा लेख्ने एकान्त खोज्छौं । हामी भिडहरूकै उपज हौं । समूह र कोलाहालबाट नै साहित्यसिर्जना हुनसक्छ । आम मान्छेको कथा लेख्न आइसोलेसनमा बस्ने मान्छेहरूलाई खासमा भिडको कथा, सामूहिक भावको कथा खासमा मान्छेको कथा भिडबाट जन्मन्छ भन्ने खाटी कुरा सिकाउने कथा हो अपरिचित अनुहार ।

गाउँबाट सहर छिर्दा राम्रो हुन्छ । सहर राम्रो ठाउँ हो । भौतिक सुखसुविधा धेरै कुरा हो जो सहरले दिन्छ भनी छलफल गर्ने खेम सर र रुद्र सरको कथा हो । भौतिक सुविधा ठूलो हो कि मिजास ठूलो हो भन्ने सुशिल र सङ्ग्रामजस्ता छिमेकीको कथा हो । धान नाँच्दै गाउँतिर उकालो लाग्नेहरूको कथा हो यो । यस कथासँगालोमा नागरजीवनको उछितो काडिएको छ । जसरी पनि घडेरी जोड्ने र सहरमा बस्ने अनि मर्दा मलामी पनि नपाउन अभिशप्त व्यक्तिहरूको कथा हो अपरिचित अनुहार ।

आपत्तिको बेला भौतिक सुविधा गौण कुरा हो । विपत्तिमा परेका बेला सबैभन्दा ठूलो कुरा ज्यान हो । अरू भौतिक सम्पत्ति क्षणिक हुन् । मान्छे अमर र चीरस्थायी छैन । खास हामी पृथ्वीका क्षणिक पाहुना हौं । कथामा केदारनाथको बाढीमा बगेका साधुको आध्यत्मिक चेत र सँगै हुत्तिएको भौतिक सत्यलाई सर्वसत्य ठान्ने मान्छेको द्विध्रुवीय चिन्तनको  शास्‍त्रीय मूलपाठ पढाउने कथा हो अपरचित अनुहार ।

फरक क्षमता भएका व्यक्तिहरूको वास्तविक प्रतिभालाई चुस्त राखियोस्, उनीहरूको लुकेको प्रतिभा बाहिर प्रकट होऊन् । हामी माझ अशक्तप्रतिको दृष्‍टिकोण नकारात्मक बन्नुको दुर्भाग्य र यसलाई सकारात्मक लयमा बदल्न ढिलो भैसक्यो भन्ने हुटहुटी, सामाजिक विभेदले अपरिचत बनेका अनुहारहरू पनि देशविकासको मूल धारमा जोडिएर समाजनिर्माणको सत्कर्ममा सशक्त भूमिका निर्वाह गर्न सकून् भन्ने चाहना राखेको कथासँगालो हो यो ।

कथाकी पात्र मृगनयनीमा कथाकारले प्रतिस्थापन गर्न चाहेका छन् हेलेन केलरको रूप । अर्की पात्रमा अप्सरामा स्टीफन हकिङ्सको सपना देखेका छन् उनले र हामीले हेलाहोचो गरेका व्यक्तिहरूले संसारमा मानवहितका लागि विशाल र महान् कार्य गरेर विजय झन्डा फहराउन सक्छन् भने हामी किन सक्दैनौ रु यस्तै पुनर्बलको संयन्त्रबाट सिर्जित कथा हो, अपरिचित अनुहार ।

कथालेखन संयन्त्रलाई चतुर रूपमा प्रस्तुत गर्ने कथाकार पौड्यालले आफ्नो अन्तर्यको भावनालाई पात्रको मनोवृत्तिसँग घोलेर कथा सिर्जेका छन् । अपरिचित अनुहारका पात्रसँग कथाकारको कोमल अनुरागको समीपतालाई जोडेका छन् । उपहार कथाको कुडुको अबोधपन, बालशुलभता, निश्‍चलता, कोमलतामा कथाकारको उद्वेलित संवेग छाल बनेर एन्टीकरेन्टमा बगेको देखिन्छ ।

यहाँनेर कथाकारले पाठकलाई झुक्याइदिन्छन् यो पात्रको मनोदशा हो वा उनको मनोलोकभित्रको वेदनाको उजारीकरण रु सामान्य पाठकले यसको भेउ नपाउन पनि सक्छन् कि लेखकको संवेग कथाको चरित्रसँग बेरिएर कथामा कसरी प्रकटित भएको छ वा लेखकको स्वानुभूति कसरी पात्रमा अनुदित भएको छ भनेर । यहाँनेर कथाकारले कि त आफ्नो भावनासँग पात्रका भावनाको संयोजन गरिदिन्छन् या चलाखीपूर्ण तरिकाले झ्वाट्ट पूर्वसन्दर्भलाई जोडिदिन्छन् ।

०००

के भन्न मुश्किल पर्छ भने कथाकारले आफ्नो आशक्तिको सहायताले निष्प्राण पात्रमा जीवन्त संवेगको प्राण कसरी भरेका छन् । यो प्रविधिचतुर आख्यानकारले मात्र प्रयोग गर्नसक्छ जसले कथाको बुनोटलाई सपाट रूपमा बुझेको छ ।

पात्रको भावना र बाहिरी सत्यको निकटता र दूरता पर्गेल्न सक्नु यस कथाको अर्को सबल पक्ष हो । मान्छेको पीडालाई जवर्जस्त कथामा टाँस्दैमा कथा रसिलो बन्दैन भन्ने कुरा कथाकारले राम्रोसँग बुझेका छन् त्यसैले उनले के गरिदिन्छन् भने कथाकार आफ्नो निजी भावनालाई मनबाहिर र आफ्नो निजी संवेगलाई सार्वजनिन संवेगमा परिणत गरिदिन्छन् यो सजग पाठकले भेउ पाउने कुरा हो जुन कुरा कथाकारले एउटा संयन्त्र बनाएरै कथामा प्रयोग गरेका छन् ।

दुःख सार्विक चीज हो तर आख्यानकारले दुःखको दायरालाई पनि घटना र पात्रसँग टाँसेर स्वअपनत्वको ग्यारेन्टी गरेर सार्वजनिक गरिदिएका छन् कथामा । कथाकार यस्तो चतुर्‍याइपूर्ण आख्यानीकरण गरिदिन्छन् कि साझा भावना भएका समाजका अन्य मानिसहरू कथाकार हाम्रै लागि द्रवित भइरहेको छन् भन्ने अड्कल गर्छन् । भ्रममा पर्छन् । आँसुको सीमारेखामा बाँधिएर कथाकार(पाठक र पात्र बाँचेको भूगोलमा एउटै बनाउन खोज्छन् । यो कुराको पुष्‍टि गर्न सक्नु यस सँगालोको सफलता हो ।

उनले घटना र विवरणले पाठकको एक भावनामा एक झोक्का प्रहार गरिदिन्छन् जसरी रात कि रानी फूलको बास्ना फैलाइदिन्छ रातको महकिलो हावाले । अन्तस्चेतानको भावनालाई सशक्त रूपमा बाहिर उभ्याउन सफल यस कथा सँगालोले परिचयको मञ्चमा नउभिएका समाजका थुप्रै पात्रहरूलाई उजिल्याइदिन्छ ।

भलै लोकप्रिय भए पनि गल्ती, कमिकमजोरी र सीमिततासहितको साहित्यको उपविधा हो कथा । कथाकार पौड्यालले पनि यस कथामा केही कमीकमजोरी गरेका छन् । उनका कथाहरू स्वतन्त्र छन् । सामाजिक संस्थाहरूसँग, सर्वजनिक महत्त्वका अभियानसँग, राजनीतिक आन्दोलनसँग उनका कथाको कुनै सम्बन्ध छैन ।

उनका कथाका कमीकमजोरी पत्तालगाउन विशेष प्रहरीले झैं प्रमाण(दसी(सबुत(साक्षी खोज्नु पर्ने हुन्छ । सामान्य भाषिक त्रुटि ठाउँठाउँमा रहनुलाई अस्वाभाविक ठानिँदैन । समग्रमा उनले द्रवित भावना र पिस्सिएको आँसुको व्यापार गरिदिन्छन् “खुसीका कहानी पढ्ने लत बसेका पाठकलाई यो मन नपर्न सक्छ ।”

प्रस्तुत सङ्कलनको सबैभन्दा कमजोर कथा ‘डबल पेन्सन’ हो र यसमा प्रशस्त प्राविधिक कमजोरी देखिन पुगेका छन् । कथाकारले संशोधन गर्नु पर्ने धेरै घटनाहरू देखिएका छन् । यो कथा आरम्भ हुँदा पात्र रुद्रको छोरो रमेश कथा सकिने बेलामा श्याममा रूपान्तरण भएको हाँस्यस्पद घटनाले सम्पादनमा ज्यादै हेलचक्र्याइँ भएको बुझ्न असजिलो छैन । यो तहसम्मको हेलचक्र्याइँ एउटा स्थापित कथाकारका लागि राम्रो मान्न सकिँदैन ।

एउटै विद्यालयमा तीसौं वर्षदेखि सँगै काम गर्ने रुद्र र खेमका बीच लामो समय भेटघाट र वार्तालाप नहुने कारण के हो रु कथाकारले प्रष्‍ट्याउन सकेका छैनन् । उनीहरू कुनै कारण नगफिएका हुन् भने पनि कथाको घटनावर्णनले पुष्‍टि गर्नुपर्छ होला त्यो पनि प्रस्ट देखिँदैन । यसै कथामा नारायणपुर ९ग्रामीण स्थान० र तुलसीपुर दुई स्थानको हावापानी र रहससहन फरक रहेकाले यी दुई स्थानको दुरीका विषयमा थप प्रस्ट नपार्द पाठकमा अलमल सिर्जना भएको छ ।

