+
+
फिचर समाचार :

यसरी गर्न सकिन्छ लुम्बिनी क्षेत्रको भ्रमण

रमेश घिमिरे रमेश घिमिरे
२०७८ असोज ३० गते २०:२०

३० असोज, काठमाडौं । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र उत्तरी पहाडी जिल्लाका पर्यटकीय स्थलहरू एकपटकको भ्रमणमा घुम्न सकिन्छ । यसका लागि कम्तीमा एक हप्ताको समय छुट्याउनुपर्छ । यस लेखमा यस क्षेत्रका प्रमुख पर्यटकीय स्थलबारे जानकारी दिने प्रयत्न गरिएको छ ।

राजधानी काठमाडौंबाट आधा घण्टा हवाई यात्रामा रूपन्देहीको भैरहवा पुग्न सकिन्छ । स्थलमार्गबाट करीब ८ घण्टामा बुटवल पुग्न सकिन्छ । भैरहवा एअरपोर्टबाट पाल्पा जाने हो भने बुटवल हुँदै गइन्छ ।

बुटवलबाट पाल्पाको तानसेन जाने क्रममा ६ किमी उत्तरतर्फ प्रसिद्ध सिद्धबाबा मन्दिर रहेको छ । यो मन्दिर दायाँतर्फ बाटोमै जोडिएको चट्टानी डाँडामा अवस्थित छ । यस मन्दिरको दर्शनबाट मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । यहाँ परेवा उडाएर मनोकांक्षा राख्ने गरिन्छ ।

इतिहास र आस्था बोकेका लेकहरूमा पैदलयात्रा गर्दा नै त्यसको महत्व कायम राख्न मद्दत पुग्छ । त्यहाँ पनि ठूला सडक निर्माण गर्नु भनेको पर्यटकीय स्थलको महत्व घटाउनु र सीमित साधनस्रोतको गलत प्रयोग गर्नु हो ।

सिद्धबाबा क्षेत्रमा पहाडी खतरा सडकको सूचीमा पर्ने सडक यात्राको अनुभव गरिन्छ । बाटोमा यहाँको विशेष परिकार बटुक र चुकाउनी चाख्दै अघि बढ्न पाइन्छ । दोभान, केराबारी, परवास, बर्तुङ हुँदै बुटवलदेखि ४० कि.मि. उत्तर तानसेनको शीतल खान पुगिन्छ ।

सोझै काठमाडौंबाट करीब १० घण्टाको यात्रामा तानसेन पनि पुग्न सकिन्छ । तानसेन भिरालो ठाउँमा अवस्थित सफा, सुन्दर, हरियाली शहर हो । यसको हेर्नै पर्ने ठाउँ पाल्पा दरबार संग्रहालय हो । वि.सं. १९८३ मा निर्मित यस दरबारलाई पश्चिमको सिंहदरबारको रूपमा चिनिन्थ्यो । विगतमा पश्चिम नेपालको प्रशासनिक केन्द्र यही दरबार थियो ।

बतासे र श्रीनगर डाँडा पर्यटकको मन आनन्दित पार्ने तानसेन आसपासका सल्लाघारी हुन् । सुन्दर, रमणीय र खुला श्रीनगर वन÷पार्कमा हिंडडुलका लागि गोरेटा, पार्किङ र सरसफाइका पूर्वाधार राम्रा छन् । त्यहाँ भ्यू टावर पनि रहेको छ ।

तानसेनबाट १३ किमी उत्तरतर्फ ऐतिहासिक रानी महल रहेको छ । नेपालको ताज महल भनिने यो महल वि.सं. १९५४ मा स्थानीय राजाले रानीको सम्झनामा निर्माण गरेका थिए । कालीगण्डकी नदीको एकदमै तटमा रहेको महल र आसपासको सौन्दर्य आनन्ददायक छ ।

ईंट र काठबाट बनेको उक्त महल निर्माणको कला र डिजाइन उत्कृष्ट छ । हिउँदमा न्यानो र गर्मीमा शीतल हुने गरी महल डिजाइन र निर्माण भएको छ । नदी माथिको झोलुंगे पुलले पर्यटकका लागि सुविधा र थप रमाइलो प्रदान गर्दछ ।

तानसेनबाट ४ कि.मि. पश्चिम भैरवस्थान मन्दिर पुग्दा छुट्टै आनन्द महसूस हुन्छ । पार्किङ, सरसफाइ, पदमार्ग, बगैंचा, जुत्ता राख्ने र्‍याक, लाइन व्यवस्थापन, प्रसाद पसलकबल र सफाइ स्थलका पूर्वाधार यस मन्दिरमा उदाहरणीय नै छन् । मन्दिर प्रशासनको कार्यालय पनि व्यवस्थित र आगन्तुकहरूको सहज पहुँचमा रहेको छ ।

भैरवस्थान मन्दिरको फरक विशेषता भनेको यहाँ निकै ठूला आकारका रोटी प्रसादको रूपमा प्रयोग गरिन्छ । एक पाथी चामलको रोटी बनाइन्छ । यहाँ भक्तजनले देवीलाई पशु बलि पनि चढाउने गर्दछन् । बलिस्थल व्यवस्थित बनाइएको छ । यस मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

तानसेनबाट उत्तरतर्फ ३४ कि.मि. मा पवित्र तीर्थस्थल रिडी रहेको छ । यो पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल हो । मृत्यु संस्कार र पितृ कर्मका लागि यो स्थल पश्चिम नेपालको केन्द्र हो । यो गुल्मी जिल्लाको रुरु गाउँपालिकाको पश्चिम सीमा हो । नेपालको चार धाममध्ये रुरु क्षेत्र एक हो । रिडीबाट १३ कि.मि. उत्तरतर्फ चर्चित बलेटक्सार बजार रहेको छ ।

श्रृङ्गय, देवदत्त र रुरुकन्या लगायत विभिन्न ऋषिहरूले यस क्षेत्रमा तपस्या गरेको पुराणहरूमा उल्लेख छ । रुरुकन्या स्त्री ऋषि थिइन् । ऋषिहरूको वासस्थान र क्रियाकलापका स्थानलाई समेटेर रुरु गाउँपालिकाको क्षेत्र तोकिएको छ ।

रुरु गाउँपालिका सम्पूर्ण रूपले धार्मिक महत्वको स्थल हो । ऋषिहरूले रिडी ओर्लेर कालीगण्डकीमा नुहाउने र लेकको चिसोमा बसेर तपस्या गर्ने गरेको पुराणहरूमा उल्लेख छ । रिडी झण्डै तराई बराबर तापमान हुने ठाउँ हो ।

रिडीमा तीन किनार जोड्ने पुल निर्माण कार्य भइरहेको छ । यो कालीगण्डकी नदीमा रिडी खोला मिसिएको स्थानमा एक बलियो टावर (खम्बा) निर्माण गरी त्यहाँबाट तीनतर्फ पुल जोड्ने परियोजना हो । यो ठाउँ तीनमुखे पुल निर्माणपछि मनोरञ्जन पर्यटकस्थल समेतको रूपमा विकास हुनेछ ।

बलेटक्सारबाट २८ कि.मि. उत्तरमा गुल्मीको सदरमुकाम तम्घास बजार रहेको छ । तम्घासबाट दक्षिण पूर्वमा अवस्थित रेसुङ्गा डाँडा महत्वपूर्ण धार्मिक स्थल हो ।

सदरमुकाम बजारलाई समेत समेटेर रेसुङ्गा नगरपालिकाको क्षेत्र तोकिएको छ । यस डाँडामा अखण्ड यज्ञकुण्ड रहेको छ । पौराणिक कालदेखि ऋषिमुनिहरू यहाँ आएर तपस्या गर्ने गरेको प्रमाण भेटिएको छ ।

२३४७ मिटर उचाइ रहेको यो रेसुङ्गा डाँडामा सधैं शीतल हावा बहने गर्छ । टाढाटाढासम्म दृश्यावलोकन गर्न सकिने यहाँ भ्यू टावर पनि रहेको छ । गुराँसको वन भएका कारण मनोरञ्जन पर्यटकस्थलका रूपमा पनि यो उत्तिकै प्रख्यात छ । हरियालीमा पदयात्राका लागि यो डाँडा उपयुक्त रहेको छ । यहाँ पौवा होटलले आफ्नो चेन विस्तार गरेको छ ।

तम्घासबाट २५ कि.मि. दक्षिण पश्चिममा ढोरपाटन राजमार्ग हुँदै अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगिन्छ । पाणिनी तपोभूमि पूर्वी अर्घाखाँचीको महत्वपूर्ण धार्मिक स्थल हो । पाणिनी ऋषिले तपस्या गरेको भनी विश्वास गरिएको यस स्थानमा ऋषिका आश्रम कुटीहरू रहेका छन् ।

यस पणेना लेकमा ठूलो चौर (पठार) र दह रहेको छ । साथै सधैं शीतल हावा चल्ने र तराईसम्मको दृश्यावलोकन गर्न सकिने हुँदा मनोरञ्जन पर्यटकस्थलको रूपमा पनि विकास भएको छ ।

पाणिनी गाउँपालिकाभित्र शैक्षिक एतिहासको महत्व बोकेको हरिहर विद्यालय रहेको छ । नेपालको पश्चिम भेगमा शिक्षाको ज्योति फैलाउने केन्द्रको रूपमा यो विद्यालय रहेको थियो । प्रख्यात शिक्षाप्रेमी धनाढ्य हरिहर गौतमले वि.सं. १९९४ मा यो विद्यालय स्थापना गरेका थिए ।

यस स्कूलले गर्दा शिक्षा आर्जन गर्न चाहनेका लागि भारत जानुपर्ने बाध्यता कम भएको थियो । पाल्पा, गुल्मी र अर्घाखाँचीका मानिसहरूले त्यहाँ आएर शिक्षा आर्जन गर्ने गर्दथे । हरिहर गौतम, दधिराम मरासिनी र नारायण गौतमलाई शिक्षा विकासको त्रिमूर्ति मानिन्छ ।

पाणिनी गाउँपालिकाको दुर्गाफाँट भन्ने ठाउँमा आकर्षक साततले (दुर्वाशेश्वर) गुफा रहेको छ । यस गुफामा दुर्वाशा ऋषिले तपस्या गरेको विश्वास गरिन्छ । यो गुफाबाहिर पौवा, होमखाडी, शङ्खेधारा लगायतका धार्मिक सम्पदा रहेका छन् ।

गुफाको सिरानमा गणेशको मूर्ति छ । गुफाभित्र ऋषिले पूजा गर्ने सामग्रीसहित सानो शिवलिङ्ग रहेको छ । शिवलिङ्गमा दूध जस्तै सेतो थोपा झर्ने गर्दछ ।

पाणिनीबाट २५ कि.मि. पश्चिम लागेपछि अर्घाखाँचीको चर्चित स्थान घुम्ती हुँदै सदरमुकाम सन्धिखर्क पुगिन्छ । घुम्तीबाट दक्षिण लागेपछि पुरानो सदरमुकाम नरपानी साँच्चै नै मनमोहक छ । यहाँ मनोरम पोखरी पनि रहेको छ ।

अझै दक्षिणतर्फ लाग्दा प्रख्यात सुपा देउराली मन्दिर रहेको छ । यहाँ देवीलाई पशु बलि दिएपछि मनोकामना पूरा हुने विश्वास छ । बलि नदिने समुदायले परेवा उडाउने चलन रहेको छ ।

यो मन्दिर बायाँतर्फ बाटोको डिलमै रहेको छ । सुपा देउराली क्षेत्रमा बलियो चट्टान काटेर बनाइएको मोटरबाटो आफैंमा रोचक छ । बाटोबाट खोलामा हेर्दा रिंगटा लाग्ने यस स्थानबाट माथि भीर हेर्दा टोपी खस्छ । नेपालको पुरानो साहसी सडकको रूपमा यो चिनिंदै आएको छ । यो भीरमा लाहुरे टाँसिएको किंवदन्ती छ ।

सुपाबाट अर्घाखाँचीको डाठा, चाक्ला, पत्थरकोट हुँदै ४७ कि.मि. यात्रा गरेपछि कपिलवस्तुको गोरुसिंगेस्थित महेन्द्र राजमार्ग पुगिन्छ । त्यहाँबाट करीब दुई घण्टा पूर्व दक्षिणको यात्रापछि भवगान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, रूपन्देही पुगिन्छ ।

लुम्बिनीमा श्वेत स्तूपादेखि अटुट शान्तिद्वीपसम्म डुंगामा यात्रा गर्न सकिन्छ । बेलुकीको समयमा मायादेवी मन्दिर आसपास बत्तीहरूको कारण दृश्य अति सुन्दर हुन्छ । लुम्बिनी परिसरभित्रको खुला र शान्त सौन्दर्यले यात्राको सबै थकान मेटाइदिन्छ ।

लुम्बिनीबाट सोझै काठमाडौंको लागि बस चढ्न सकिन्छ । २० कि.मि. पूर्व हिंडेपछि रूपन्देहीको सदरमुकाम भैरहवा पुगेर हवाई यात्रा पनि गर्न सकिन्छ । भैरहवादेखि उत्तरतर्फ २० कि.मि.मा रूपन्देहीको प्रमुख शहर बुटवल रहेको छ ।

सिद्धार्थ राजमार्गको यो खण्ड नेपालकै मनोरम राजमार्गको रूपमा रहेको छ ।

६ लेनको अन्तर्राष्ट्रिय मापदण्डको यो सडक खण्डमा दिउँसोमा आइल्याण्डको हरियालीले आनन्द प्रदान गर्दछ भने रात्रि समयमा उज्ज्याला सडक बत्तीले विकसित शहरको झल्को दिन्छन् । तिलोत्तमा नगरपालिकाले सडक सौन्दर्यमा नाम कमाएको छ ।

निष्कर्ष

रूपन्देहीदेखि पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु हुँदै रूपन्देही फर्कंदा एक गोलचक्कर लगाइन्छ । हरियाली, डाँडाकाँडा, नदीनाला, छाँगाझरना, फाँट, भीर, पखेराको दृश्यले यात्रामा अल्छी लाग्न दिंदैन ।

यस क्षेत्रमा अधिकांशतः हिन्दू धार्मिक स्थलहरू नै पर्यटकीय स्थलका रूपमा रहेका छन् । तथापि ती धार्मिक स्थल अत्यन्तै मनोरम र उपयुक्त हावापानीको ठाउँमा भएका कारण सबै प्रकारका पर्यटकका लागि आकर्षक बनेका छन् ।

यात्रा गर्दा सडकको गुणस्तरले भने यात्रीलाई साहसी बनाउन बाध्य पार्दछ । यस रुटमा धूलो, हिलो र खाल्डाखुल्डीको सामना गर्नुपर्ने हुन्छ । यस रुटमा यात्रा गर्दा दिगो र वातावरणमैत्री विकासबारे स्थानीय र केन्द्रीय सरकारहरूमा सचेतना अपुग रहेको अनुभूति हुन्छ ।

नेपालमा केही वर्षमै कुनै पनि सडक राम्रो अवस्थामा पाउन कठिन हुने त होइन भन्ने डर मनमा उब्जन सक्छ । किनकि यही हिसाबले सडक बनाउँदै जाने हो भने सडकको क्षेत्रफल यति बढी हुनेछ कि त्यसको मर्मतसम्भार गर्न बजेट अपुग हुनेछ । बरु थोरै तर रणनीतिक महत्वका गुणस्तरीय सडकलाई विकासको परिभाषामा पार्न पाए हुन्थ्यो कि भन्ने लाग्न सक्छ ।

इतिहास र आस्था बोकेका लेकहरूमा पैदलयात्रा गर्दा नै त्यसको महत्व कायम राख्न मद्दत पुग्छ । त्यहाँ पनि ठूला सडक निर्माण गर्नु भनेको पर्यटकीय स्थलको महत्व घटाउनु र सीमित साधनस्रोतको गलत प्रयोग गर्नु हो ।

ऐतिहासिक महत्वका स्थलका नाममा सहजै सरकारी निकायबाट बजेट विनियोजन हुने गर्छ । त्यसबाट अनावश्यक भौतिक संरचना निर्माण गरेर प्रदूषण, भीडभाड र फोहोर बढाउने कामलाई विकासको परिभाषा बाहिर पार्न पाए हुन्थ्यो कि भन्ने विचार यात्राले उत्पन्न गराइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?