+
+

बाँके प्रहरीले किन रुबीमाथि बहुबिवाहको ‘फर्जी मुद्दा’ चलाउन खोजेको हो ?

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७८ असोज २७ गते १७:५४

२७ असोज, काठमाडौं । हिंसाको घटनामा छानबिन हुनुपर्ने माग राखी गत शुक्रबार (असोज २२ गते) राजधानीको माइतीघर मण्डलामा धर्ना शुरु गर्न थालेकी नेपालगञ्जकी रुवी खान पठान सहित १३ जनालाई प्रहरीले पक्राउ गर्‍यो ।

दुई हिसांका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दवावका लागि उनीहरु नेपालगञ्जबाट हिड्दै काठमाण्डौं आएका थिए । अरुलाई मानव सेवा आश्रममा लगेको प्रहरीले रुबीलाई भने झुक्याएर लैनचौर वृत्तमा पठायो ।

पिडित पक्षको दावी अनुसार, शुरुमा पक्राउ पूर्जी नै नदिएको प्रहरीले पछि भने रुबीलाई बहुविवाहको आरोपमा पक्राउ गरिएको भनी ‘बनिबनाउ’ आरोप तयार गरेको देखिन्छ । हिंसाको घटनालाई जोगाएको आरोप खेपेको बाँकी प्रहरीमाथि दवाव श्रृजना गरेकी उनलाई उसैले एउटा बनिबनाउ फर्जी आरोपमा पक्राउ गरेर थुनामा राखेको देखिन्छ । प्रहरीको आरोप अनुसार, रुबीले बहुविवाह गरेकी हुन् र त्यही आरोपमा उनलाई पक्राउ गरिएको हो ।

जबर्जस्ती थुन्ने प्रयास

जिल्ला अदालत बाकेको अभिलेख हेर्दा, रुबी खान पठान र शेर बागवानविच २०७८ साउन १८ गते आपसी सरसल्लाहमै सम्बन्धविच्छेद भएको हो । अघिल्लो दिन रुबीले दर्ता गरेको सम्बन्धविच्छेदको मुद्दामा उनका पूर्वपति मोहम्बर शेर बागवानले सहमती जनाएपछि भोलिपल्ट नै सम्बन्धविच्छेद भएको थियो । तर प्रहरीले उनीहरुविच विवाह हुदा पहिलेकी पत्नीले सम्बन्धविच्छेद नगरेको दावी सहित बहुविवाहको आरोपमा कारवाही अघि बढाउन खोजेको देखिन्छ ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारीले पहिले नै विहे गरेर बालबच्चा भइसकेका शेर बागवानसँग रुबीले विवाह गरेकाले जाहेरी परेपछि बहुविवाहको आरोपमा छानबिन भइरहेको बताए । ‘रुबीले छोराछोरी भएको मानिससँग बहुविवाह गरेको त हो नी’ एसपी अधिकारीले अनलाईनखबरसँग भने, ‘जाहेरी परेपछि हामीले भदौं २४ गते अदालतको अनुमतीमा अहिले पक्राउ गरेका हौं ।’

साढे दुई महिनाअघि औपचारिक सम्बन्धविच्छेद गरेका रुवीका पूर्वपति शेर बागवान स्वयं नै आरोप स्विकार्न तयार छैनन । बागवानका अनुसार, २०६१ सालमा नै उनीहरुविच तलाक भएको हो र पछि अदालतबाट समेत सम्बन्धविच्छेद भयो ।

रुबीले नै अदालतमा पेश गरेको फिरादपत्रमा आठ वर्षअघि शेर बागवानसँग विवाह गरेको भनी विवरण पेश गरेकी छन् । अदालतमा पेश भएको कागजात हेर्दा २०६१ सालमा सम्बन्धविच्छेद गरेर एक्लै रहेका शेर बागवानले २०७० सालतिर मात्रै रुबीलाई विहे गरेको देखिन्छ । सम्बन्ध विच्छेद गरिसकेको पुरुष÷महिलाले अर्को विवाह गर्दा बहुविवाहको मुद्दा आकर्षित हुँदैन ।

पूर्वप्रहरी प्रयोग गरेर जाहेरी

अब बाँके प्रहरीले उदयबहादुर कार्कीलाई प्रयोग गरेर भदौं २१ गते जाहेरी हाल्न लगाएको कागजातबाट देखिन्छ । पूर्वप्रहरी समेत रहेका उनलाई एसपी अधिकारीले प्रयोग गरेर जाहेरी हाल्न लगाएको स्रोतले बतायो । र प्रहरीले रुवीलाई पक्राउ गर्न बाँके जिल्ला अदालतमा अनुमतीका लागि निवेदन पनि दियो ।

जिल्ला न्यायाधीश श्याम सुन्दर अधिकारीले कागजात र मिसिल नहेरी २०७८ भदौं २५ गते पक्राउको अनुमती दिए । रोचक त के छ भने त्यही अदालतबाट करिव एक महिनाअघि नै सम्बन्धविच्छेदका लागि आफै कार्यरत अदालतले दिएको आदेशवारे मेसो पाएनन् ।

कुनै पनि व्यक्ति पक्राउ हुनु नागरिकको स्वतन्त्रतासँग प्रत्यक्षरुपमा जोडिएको विषय हो । रुबी विरुद्ध बहुविवादको आरोपमा दर्ता भएको जाहेरीका आधारमा पक्राउ अनुमति दिदा प्रमाण, हदम्याद लगायतका विषयमा प्रमाण माग्नुपर्ने जिल्ला न्यायाधीश श्याम सुन्दर अधिकारीले यो पाटो केलाएको देखिदैन । किनभने रुबीले शेर बागवानसँग विवाह गरेको ८ वर्ष वितिसकेको छ ।

आठ वर्षअघि विवाहका बेला शेर बागवानको पहिलो विवाहको कानूनी अवस्था कायम थियो भनी जाहेरी दिने पूर्वप्रहरी उदयबहादुर कार्कीले पुष्टि हुने प्रमाण पेश गर्न सकेका छैनन । अर्कोतर्फ हदम्यादका आधारमा हेर्दा समेत मुद्दा चल्नसक्ने अवस्था नभएकोमा प्रहरीकै लयमा जिल्ला न्यायाधीश अधिकारीले पक्राउपूर्जी जारी गरेको स्रोतले बतायो ।

भदौं २५ गते अदालतबाट अनुमती पाइसकेको बाँके प्रहरीले लामो समयसम्म रुवीलाई पक्राउ गरेन । काठमाण्डौं आएर आन्दोलन चर्काउने बताएपछि मात्रै असोज २२ गतेमात्रै रुवीलाई पक्राउ गर्न पत्र पठायो । बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रुबीले जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतको नेपालगञ्ज इजलासमा मुद्दा हालेको र त्यहा रुबीले अन्तरिम आदेश पाएको दावी गर्छन्। अन्तरिम आदेशका कारण आफूहरुले पक्राउ गर्न नसकेको बताउछन् ।

हिंसाका घटनामा प्रहरीको संरक्षण भएको आरोपमा रुबी खान लगायतका अधिकारकर्मीहरुले आन्दोलन थालेपछि बाँके प्रहरीले उनीमाथि बहुबिवाहको फर्जी मुद्दा चलाउदैछ ।

एसपी अधिकारीको भनाईमा पछि उच्च अदालतको नेपालगञ्ज इजलासले नै रुबीमाथि बहुविवाहमा मुद्दा चलाउनु भन्ने आदेश गरेको थियो । तर उच्च अदालतको अभिलेखमा भने कुनै आदेश जारी भएको उल्लेख छैन, केवल रिट निवेदनमार्फत खारेज भएको देखिन्छ ।

उनीमाथि अनुसन्धान भइरहेको बताउने एसपी अधिकारीले दशैंलगत्तै बहुविवाहको मुद्दा चल्ने बताए । ‘केही गरसरकारी संस्था र अभियानकर्मीबाहेक उहालाई कसैले सपोर्ट गरेको अवस्था छैन’ एसपी अधिकारीले भने, ‘उहाँलाई जाहेरीका आधरामा पक्राउ गरिएको हो । हाम्रो केही आग्रह/पूर्वाग्रह केही छैन र होइन पनि ।’

प्रहरीको दावी किन खण्डित हुन्छ भने रुबी खानले दिएको मुद्दामा २०७८ साल भदौं २९ गते उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले कारण देखाउ आदेशमात्रै जारी गरेको थियो, अन्तरिम आदेश दिएको थिएन । अदालतले वेबसाइटमा कारण देखाउ आदेशमात्रै जारी भएको उल्लेख गरेको छ । अनि असोज ६ गते रिट निवेदन खारेज गर्‍यो । त्यसको फैसला अहिलेसम्म उच्च अदालतले तयार गरिसकेको छैन । यसरी हेर्दा अदालतबाट अनुमतीपत्र लिएर बसेको प्रहरीले रुबीलाई पक्राउ गर्न मौका कुरेर बसेको देखिन्छ ।

प्रदर्शन चर्केपछि धरपकड

प्रहरीले रुबीलाई माईतीघर मण्डलामा प्रदर्शन गर्दैको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ हुनासाथ पूर्जी नदिएको महानगरिय प्रहरी वृत्त सिंहदवारले भने सर्वोच्च अदालतमा झुटो जवाफ लेखेको छ । महानगरिय प्रहरी वृत्त सिंहदरवारका डिएसपी भरत श्रेष्ठले पठाएको लिखित जवाफमा असोज २२ गते बाके प्रहरीले आफूहरुलाई पत्र पठाएको र त्यही पत्रका आधारमा शुक्रबार बेलुकी साढे ६ बजे माइतीघर मण्डलामा फेला पारी पक्राउ गरिएको दावी गरेको छ ।

