+
+

चरिकोट अब त सहर भएछ

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७८ असोज २९ गते १८:५४

चरिकोट अब त सहर भएको छ । उफ ! धुवाँ, धुलो, असरल्ल सवारी साधन, मानिसको भीड । म रमाउने गरेको चरिकोट अब कहाँ रह्यो र । झन् अहिले त दशैंको रौनक । फूलपातीसम्म त मानिस छलेर हिँड्नै हम्मेहम्मे पर्छ चरिकोटमा । अनि पूर्णेसम्म सुनसान ।

चरिकोटमा आजकालको भीडभाड देख्दा म ४० वर्षअघिको पाइप गुडाएर हिँड्ने त्यो गोरेटो खोजिरहेको छु । अनि त्यतिबेलाको दशैंको दैनिकी सम्झिरहेको छु । कक्षा चारबाट उकालो लाग्दै जाँदा मेरो दैनिकी घरको आगनीमा आमाको फेरो समाएर भाँडाकुटी खेल्ने रहरबाट पाइपको मोटर बनाएर मध्य सडकमा गुडाउने तहमा विकास भैसकेको थियो ।

गोरेटोलाई खोस्रिएर सडक बनाउने जमर्को भैरहेको चरिकोटमा निस्फिक्री पाइपको मोटर गुडाउन पाउँदा न भोकको आभाष, न भविष्यको त्रास । चार बजे घण्टीको आवाजसँगै स्कुलबाट खुरुरुरु दौडँदै घरको छिँडीमा आएर फ्यात्त झोला फ्याक्यो अनि पाइपको मोटर टिपेर कुलेलाम ।

पाइप गुडाएर सातदोबाटो र पशुपति डाँडाको फन्को लगाउँदा गलेर लखतरान । के–के न काम गरेर आएजस्तो घरमा आमालाई दङ्गाएर सके दूधभात नै खान खोज्ने । आहा ! कति लोभलाग्दो समय । खेल्नलाई साथी नि नचाहिने, समय नि नचाहिने । पाइप नै साथी पाइप नै संसार ।

दशँैको त झन् कुरै नगरौं । वर्ष दिनमा एकपटक नयाँ लुगा लगाउन पाउने खुसीले पूरै शरीरमा अनौंठो कम्पन । आमाले कताकताबाट पैसाको जोहो गरेर मलाई प्रत्येक वर्ष नयाँ लुगा किनिदिनु हुन्थ्यो । तर समयमा नयाँ लुगा तयार नहुँदा भने बाल आक्रोश खपिनसक्नु ।

घरबाट त्यही सय मिटरको दूरीमा हामीलाई नयाँ लुगा सिलाइदिने मामाको घर थियो । नयाँ लुगा सिलाउन जतिदिन अगाडि दिएपनि टीकाको दिन बिहानैबाट केही घण्टा ती मामाको घरमा धर्ना नदिँदासम्म लुगा तयार हुन्छ भन्ने नचिताए पनि हुन्थ्यो ।

रिसले र्‍याल सिगान हुँदै नयाँ कपडा च्यापेर घरतिर दौडँदा मनमा बिस्तारै खुसी फर्कन्थ्यो । अनि नयाँ कपडा फेरेर पैसाको आसमा पुरानो बजारको घरघर टीका थाप्न जाँदाको रमाइलो शब्दमा कसरी बयान हुन्छ र ? खासमा बाल अवस्थामा नाता न गोता घर घरमा पुगेर टीका थाप्नुको अर्थ ठूलासँग आशीर्वाद थाप्ने कुरासँग सम्बन्धित हुँदैन थियो ।

कसरी हुन्छ धेरै पैसा बटुलेर चकलेट खाने, नयाँ कपडा किन्ने, खेलौना किन्ने कुरासँग सम्बन्धित हुन्थ्यो। तर त्यसले कताकता समाजका सबैसँग एक प्रकारको आत्मीय सम्बन्ध बिस्तार गरिरहेको हुन्थ्यो । संस्कारको निरन्तरता, सभ्यताको विकास र संस्कृतिको संरक्षणमा टेवा पुगिरहेको हुन्थ्यो ।

अहिलेको दशैंमा म बजारलाई नियाल्छु । नयाँ कपडा लगाएर हातेमालो गर्दै हिँड्ने युवतीहरूको हुलले बजार छपक्क छोप्छ । दशैंको उत्साह त अहिले पनि देखिन्छ बालबालिका र युवा युवतीहरूमा । तर त्यतिबेला रिसले र्‍याल सिँगान हुँदै घण्टौ पर्खिएर लगाएको नयाँ कपडा र अहिले फेन्सी पसलमा पसेर किनेको रेडिमेट कपडाको मोह र महत्वमा आकाश जमिन फरक छ । आफ्नो शरीरको नापमा टिमिक्क मिलाएर सिलाएको कपडा र कसको कसको नाममा तयार गरिएको रेडिमेट कपडाले दिने चमक कहाँ उस्तै हुन्छ र ।

अहिले त संस्कार, सभ्यता र संस्कृतिमा समेत स्खलन आइसकेको छ । टोलभरिका आफन्त भेला भएर पुरानो बजारको ठूलो पाटो भएको बारीमा राँगो काटेर भागलगाएको देख्दा सामाजिक एकता झल्कने आभाष हुने त्यो समय र पसलमा पुगेर फ्रिजमा भएको मासु किनेर दशैं मनाउने यो समय कसरी एउटै हुन सक्छ । समयलाई रोक्न सकिन्न, परिर्वतनशील छ । तर परिर्वतनले सामाजिक एकता, सांस्कृतिक विचलन र आपसी वैभव निम्ताउँदा नेपालीपन हराउँदै जाने डर भएको छ ।

त्यतिबेलाको दशैमा चरिकोटमा सबै आफन्त जम्मा हुन्थे । चहलपहल बढ्थ्यो । आफन्तहरू भेटघाट गर्थे र आफ्नो कर्मको फेहरिस्त सुनाउँदै आत्मीयता साँट्थे । अब त चरिकोटमा दशैं बोलाउन आउने मानिसले फूलपातीसम्म झिँझारिलो भीड बडाउँछ अनि अष्टमी, नवमी हुँदै दशैंको टीकाको दिनसम्ममा सुनसान ।

अब त चरिकोटका घरहरूमा अष्टमी तथा नवमीमा खसी बोका काट्ने प्रचलन लगभग निमिट्यान्न भैसकेको छ । दशैंमा सुकाएर राखेको खसीको मासु तिहारमा मुलासँग मिसाएर खान्थेभन्दा अहिलेको पुस्ताले सत्य युगको कुनै दन्ते कथा सुनाए जस्तो ठान्न थालिसकेका छन् ।

लिङ्गे पिङ र लोटेपिङ पनि अब कहानी हुन थालिसकेको छ चरिकोटमा । बच्चाहरुले पिङ्को साह्रै हत्या गरे बरण्डामा डोरी टाँगेर मच्चिने व्यवस्था गरिएबाहेक टोल छिमेकका सबै जम्मा भएर आपसी सद्भाव बाँड्दै टीकाको दिन भुइँ छोड्ने परम्परा त हराइसकेको छ ।

म हुर्केको, बढेको मामाघरमा हरेक दशँैमा कमेरो छ्याप्दा कस्तो रौनक छाउँथ्यो । घरमा सखारै कमेरो आइपुग्दा अब दशैं आउन लागेछ, नयाँ लुगा र पैसा आउने भयो भनेर बाल मस्तिष्क साह्रै रमाउँथ्यो । कमेरो छ्याप्ने बेला एउटा कोठाको सामान अर्कोतिर सार्न कति रहर लाग्ने । आमाले त जान्दैनस्, सक्दैनस् भनेर हर्कादा पनि जबरजस्ती गर्नुपर्ने । सानुबुबा, मामा, दाजुहरुसँग बसेर भुटेको मकै र मुला खाँदै पारिलो घाममा तास खेलेको सम्झना पनि कम्ती प्रिय छैन ।

विशेष अवसरमा रमाइलोको लागि खेलिने तासले विकृति हैन विश्वास बढाउँथ्यो । अहिले त दशैं आउनै पर्दैन दशैंको नाममा सधैँ दशा निम्ताउन तल्लीन हुन्छन् नौजवानहरु । विश्वास बढाउने हैन विकृति बढाउने तहमा पुगेको छ खेलबाड ।

दशैं अहिले पनि आउँछ प्रत्येक वर्ष त्यसैगरी, जसरी विगतका वर्षहरूमा आउने गथ्र्यो । चरिकोट सहर भएको छ, म प्रौढ भएको छु । त्यसैले दशैंको परम्परा फेरिएको छ । अब मलाई घरघरमा पुगेर मान्यजनको हातबाट टीका थाप्ने जाँगर छैन किनभने अहिले हामीसँग सभ्यता र संस्कार छैन ।

पर्वलाई परम्परासम्म पनि ठान्न छाडिसकेका छौँ हामीले । उबेला चरिकोटको सातदोबाटोमा रहेको लाकुरीको रुखले सभ्यता प्रतिबिम्बित गथ्र्यो । अब लाकुरीको रुखमात्र ढलेको छैन, सातदोबाटो हँुदै भित्रिएको विकृतिले सभ्यतालाई थिलथिलो बनाएको छ, संस्कारलाई विकृत र संस्कृतिलाई बिचलित पारिदिएको छ ।

दशैंमा घर पोत्न कमेरो बोक्ने ती पौरखी हातहरु कहाँ गए होलान् ? घण्टौं कुराएरै भएपनि नेपाली पनको सुहाउँदो पहिरन बनाउने ती मामाको सीप किन बाँडिएन होला ? ठूलो बारीको पाटोमा जम्मा भएर राँगो भाग लगाउने एकता किन हराएको होला ? त्यो समय त फर्कँदैन, त्यो दशैं त फर्कँदैन ।

के त्यो सभ्यता, संस्कार, संस्कृति र एकता फर्काउन सकिन्न ? यो दशैंमा म चरिकोट सहरको खुला सडकमा त्यसैगरी पाइपको मोटर गुडाउन चाहन्छु । आत्मीयता बढाउन प्रत्येक मान्यजनको घरमा पुगेर टीका थाप्न चाहन्छु । पैसा जोहो गरिदिन मेरी आमा छैनन्, त्यसैले नयाँ लुगा नभएपनि सभ्यताको दशैं मनाउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment