+
+

नवनियुक्त मन्त्रीहरुलाई दशैं लाग्यो, मन्त्रालयमा छैन चहलपहल

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ असोज २४ गते २०:२९

२४ असोज, काठमाडौं । बिहान पौने १० बजे रक्षा मन्त्रालय पुग्दा नवनियुक्त रक्षामन्त्री डा. मिनेन्द्र रिजालको कार्यकक्षमा नेम प्लेट राख्नेबारे कर्मचारी छलफल गर्दै थिए ।

‘आज मन्त्रीज्यू आउनुहुन्न र ? भन्ने प्रश्नमा ती कर्मचारीले भने, ‘आउने/नआउने जानकारी छैन । उहाँका स्वकीयहरु पनि आउनुभएको छैन ।’ दिउँसो १ बजे पुनः रक्षा मन्त्रालय पुग्दा पनि मन्त्री आइपुगेका थिएनन् । यस्तै दृष्य अन्य मन्त्रालयहरुमा पनि देखिए ।

बिहान पौने ११ बजे शहरी विकास मन्त्रालय पुग्दा मन्त्रालयमा सरसफाइ चलिरहेको थियो । कोही भुईं सफाइ गरिरहेका थिए भने कोही गमलामा रङ लगाउँदै । नवनियुक्त शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सचिवालय पनि सुनसान थियो ।

साढे १२ बजे पुनः मन्त्रालय पुग्दा मन्त्रीलाई बधाइ दिन पुगेका १० जना जति कार्यकर्ता मन्त्रीको कार्यकक्ष बाहिर थिए । तर, मन्त्रीको सचिवालयमा कोही कर्मचारी थिएनन् ।
‘हामी मन्त्रीलाई कुरिरहेका हौं । यहाँ कर्मचारी देखिएका छैनन् । तर, मन्त्रीलाई २ बजेपछि भेट्न पाइने भनेर लेखिएको रहेछ’ एक कार्यकताले भने ।

सोधपुछ कक्षमा पुगेर मन्त्री आउने/नआउने जानकारी के छ ? भनेर सोध्दा त्यहाँ रहेका कर्मचारीले जवाफ दिए, ‘थाहा छैन र हामीलाई जानकारी हुन्न ।’

ती कर्मचारीले थपे, ‘मन्त्रीको बाहिर कार्यक्रमहरु होला त्यसकारणले आइसक्नुभएको छैन । पर्वको समय छ मन्त्रालयमा खास काम नहुने भएकाले मन्त्री बाहिर व्यस्त हुनुभएको हुन सक्छ ।’

बिहान ११ बजेसम्म भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ मन्त्रालय पुगेकी थिइनन् । मन्त्री श्रेष्ठको सचिवालयमा पनि कोही थिएनन् ।

सिंहदरबार बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिउँसो पौने १ बजे पुग्दा नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाको सचिवालय सुनसान थियो ।

नजिकै रहेका कर्मचारीले मन्त्री आउने जानकारी रहेको तर, समय यकिन नभएको बताए । मन्त्रीलाई बधाइ दिन मन्त्रीकै जिल्लाको एक टोली मन्त्रालय आइसकेको थियो । तर, साढे १ बजेसम्म पनि नवनियुक्त मन्त्री खतिवडा मन्त्रालय पुगेनन् ।

गत शुक्रबार शपथ लिएर पदभार ग्रहण गरेका मन्त्रीहरुको आइतबार कामका दृष्टिले पहिलो दिन हो । सामान्यतया नयाँ मन्त्री आएपछि मन्त्रालय, मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा र विभागबाट मन्त्रीलाई ब्रिफिङ गर्ने अभ्यास छ ।

शुक्रबार शपथ लिएपछि रक्षामन्त्री रिजाल शनिबार गृहजिल्ला मोरङ पुगेका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा पोखरा, शहरी विकास मन्त्री झाँक्री र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ तनहुँ पुगेका थिए ।

केही मन्त्रीले भने आइतबार मन्त्रालयमा पुगी कर्मचारीबाट मन्त्रालयबारे जानकारी लिएका छन् ।

बिहान ११ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुग्दा नवनियुक्तमन्त्री राजेन्द्र श्रेष्ठलाई बधाइ दिन खादा, माला, फुल बोकेर १२/१५ जना मानिसहरु कुरिरहेका थिए । ११ः३० मा मन्त्री श्रेष्ठ मन्त्रालय आइपुगे । केही मिनेट सचिवसंग बसेर बधाइ दिन कुर्नेहरुलाई भेटे । १२ बजेपछि मन्त्री श्रेष्ठ ब्रिफिङमा सामेल भए । तर, मन्त्रीको ब्रिफिङमा मन्त्रालयका धेरै कर्मचारी थिएनन् ।

भेटका क्रममा मन्त्री श्रेष्ठसँग हामीले जिज्ञासा राख्यौं, ‘संघीय निजामती कर्मचारीसंग सम्बन्धित विधेयक फिर्ता र कर्मचारी समायोजनको विषयमा के गर्नुहुन्छ ? जवाफमा उनले कर्मचारीतन्त्रलाई चुस्तदुरुस्त बनाउने, संघीयताको मर्म अनुसार बढी भन्दा बढी अधिकार प्रदेशलाई दिने गरी काम गर्ने बताए ।

मन्त्री श्रेष्ठ नै सदस्य रहेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा तीन वर्षसम्म दफावार छलफल भएर पारित भइ संसदमा पुगेको निजामती कर्मचारी सम्बन्धी विधेयक सरकारले फिर्ता लिएको छ । अब अध्यादेश ल्याएर काम अगाडि बढाउने सरकारको तयारी रहेको उनले बताए ।

‘सातै प्रदेशमा प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना गर्न पाएका छैनन् । आ–आफ्नो ठाउँमा कर्मचारी आफैंले कर्मचारी भर्ना गर्ने अवसर प्रदान गर्दै केन्द्रबाट समायोजन भएर गएका कर्मचारीहरुको उचित मुल्याङ्कन हुन्छ । यसका लागि सरकारले बाटो खोल्छ’ मन्त्री श्रेष्ठले भने ।

बिहान १० बजे वन तथा वातावरण मन्त्रालय पुग्दा नवनियुक्त मन्त्री रामसहाय प्रसाद यादवलाई बधाइ दिन कुरिरहेका थिए । साढे १० बजे मन्त्री यादव आइपुगे । बधाइ दिन कुरिरहेकाहरुले मन्त्री यादवलाई खादा, माला लगाइदिए, लड्डु खुवाए, सफल कार्यकालको कामना गरे ।

उनीहरुसंग करिब आधा घण्टा बिताएर मन्त्री यादव ११ बजेपछि ब्रिफिङमा गए । मन्त्री यादवको ब्रिफिङ पनि औपचारिकतामा सीमित थियो । ‘आज यसो ब्रिफिङ भन्ने छ । खास ब्रिफिङ दशैं पछि नै हुन्छ’ उनले भने ।

‘तपाईंका प्राथमिकतामा के के छ ?’ भन्ने प्रश्नमा उनले ‘गरीबको मनोबल राजनीतिमा उठाउन के के गर्नुपर्छ त्यो गर्नेमा आफ्नो ध्यान केन्द्रित हुने’ बताए ।

सत्तारुढ गठबन्धनले पारित गरेको साझा न्युनतम कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउने र मन्त्रालयको भूमिकामा शतप्रतिशत दिन प्रयास गर्ने पनि उनको प्रतिवद्धता छ ।

चुरे संरक्षण गरेर तराईलाई मरुभूमिकरण हुनबाट रोक्न, अनधिकृत रुपमा हुने गरेको ढुङ्गा गिट्टी बालुवाको उत्खनन रोक्ने, वनजन्य पदार्थ र रुख कटानलाई रोक्न पहल गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?