+
+

बालबालिकालाई कोरोनाबाट कसरी जोगाउने ?

दशैंमा आफन्त आफन्तबीच बढी घुलमिल हुने हुन्छ । त्यसमा पनि बालबालिकाहरू स्वभावले पनि बढी घुलमिल हुन्छन् । थुप्रै दिनपछिको भेटघाटमा उनीहरू लाडिने, काखमा बस्ने, अँगालो हालेर रमाउने, खेल्ने लगायतका व्यवहारहरू देखाउँछन् । यस्तो बेलामा संक्रमणको बढी जोखिम हुन्छ ।

प्रेम लामा प्रेम लामा
२०७८ असोज २८ गते २०:४४
फाइल तस्वीर

२८ असोज, काठमाडौं । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण केही मत्थर देखिएको छ । जोखिम भने कायमै रहेको चिकित्सकहरू बताउँछन् ।

दशैंको समयमा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जाने, घुलमिल हुने गर्छन् । यसले पनि संक्रमणको जोखिम बढ्ने भएकाले सावधानी अपनाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । किनभने बालबालिकाले अहिलेसम्म कोरोनाको खोप नपाएकाले संक्रमणको उच्च जोखिममा उनीहरू नै बढी हुन्छन् ।

पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिकामा संक्रमण हुने दर उच्च छ । पहिलो लहरमा १० वर्षभन्दा मुनिका २.३ प्रतिशत र १० देखि २० वर्षका बालबालिकामा करिब ८ प्रतिशतको हाराहारीमा संक्रमण भएको थियो । तर दोस्रो लहरमा संक्रमण दर १० प्रतिशतभन्दा माथि पुगेको छ ।

संक्रमणदर बढेसँगै यसको सघनदर, अस्पताल भर्ना हुने दर र मृत्युदरसमेत स्वतः वृद्धि हुने बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराई बताउँछन् ।

डा. धर्मागत भट्टराई

पेडियाट्रिक इम्युनोलोजिस्ट समेत रहेका डा. भट्टराई भन्छन्, ‘वयस्कहरू पहिलो लहरदेखि नै धेरै संक्रमित हुँदै आएका छन् । दोस्रो लहरसम्म आइपुग्दा उनीहरुमा इन्फेक्सनका कारण पनि इम्युनिटी पावर डेभलप भइसकेको अवस्था छ । प्रायः उनीहरूले खोप पनि पाइसकेका छन् । यस्ता व्यक्तिमा संक्रमणले त्यति असर नगर्ने तर घरमा गएर बालबालिकामा भाइरस सार्ने जोखिम उच्च हुन्छ ।’

वयस्कभन्दा बालबालिका संक्रमित कम किन ?

डा. भट्टराईका अनुसार विश्वभर संक्रमित हुने बालबालिकाको एकीकृत तथ्यांक आएको छैन । अहिलेसम्म सार्वजनिक भएको तथ्यांक अनुसार ६५ देखि ८० प्रतिशत बालबालिकाहरु लक्षणविहीन हुन्छन् । १५–२० प्रतिशत बालबालिकामा सामान्य परामर्शको आवश्यक पर्ने खालको रुघा, खोकी, ज्वरो आउने जस्ता लक्षण देखापर्छ । ७ प्रतिशतभन्दा कमलाई अस्पताल लैजानुपर्ने वा भर्ना गर्नुपर्ने र २ प्रतिशतभन्दा कमलाई चिकित्सकको निगरानी आवश्यक पर्ने देखिएको छ ।

डा. भट्टराई भन्छन्, ‘यो तथ्यांकको तुलनामा संक्रमण भएका ठूलो संख्याका वयस्कलाई चिकित्सकको परामर्श आवश्यक पर्ने, अस्पताल लैजानुपर्ने, सघन उपचार कक्षको आवश्यक पर्ने देखाउँछ । यसले के बताउँछ भने वयस्कमा भन्दा बालबालिकामा कोरोना संक्रमणले हुने गम्भीर कम हुन्छ ।’

यस्तो किन हुन्छ ?

डा. भट्टराईका अनुसार इम्युनोलोजिकल हिसाबले यसका तीन कारण छन् :

पहिलो : कोरोना भाइरस आरएनए भाइरस हो । यो आरएनए भाइरस चाहिँ मल्टिपल आरएनए भाइरसहरू बच्चामा पहिले नै इन्फेक्सन भइसकेको हुन्छ । यसले क्रस प्रोटेक्सन गर्छ ।

दोस्रो : बच्चामा सेल मेडियटेड इम्युनिटी एकदमै फ्रेस हुन्छ । थाइमसभन्ने अर्गानबाट निर्धारित हुन्छ । यो बच्चामा अत्यन्तै प्रभावकारी र चुस्त हुन्छ । जुनकुरा उमेर ढल्दै जाँदा जेष्ठ नागरिकमा चाहिँ ती सेल मेडियटेड इम्युनिटी कमजोर हुँदै जान्छ ।

तेस्रो : कोरोनालाई एट्याच हुनका लागि एसीई भन्ने रिसेप्टरको आवश्यक हुन्छ । बच्चामा यसको संख्या कम हुन्छ । एट्याचमेन्ट गर्ने अव्यय नै कम हुने भएकोले संक्रमण हुने सम्भावना पनि कम हुन्छ ।

बालबालिका बढी जोखिममा किन ?

दशैंमा मामा घर जाने, काकाको घर जाने, बुढ्यौली घर जाने भन्ने परम्परा छ । यस्तै गाउँघरमा टोल टोलमा पिङ थापिने चलन छ । पिङमा विशेष गरी बालबालिका बढी झुम्मिने गर्छन् । पिङमा हुने भीडभाड, धेरै परिवारसँगको घुलमिलले संक्रमण सर्ने जोखिम उच्च हुने डा. भट्टराई बताउँछन् । आरएनए भाइरसहरू सजिलै एकबाट अर्को व्यक्तिमा सर्न सक्छ । कोरोना भाइरस ड्रपलेट इन्फेक्सनबाट सजिलै सर्छ । सास फेर्दा नाक, मुखबाट निस्कने ड्रपलेट हाम्रो शरीरको विभिन्न भागमा रहन सक्छ । जहाँबाट संक्रमण सर्न सक्छ ।

डा. भट्टराई भन्छन्, ‘आरएनए भाइरसहरु छिट्टै म्युटेसन हुन्छन् । यसले आफ्नो स्वरूप परिवर्तन गरिरहन्छ । फरक प्रकृतिको वातावरण र फरक किसिमको होस्टमा बस्छ, त्यो वातावरणमा बस्न यो भाइरस म्युटेसन हुन्छ । म्युटेसनको क्रममा डेल्टा भेरियन्टभन्दा बढी संक्रामक देखिने भाइरस फेला पर्न सक्छ । जसले जोखिमलाई बढाउँछ । त्यसैले बढी सावधानी अपनाउनु जरुरी छ ।’

दशैं नेपालीको सबैभन्दा ठूलो चाड हो । यो चाडमा आफन्त आफन्तबीच बढी घुलमिल हुने हुन्छ । त्यसमा पनि बालबालिकाहरू स्वभावले पनि बढी घुलमिल हुन्छन् । थुप्रै दिनपछिको भेटघाटमा उनीहरू लाडिने, काखमा बस्ने, अँगालो हालेर रमाउने, खेल्ने लगायतका व्यवहारहरू देखाउँछन् । यस्तो बेलामा संक्रमणको बढी जोखिम हुने डा. भट्टराई बताउँछन् ।

संक्रमणबाट कसरी जोगाउने ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं बालरोग विशेषज्ञ डा. कृष्ण प्रसाद पौडेलले कोरोना स‌ंक्रमणबाट बालबालिकालाई बचाउने सबैभन्दा महत्वपूर्ण भूमिका अभिभावकको हुने बताउँछन् । अधिकांश समय बालबालिकासँगै रहने अभिभावकले संक्रमणबाट बचाउन उच्च सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।

डा. कृष्ण प्रसाद पौडेल

बालबालिकाको नजिक आउँदा, बालबालिकालाई समाउँदा, उनीहरुसँगै बस्दा, खाँदा, रमाइलो गर्दा बढी अभिभावकहरूले बढी सावधानी अपनाउनु पर्ने उनले बताए ।

भाइरस जुनसुकै सर्फेसमा पनि हुन सक्ने भएकोले बाहिर घुलमिल भएर घर फर्किँदा कपडा फेर्ने, नुहाउने लगायतका सावधानी अपनाएर मात्रै बालबालिकाको सम्पर्कमा आउन उनको सुझाव छ ।

टीकाको कार्यक्रममा सावधानी अपनाऔं

टीका लगाउने कार्यक्रम डब्ल्युएचओको गाइडलाइन अनुसार भौतिक दूरी कायम गरी गर्न सम्भव हुँदैन । तर पनि टीका लगाइदिने व्यक्ति र टीका ग्रहण गर्ने बालबालिका दुवै पक्षले सावधानी अपनाउन भने सकिन्छ । जसले गर्दा संक्रमण सर्ने जोखिम कम हुन्छ । बालबालिकालाई टीका लगाइदिँदा र आशीर्वाद दिँदा सावधानी अपनाउन डा. भट्टराई सुझाव दिन्छन् ।

बालबालिकालाई एमआईएससी हुनबाट बचाउन उनीहरूको शरीरमा कोरोना भाइरस छिर्न नदिनु नै उचित उपाय हो ।
  • खुला ठाउँ जस्तै घरको आँगन वा छतमा टीकाको कार्यक्रम आयोजना गर्ने ।
  • टीका लगाउँदा अभिभावक र बालबालिकाले सही तरिकाले अनिवार्य मास्कको प्रयोग गर्ने ।
  • टीका लगाइसकेपछि टीका लगाउने र टीका थाप्ने दुवै व्यक्तिले सफासँग हातधुने वा सेनिटाइज लगाउने ।
  • आलोपालो गरेर टीका लगाउने ।
  • खानपिनको व्यवस्था पनि खुला ठाउँमा दूरी कायम गरी आयोजना गर्ने ।
  • कोरोनासँग मिल्दो लक्षण भएका परिवारका सदस्य भए टीका तथा खानपिनको कार्यक्रममा सहभागी नहुने ।
  • टीकाको कार्यक्रममा परिवारका कोर सदस्य जस्तै प्रायः हरेकदिन घुलमिल भएका सदस्य मात्रै सहभागी हुने ।

एमआईएससी हुनबाट जोगाऔं

कोरोना संक्रमण भएका बालबालिकामा मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआईएससी)को समस्या देखिन सकिने सम्भावना हुने डा. भट्टराई बताउँछन् । सामान्यतया कोरोना संक्रमण भएको दुईदेखि चार हप्तापछि बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला जस्ता अंग सुनिने समस्या हुन्छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार निकै कम मानिसमा देखिने यो रोग खतरनाक पनि हुन सक्छ ।

अमेरिकामा एमआईएससीको समस्या देखिएको ४,१३६ जनामध्येमा ४० जनाको मृत्यु भएको डा. भट्टराई बताउँछन् । तर नेपालमा १०० जनामा एमआईएससीको समस्या देखिएकोमा १८ जनाको मृत्यु भएको छ । जुन मृत्युदर उच्च हो ।

तथ्यांकअनुसार कोरोना भएका बालबालिकामा कम संख्यामा एमआईएससीका बिरामी थोरै भेटिए पनि यसको समस्या हुने सम्भावना प्रवल रहेको डा. भट्टराईको भनाइ छ ।

बालबालिकालाई एमआईएससी हुनबाट बचाउन उनीहरूको शरीरमा कोरोना भाइरस छिर्न नदिनु नै उचित हुने डा. भट्टराई बताउँछन् । यसका लागि अभिभावक सचेत हुनु जरुरी रहेको उनको भनाइ छ ।

लेखकको बारेमा
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?