+
+

पाँच महिनापछि खुले म्याग्दीका अवरुद्ध ग्रामीण सडक

रासस रासस
२०७८ असोज २५ गते १४:१३

२५ असार, म्‍याग्दी। बाढी र पहिरोका कारण जेठको दोस्रो सातादेखि अवरुद्ध भएका म्याग्दीका ग्रामीण सडक पाँच महिना पछि बल्ल खुल्न थालेका छन् ।

वर्षा सुरु भएसँगै बाढी पहिरोका कारणले यहाँका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका थिए । त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेका थिएनन् ।

यहाँका स्थानीय तहले सडक खुलाउने प्रयास गरे पनि लगातार भइरहेको वर्षाले पटकपटक अवरुद्ध हुँदै आएका सडक वर्षा रोकिएपछि दसैँको मुखैमा बल्ल खुल्न थालेका हुन् । स्थानीय तहले डोजर, स्काभेटरको प्रयोग गरेर सडक खुलाएको हो ।

वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दसैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । नगर पालिकाका सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेको बेनी नगरपालिकाले जनाएको छ ।

पश्चिम म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाले चाडपर्व मान्न गाउँ फर्केका नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । रघुगङ्गा गाउँपालिकाले पनि पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ ।

‘केही दिनयता ग्रामीण सडक खुलाउने काम तीव्र गतिमा भइरहेको छ, दसैँमा घर जान नागरिकलाई कुनै दुःख हुँदैन’, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

अवरुद्ध भएका ग्रामीण सडकसँगै बेनी–दरबाङ सडकखण्डमा पनि कुनै समस्या नभएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । गाउँ आउने यात्रुलाई सहज हुने गरी सडक खुलाइएको उनको भनाइ छ । कठिन भूगोल भएका धौलागिरि, मालिका र मङ्गला गाउँपालिकाका प्रायः सबै सडक सञ्चालनमा आइसकेका स्थानीय बासिन्दाको भनाइ रहेको छ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाभित्रका सडक पनि सञ्चालनमा आउन थालेका गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्ने गरी काम भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

उता बेनी–जोमसोम सडकखण्ड पनि केही दिनयता नियमितरुपमा सञ्चालनमा छ । अघिल्लो साता काभ्रेभिर पहिरो गएपछि तीन दिनसम्म सडक अवरुद्ध भएको थियो । त्यहाँको सडक मर्मत गरेर यातायात सञ्चालन गरिएसँगै अहिले सो सडकखण्डमा कुनै समस्या नभएको स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए ।

त्यसैगरी बेनी–रत्नेचौर–बागलु, बागलु–रत्नेचौर–भकुण्डे, बेनी–मालढुङ्गा, बेनी–लभ्लीहिल–भकुण्डे, बेनी–बगरफाँट–बरङ्जा, बेनी–पुलाचौरलगायतका सडक पनि सञ्चालनमा आएका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?