+
+

कोरोना महामारीपछि विश्वभर मानसिक रोगी बढेको अध्ययनको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १३:४८

२४, असोज । कोरोना महामारीबाट हरेक क्षेत्र प्रभावित बनेको छ । अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार र पर्यटन लगायतका क्षेत्र महामारीबाट नराम्ररी प्रभावित भएका छन् । महामारीका कारण जीवन अस्तव्यस्त भएसँगै डिप्रेसन र मानसिक रोगी समेत बढ्न थालेका छन् ।

हालै गरिएको एक अध्ययनले गत वर्ष विश्वभर दुई सयभन्दा बढी मुलुकका करोडौं मानिस डिप्रेसन, तनाव र मानसिक समस्याको शिकार भएको देखाउँछ । अध्ययनअनुसार कोभिड-१९ का कारण डिप्रेसनको शिकार हुने मानिसको संख्या झण्डै एक तिहाइले बढ्न पुगेको छ ।

लान्सेट मेडिकल जर्नलमा शुक्रबार प्रकाशित अध्ययन भन्छ- महामारी शुरु हुनुपूर्व विश्वभर मानसिक समस्या एउटा प्रमुख स्वास्थ्य चुनौती बनिरहेको थियो । कोभिड-१९ को फैलावट र भाइरस नियन्त्रणका लागि अपनाइएका कडा उपायले यस्तो समस्या थप विकराल बन्न पुगेको छ ।

नयाँ अध्ययनमा संलग्न अनुसन्धानकर्ताले कोभिड महामारीका कारण डिप्रेसनको शिकार हुने मानिसको संख्या २७.६ प्रतिशतले अर्थात् ५ करोड ३२ लाखले बढेको बताउँछन् । त्यस्तै महामारीका क्रममा मानसिक तनावबाट पीडित हुनेको संख्या ७ करोड ६२ लाखले बढेको छ ।

अध्ययनका क्रममा महामारीको असर मापन गर्न कोभिड संक्रमण दर, हिँडडुलमाथि लगाइएका प्रतिबन्ध र दैनिक मृत्यदर विश्लेषण गरिएको थियो । विश्लेषणपछि संक्रमण दर र हिँडडुलमाथिको प्रतिबन्धका कारण डिप्रेसन र मानसिक तनाव बढेको पाइएको छ । साथै, संक्रमणबाट हुने मृत्युको तुलनामा बढ्दो संक्रमण र घट्दो हिँडडुलले मानसिक स्वास्थ्य थप खराब बनेको अध्ययनको निष्कर्ष छ ।

महामारीबाट पुरुषभन्दा महिलाहरुले बढी मानसिक समस्या भोगेको पनि अनुसन्धानकर्ताले बताएका छन् । त्यस्तै, पाका मानिसको तुलनामा युवायुवतीहरु महामारीबाट बढी प्रभावित भएका छन् । साथीभाइसँग भेट्न नपाउँदा, शैक्षिक संस्था बन्द हुँदा र सामाजिक जमघटमाथि लगाइएका अन्य प्रतिबन्धले गर्दा कम उमेरका मानिसमा मानसिक समस्या देखिएको अनुसन्धानकर्ताको ठहर छ ।

‘यसबाहेक पाका मानिसको तुलनामा महामारीका बेला र लगत्तैको आर्थिक संकटपछि युवायुवतीहरु बेरोजगार बन्ने सम्भावना निकै बढी देखिएको छ,’ अनुसन्धानकर्ता भन्छन् । मानसिक समस्याका कारण अन्य रोग तथा आत्महत्याको जोखिम बढ्ने हुँदा हरेक सरकारले आफ्नो मानसिक स्वास्थ्य प्रणाली प्रभावकारी बनाउनुपर्ने पनि अध्ययनमा उल्लेख छ ।

‘सरकारले मानसिक स्वास्थ्यमा कोभिड-१९ को असरबारे सचेतना बढाउने, मानसिक स्वास्थ्यलाई कसरी राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ भनेर बताउने र परीक्षण तथा सेवासम्मको पहुँचका लागि प्रभावकारी उपाय अपनाउन जरुरी छ,’ अध्ययनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?