कथामा कतैकतै दुवै स्थानलाई तुलसीपुर सम्बोधन गरिँदा यसको दुरी टढा नरहेको बुझिन्छ तर यी दुई स्थानको हावापानी र सामाजिक दैनिकी फरक छ ।

यसै कथामा बैंकमा जागिर खाने रुद्रको छोरो ९रमेश वा श्याम रु० ले आपत परेको बेला ऋण नपाउने हास्यस्पद कुरा कथामा उल्लेख गरिएको छ । बैंकमा काम गर्ने व्यक्ति गाउँमा कुन मुखले पैसा खोज्न गएको हो रु यो प्रश्‍न कुनै तहका पाठकले पनि हजम गर्ने खालको छैन । यसलाई कथाकार दोस्रो संस्करणमा संशोधन गर्दा कथाकारकै हित हुन्छ ।

जागिर नछोड्दै वा अवकाश नलिंदै रुद्र सर नयाँ घरमा सरिसकेपछि खेमसँग भेट नहुने कारण ९विदा रुवा बिरामी रु० के हो रु यसको उत्तर पाठकले कतै पनि पाउँदैनन् । खेम सर र रुद्र सर निमावि शिक्षक ६० वर्षलाई बिर्सेर ६३ वर्षमा अवकाश हुने वहस गर्छन् “डबल पेन्सन” यो हाम्रो शिक्षानीतिभन्दा बर्खिलापको कुरा हो यसमा कथाकार सचेत हुन सकेका छैनन् ।

कथामा देखिएको त्रुटिकै सन्दर्भमा मन्दिर कथामा अस्पताल पुगेर डाक्टर जोशीलाई भेटेर सरक्क घर पर्काइएकी मन्त्रीकी आमा ९बसुन्धरा० लाई अस्पतालमा भेट्न जानेको लर्को भनेर उल्लेख गरिएको घटना कथामा पुस्टि भएको छैन । कथाको भाव सुन्दर हुँदाहुँदै पनि घटनाको पूर्वापर सम्बन्धमा कथाकार गम्भीर नहुँदा लेखकीय दुर्घटना निम्तन पुगेको छ ।

कथा अति सरल बनाउँदा आख्यानले अपेक्षा गरेको लाक्षणिक र आलाङ्कारिक भाषाको मिठास ठाउँठाउँ खड्किन्छ । कतैकतै पात्रलाई करुणाको भासमा पुर्‍याएर त्यसको सहानुभूति लेखकले ग्रहण गर्ने रणोनीति अपनाएका छन् जुन सबै ठाउँमा उपयुक्त नलाग्न सक्छ ।

समुद्रमा उभिएको हिमशिलाको टुप्पो जस्तै हुन्छ समाजिक चित्र जो थोरै देखिन्छ र धेरै छोपिन्छ । आइसबर्गको डुबेको भाग अदृश्य भएझैं समाजमा सीमान्तकृत मान्छेहरूलाई कहिल्यै चिन्दैन समाजले । चिने पनि मूल धारमा ल्याउँदैन । ल्याए पनि उनीहरूको स्वरलाई म्युट गरिदिन्छ । यस्तै फेस लेस क्यारेक्टर, दाबाइएका, छायामा पारिएका साह्रै सूक्ष्म रूपमा समाजमा गडेर रहेको विचराहरूलाई कथामा उजिल्याएर कथाकार पौड्यालले निकै जोखिम मोलेका छन् ।

भावुकता हरेक विषयभित्र आटाउन सक्छ । भावुकताकै कारण धर्मलाई अफिम भनिएको हो । समाजमा राष्ट्रिय मुद्दा भावुक बनेर आउँछ । भाषामा संवेग लुकेको हुन्छ । भावनाबाटै विज्ञानको जन्म हुन्छ । प्रविधिमा भावना पलाउँदै गएको सातौं आश्‍चर्य हामीले देखिसक्यौं । इतिहास भावनाको छाप हो ।

भावनाविना साहित्य त बन्दैबन्दैन । भावना अवैज्ञानिक हुँदैन । महेशको अपरिचित अनुहार भावनाको पुञ्ज हो । भावनाको घर हो । अजस्र भावनाको मसीले लेखिएको भावुक कथाहरूको सँगालो हो अपरिचित अनुहार ।

पुस्तक :  अपरिचित अनुहार (कथासंग्रह)

प्रकाशक : शिखा बुक्स

मूल्य : २ सय ७५ रुपैयाँ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment