+
+

दशैंमा कसरी चल्छन् उपत्यकाका अस्पताल ?

प्रेम लामा प्रेम लामा
२०७८ असोज २६ गते २०:१०
फाइल तस्वीर

२६ असोज, काठमाडौं । सहरदेखि दूरदराजका गाउँसम्म दशैंको चहलपहल बढेको छ । दशैंका बेला सरकारले फूलपातीदेखि दशमीको भोलिपल्टसम्म सार्वजनिक विदा दिन्छ । दशैंका बेला प्रायः सबै अस्पतालहरुले फूलपातीदेखि एकादशीसम्म ओपीडी सेवा बन्द गरेका छन् । जसले गर्दा आकस्मिक कक्षमा बिरामीको चाप बढ्न सक्छ ।

ओपीडी सेवा बन्द भएपनि अस्पतालले आकस्मिक कक्षमा आउने बिरामी र वार्डमा उपचाररत बिरामीलाई नियमित सेवा प्रवाह गर्छन् ।

काठमाडौं उपत्यकाका ठूला अस्पतालहरुले कोरोनाका बिरामीसँगै खानपानका कारण हुने बिरामी, दुर्घटनाका घाइते लगायतका अन्य बिरामीको उपचारको व्यवस्थापन कसरी गर्दैछ त ?

वीर अस्पताल : अन्य विदामा जसरी नै सेवा नियमित हुन्छ

काठमाडौंमा रहेको केन्द्रीय अस्पताल वीर अस्पतालले दशैंको समयमा ओपीडीबाहेकका अन्य सबै सेवा उपलब्ध गराउने भएको छ । अस्पतालका अनुसार ओपीडी सेवा फूलपातीदेखि एकादशीसम्म बन्द हुनेछ ।

दशैंको समयमा खानपानका कारणले बिरामी भएका मानिस उपचारका लागि आउने अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए ।

‘दशैंको समयमा दुर्घटनाका घाइते र खानपानका कारणले हुने बिरामी अस्पताल आउने हो । अहिले कोभिडको जोखिम कायमै रहेकाले यसका लक्षण देखा परेका मानिसहरु पनि आउन सक्छन्,’ डा. बस्नेतले भने, ‘आकस्मिक कक्षमा आउने बिरामी र वार्डमा रहेका बिरामीको उपचारका लागि चिकित्सक तथा नर्सहरुलाई रोटेसनमा परिचालन गरी नियमित सेवा प्रदान गर्छौं ।’

‘दशैंका लागि भनेर विदा दिने छुट्टै व्यवस्था छैन । अन्य सार्वजनिक विदामा जसरी नै अस्पतालको सेवा नियमित हुन्छ,’ डा. बस्नेतले भने, ‘रोटेसन मिलाएर चिकित्सकले काम गर्छन् र दशैं पनि मनाउँछन् ।’

त्रिवि शिक्षण अस्पताल : अस्पतालको सेवा नियमित हुन्छ

त्रिवि शिक्षण अस्पतालले दशैंको समयमा उपचारका लागि आउने बिरामीलाई नियमित सेवा दिने भएको छ । अस्पतालका उपनिर्देशक डा. सन्तकुमार दासका अस्पतालको आकस्मिक सेवा र इमर्जेन्सी अपरेशन खुला रहन्छ ।

डा. दासले भने, ‘दशैं भनेर विदा दिने चलन अस्पतालमा छैन । अस्पतालको आकस्मिक सेवा र इमर्जेन्सी अपरेशन खुला रहन्छ । आफ्नो ड्युटी आवरमा सबै स्टाफले नियमित सेवा दिनैपर्छ र दिन्छ पनि ।’

ओपीडीबाहेकको सबै सेवा नियमित सञ्चालन हुने उनको भनाइ छ । ‘दशैंका लागि खटिने स्टाफको सूची तयार भइसकेको छ । आ–आफ्नो वार्डमा खटिने डाक्टर, नर्स लगायतका कर्मचारीले त्यही अनुसार बिरामीको सेवामा नियमित खट्छन्’ डा. दासले थपे । काममा बाधा नपर्ने गरी राजधानी बाहिरका चिकित्सक तथा कर्मचारीलाई दशैं विदाको व्यवस्थापन गरिएको उनको भनाइ छ ।

शुक्रराज अस्पताल : कोभिडका बिरामीलाई २४ सै घण्टा सेवा

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिडका बिरामीको उपचारका लागि आकस्मिक कक्ष २४ सै घण्टा सञ्चालन गर्ने भएको छ । अस्पतालले कोभिडका बिरामीको मात्रै उपचार गरिरहेकोले अन्य रोगका बिरामीहरुलाई अहिले भर्ना गर्ने अवस्था नरहेको अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताए । दशैंको समयमा कोभिड भएर उपचारका लागि आउने बिरामी अस्पतालबाट फर्कन नपर्ने उनको भनाइ छ ।