पीडित रुबीको कानूनी उपचारमा संलग्न अधिवक्ता मोहना अन्सारीका अनुसार, प्रहरीको यो दावी झुटो हो । उनी भन्छिन्, ‘अदालतको आदेशपछि हतारहतार रुबीलाई प्रहरीले नेपालगञ्ज पठाएको हो । बुद्ध एयरको टिकटमात्रै हेर्ने हो भने यथार्थ विवरण स्पष्ट हुन्छ ।’

पक्राउ परेकी रुबीलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारले आफूकहाँ महिला थुनुवागृह नभएको भन्दै महानगरिय प्रहरी वृत्त लैनचौरमा पठायो । त्यही बाँके प्रहरीले रुबीलाई पक्राउ गरेर आफूकहाँ पठाउन भनी लेखेको पत्र तयार गरियो र हतारहतारमा हवाईमार्गबाट नेपालगञ्ज पुर्‍याइयो ।

त्यसपछि सर्वोच्च अदालतले यो विषयमा गत आईतबार नै आदेश जारी गरेपनि प्रहरीले रुबीलाई पक्राउ परेको र बाँके पुर्‍याइएकोवारे यथार्थ जानकारी दिएन । दोस्रो निवेदन दिएपछि मात्रै सर्वोच्च अदालतले उनलाई बाँकेबाट कहीपनि नलैजान र महानवमीको दिन अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

रुबी पक्षधरहरुको भनाई अनुसार, उनी केही सातादेखि नेपालगञ्जमा हिंसा पिडितमाथि न्याय हुनुपर्ने माग राखी धर्नामा थिइन । त्यतिबेला प्रहरीले उनलाई सोधपुछ र पक्राउ गरेन । त्यसपछि प्रदेश प्रमुखको कार्यालयअगाडी पनि उनीहरुले धर्ना दिए । उनी जिल्ला प्रशासन कार्यालयअगाडी त १९ दिन धर्नामा बसेकी थिइन्।

उनीहरु पैदलै हिडेर काठमाण्डौं आएर धर्ना दिनथालेपछि लुम्बनी प्रदेश प्रहरी कार्यालयकै उच्च अधिकारीहरुले अलि बढी नै ‘एक्टिभिज्म’ गरेकाले पक्राउ गरेको भनी मातहतका प्रहरीलाई बताउने गरेका थिए । प्रहरी मुख्यालय स्रोतले भन्यो, ‘रुबी खान पठानको पुरानो मुद्दा हेर्नुपर्छ र मिल्ने भए त्यसलाई फेरी अनुसन्धान गर्नुपर्छ भनेर निर्देशन आएको थियो ।’

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी मुकुन्दराज आचार्यले जिल्लामा विचाराधिन विषयवस्तुमा आफूहरु कसैले पनि हस्तक्षेप नगरेको दावी गरे । उनका अनुसार, मुख्यमन्त्रीले समेत यो विषयमा चासो राखेकाले आफूहरुले जिल्ला प्रहरी कार्यालयमा सतर्कतापूर्वक मुद्दा हेर्न निर्देशन दिएको उनको प्रतिक्रिया दियो । ‘जिल्लाले पनि जाहेरीका आधारमा तथ्यप्रमाण केलाएर अनुसन्धान अघि बढाएको हो’ उनले भने, ‘अनावश्यक रुपमा आरोप र लाञ्छना लगाउनु भनेको प्रहरी संगठनलाई नै बदनाम गर्ने प्रयास हो।’

रुवीको पक्षमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेकी मानव अधिकार आयोगकी पूर्व सदस्य एवं अधिवक्ता मोहना अन्सारीका अनु्सार, प्रहरीले रुबीलाई आफ्नो स्वार्थ अनुसार झुटो मुद्दामा फँसाउन खोजेको देखिन्छ ।

‘रुबीले आन्दोलन नथालुञ्जेल प्रहरीलाई यी विषयवारे कुनै चासो र मतलब थिएन’ अन्सारीले अनलाईनखबरसँग भनिन्, ‘आफूहरुको भूमिकामाथि नै प्रश्न उठ्न थालेपछि प्रहरीले सबैतिर कागजात मिलाएर उनलाई दशैं विदाको अघि पठाउ गर्ने र लामो समय थुनामा राख्ने राणनीति बनाएको देखिन्छ।’ रुबीले आन्दोलनका दौरान हिंसाको घटनामा एसपी लगायत केही प्रहरी अधिकारीहरुको नामै लिएर उनीहरुमाथि छानविन हुनुपर्ने माग राखेकी थिइन्।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?