+
+

कोरोनाका कारण यसवर्ष कुमारीलाई ल्याइएन दसैँघर

सर्वसाधारणका लागि तलेजु खुला

रासस रासस
२०७८ असोज २८ गते १६:१०

२८ असोज, काठमाडौं । हरेक वर्ष महानवमीको दिनमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर यस वर्ष सर्वसाधारणलाई खुला गरिएको छ ।

कोरोनाका कारण गत वर्ष सर्वसाधारणका लागि खुल्न नगरिए पनि यस वर्ष सर्वसाधारणका लागि मन्दिर खुला गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने गदर्छ । कोरोना भाइरसको प्रभावका कारण यस वर्ष पनि तलेजुमा बलिरहित औपचारिक पूजा मात्रै गरिएको उनले जानकारी दिए ।

फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिँदै आएकामा पहिलो पटक यस वर्ष बलिरहित रूपमा तलेजुको पूजा गरिएको उनले बताए ।

सत्रौँ शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको किंवदन्ती छ । किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एकपटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसहरूको घुइँचो लाग्ने गर्दछ ।

एक अर्को किंवदन्तीका अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीका रूपमा प्रवेश गरेको जनविश्वास छ। त्यसबेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीका रूपमा पुजिन थालेको हो ।

कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएर पछि काठमाडौं र ललितपुरमा विस्तार भएको भक्तपुर तलेजुका मूल नाइके जोशीले बताए । हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म जीवित कुमारीलाई तलेजुस्थित दसैं घरमा ल्याएर तान्त्रिक विधिपूर्वक विराजमान गराई पूजा गर्ने परम्परा यो वर्ष पनि टुटेको छ ।

यसवर्ष नियुक्त गरिएको नयाँ कुमारी लुनिभा बज्राचार्यलाई आज तलेजुस्थित दसैंघर ल्याएर पूजा गर्ने परम्परा पनि यस वर्ष रोकिएको छ । कोरोनाकै कारण कुमारीलाई तलेजुमा नल्याइए क्वाठण्डौँस्थित कुमारी घरमा राखिएको र आज नवमीमा तलेजुबाट पूजा लिएर क्वाठण्डौँमै गएर कुमारीको पूजा गरिएको नाइके जोशीले जानकारी दिए । भोलि विजयादशमीको टीका पनि साइतमै क्वाठण्डौँस्थित कुमारी घरमै लगाइने भएको उनले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?