दशैंको समयमा कोभिडबाहेक एचआईभीको औषधि लिइरहेका बिरामीलाई पनि औषधिको सुनिश्चितता गरेर मात्रै अस्पतालले आफ्नो सेवा बन्द गर्ने उनले बताए ।

यसैगरी अस्पतालले कुकुरले टोकेको व्यक्तिलाई दिइने औषधि पनि २४ सै घण्टा उपलब्ध गराउने उनले बताए । ओपीडी चलेको बेला ओपीडी र अरुबेला आकस्मिक कक्षबाट यस्ता बिरामीलाई सेवा दिइने डा. बास्तोलको भनाइ छ ।

अस्पतालले सार्वजनिक बिदाको दिन पनि ११ बजेसम्म ओपीडी सेवा दिँदै आएको डा. बास्तोलाले बताए ।

काठमाडौं उपत्यकाभित्र र क्वाटरमा बस्ने चिकित्सक तथा नर्सहरुबाट बिरामीलाई नियमित सेवा दिने व्यवस्था मिलाइएको डा. बास्तोलाले बताए । राजधानी बाहिर परिवार रहेका स्वास्थ्यकर्मीहरुलाई भने सम्भव भएसम्म विदा दिइने उनले बताए ।

गंगालाल हृदय केन्द्र : आकस्मिक सेवा नपाएर फर्किनु पर्दैन

गंगालाल राष्ट्रिय हृदय केन्द्रले पनि दशैंको समयमा बिरामीलाई आकस्मिक सेवा प्रभावकारी रुपमा प्रदान गर्ने जनाएको छ । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले दशैंको समयमा मुटुरोगका आकस्मिक बिरामीलाई आकस्मिक सेवा विभागमार्फत सेवा दिने बताए ।

‘दशैंको समयमा आकस्मिक कक्ष र वार्ड खुला रहन्छन् । आकस्मिक कक्षमा आएका र भर्ना भएका बिरामीलाई डाक्टर र नर्सहरुले नियमित सेवा दिन्छन्,’ डा अधिकारीले भने, ‘दशै भएपनि बिरामीले आकस्मिक सेवा नपाएर फर्किनुपर्ने अवस्था हुँदैन ।’

अस्पतालले दिने सेवामा कुनै पनि कमी नहुने गरी जनशक्तिको व्यवस्थापन गरिएको उनले बताए । काठमाडौं उपत्यका बाहिरका जनशक्तिलाई भने दशैं र तिहारमा आलोपालो गरी विदाको व्यवस्था मिलाइएको उनले बताए ।

पाटन अस्पताल : आकस्मिक सेवा नियमित

पाटन अस्पतालले पनि दशैंको समयमा आकस्मिक लगायतका सेवालाई नियमित बनाउने बताएको छ । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार दशैंको चार दिन मात्रै ओपीडी सेवा बन्द हुन्छ ।

दशैंको समयमा बिरामी परेर उपचारका लागि अस्पताल आउने बिरामीको उपचार गर्न जनशक्तिको व्यवस्थापन गरिएको उनले बताए । काठमाडौं उपत्यका बाहिरका जनशक्तिलाई दशैं र तिहारमा आलोपालो गरी विदाको व्यवस्थापन गरिएको उनको भनाइ छ ।

भक्तपुर अस्पताल : फिभर क्लिनिक पनि सञ्चालन हुन्छ

भक्तपुर अस्पतालले कोरोना महामारी कायमै रहेका कारण दशैंको समयमा पनि फिभर क्लिनिक सञ्चालन गर्ने भएको छ । अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले पीसीआर परीक्षण कार्यलाई पनि निरन्तरता दिने बताइन् । अस्पतालको आकस्मिक सेवा र वार्डमा रहेका बिरामी उपचारका लागि पनि चिकित्सकहरु नियमित खट्ने उनले बताइन् ।

‘आकस्मिक सेवा २४ सै घण्टा सञ्चालन हुन्छ नै । फिभर क्लिनिक र पीसीआर परीक्षण समेत नियमित सञ्चालन हुन्छ,’ डा गौतमले भनिन् । कसन्लटेन्ट चिकित्सकहरुलाई आवश्यक परेको अवस्थामा कल गरेर बोलाउन मिल्ने गरी विदा दिने व्यवस्था मिलाइएको उनले बताइन् । अस्पतालको उपचार प्रणालीमा प्रभाव नपर्ने गरी दुई टोली बनाएर दशैं र तिहारमा विदा दिने व्यवस्था मिलाउने डा. गौतमको भनाइ छ ।

लेखकको बारेमा
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?