
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिका सरकार गठनमा जोडिनु लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताएका छन् ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्र बहादुर हमाललाई शुक्रबार मन्त्री नियुक्त गरेकोतर्फ इङ्गित गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले हमालको नियुक्तिलाई लिएर झण्डै तीन महिनापछि पूर्णता पाएको सरकारप्रति उठेका प्रश्नलाई सामान्य रुपमा लिन नहुने बताए ।
गत चुनाव अगाडि आईजीपी प्रकरण र प्रधानन्यायाधीश माथिको महाअभियोगबाट पनि कांग्रेस नेतृत्वले पाठ नसिकेको भन्दै नेता सिंहले भने, ‘न्यायपालिका सरकार गठनमा जोडिनु लोकतन्त्रका लागि गम्भीर चुनौती हो । सरकारले यतिका दिन लगाएर पूर्णता पाएपछि उठेका गम्भीर प्रश्नमाथि ख्याल ख्याल सोच्नु हुँदैन ।’
कांग्रेसका पूर्वमहामन्त्री सिंहले पार्टी भित्रका केही मान्छेहरुका गलत कार्यको सिंगो पार्टीले मूल्य चुकाउनु परेको बताए । पदमा बस्नेले आफूखुसी गरिरहेको र जनतालाई आफूहरुले जवाफ दिनुपरिरहेको भन्दै नेता सिंहले गलत कुराको विरोध गर्दा आफ्नै नेतालाई खुलाउने काम गर्यो भन्ने आरोप लाग्ने गरेको गुनासो गरे ।
पार्टी भित्रको एउटा समूहले सुरुदेखि नै गणेशमान र मंगलादेवी सिंहको नामबाट राजनीति गर्यो भनेर आफूविरुद्ध भ्रम छर्न खोजेको पनि उनले बताए ।
‘बाबु–आमाको नामबाट होइन, सामान्य कार्यकर्ताले जस्तै विद्यार्थी जीवनबाटै राजनीतिक कार्यकर्ता बनेर, दुःखकष्ट र संघर्ष गर्दै, जेलनेल भोगेर अगाडि आएको हुँ,’ नेता सिंहले भने, ‘अरुजस्तो जागिर खाएर, व्यापार व्यवसायमा लागेर रिटार्ड लाइफ बिताउन राजनीतिमा आएको होइन ।’ आगामी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेपछि नियोजित रुपमा आफूविरुद्ध गलत प्रचार गर्न थालिएको उनको भनाइ छ ।
उनले पहिले पार्टीको महाधिवेशन गरेपछि मात्रै आम निर्वाचनमा जानुपर्ने धारणा राखे । लोकतन्त्र बचाउन कांग्रेस बलियो हुनुपर्ने र बलियो कांग्रेसका लागि अहिलेको नेतृत्व परिवर्तन हुनुपर्ने उनले दोहोर्याए ।
‘सत्तामा जाने एक जना, त्यसको लाभ लिने एक थरी अनि त्यसको जवाफ हामीले दिनुपर्ने ?’ उनले भने, ‘बेलैमा महाधिवेशन गरेर इलेक्सनमा जानुपर्छ ।’
अवसर पाएर काम गर्न नसक्नेहरुको गुणगान गाउँदै आफ्नो स्वार्थ पूरा गर्ने जमातका कारण पार्टी र लोकतन्त्र कमजोर बनेको भन्दै उनले गलत कुरालाई आफूले कहिल्यै सही भन्न नसक्ने स्पष्ट पारे ।
प्रतिक्रिया 4