+
+
विदेशिएको छोरालाई बाबुको पत्र :

यस्तो आशीर्वाद म कसरी दिन सक्छु र छोरा ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते १३:०३

प्यारो छोरा !

धेरै धेरै सम्झना अनि शुभ आशिर्वाद !

तिमी आफ्नो लक्ष्यलाई पूरा गर्न घरपरिवार, साथीभाइ, चाडपर्व अनि बाआमाको मायाममतालाई चटक्कै छाडेर विदेशिएको पनि तीन वर्ष पूरा भयो । तिमीले जुन उद्देश्य लिएर विदेशमा पढ्ने चाहना राख्यौ, त्यो पूरा गर्न तिम्रो त्याग अवश्य पनि प्रशंसनीय छ । तिमी यहाँ हुँदा मनाइने चाडपर्वमा जुन रौनकता हुन्थ्यो, त्यो रौनकतामा अहिले कमी आएको महसुस हामीले गरेका छौं । तर पनि तिम्रो लक्ष्यलाई पूरा गर्न हामी दृढ संकल्पित छौं र सफलताको कामना गर्दछौं ।

यस वर्षको दशैं आएदेखि नै तिम्रो याद बढ्न थाल्यो । दुर्गम गाउँमा भएका कारण तिमीसँग देखेर गफ गर्न (भिडियो कल) पनि मिल्दैन । कहिलेकाहीँको फोन सम्पर्कले तिम्रो रूपरंग अनि हाउभाउ हेर्ने उत्कट अभिलाषा जागेर आउँछ ।

मनलाई सम्हाल्दै कुराकानी गर्न थाल्यो, सन्चो बिसन्चोमै मोबाइलको रिचार्ज-चार्ज सकिँदा मन झनै कुँडिएर आउँछ । तिम्री आमालाई त बोली सुन्न पुगेकै हुँदैन । बहिनी पनि कुरा गर्न उत्साहित हुन्छे । तर, ब्याट्री र पैसाको पर्याप्त जोहो गर्न नसक्दा एकोहोरो बोली सुनेरै चित्त बुझाउन विवश हुन्छौं ।

अब त यसपालिको दशैं पनि सकिन लाग्यो । घटस्थापनाका दिन थापिएको नवदुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा लगाइदिएर शुभ आशीर्वाद दिने पहिलो दिन अर्थात् विजया दशमी ! घरघरमा ठूलाले सानालाई टीका तथा जमरा लगाइदिएर विभिन्न आशिर्वाद दिने परम्परा नेपाली समाजमा रहेको तिमीलाई अनुभव छँदै छ । तिमीलाई दशैंमा टीका लगाइदिँदा मेरो बुबाले आशिर्वाद दिँदै भन्नुभएको मन्त्रको अर्थ याद छ कि छैन ? त्यस्तै आशिर्वाद म पनि दिऊँ कि भन्छु, तर मेरो मनले मान्दैन ।

संस्कृतमा दिनुभएको आशिर्वाद यस्तो थियो :

आयुः द्रोण सुते श्रीयं दशरथे शत्रुक्षयं राघवे

ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।

सौर्य शान्तनवे बलं हलधरे सत्य   ञ्च कुन्तीसुते

विज्ञाने विदुरे भवति भवतां कीर्तिश्च नारायणे ।

अर्थात् द्रोणाचार्यका छोरा (अश्वत्थामा)को जस्तो आयु होओस्, राजा दशरथको जस्तो यश÷कीर्ति प्राप्त होओस्, राघव (रामचन्द्र)को जस्तो शत्रु क्षय (शत्रु नाश गर्ने) शक्ति होओस्, नहुष राजाको जस्तो ऐश्वर्य (धनसम्पत्ति) होओस्, पवन (हावा)को जस्तो गति होओस्, दुर्योधनको जस्तो मान (सम्मान) होओस्, शन्तनु राजाको जस्तो सौर्य (पराक्रम) होओस्, हलघर (बलराम)को जस्तो बल होओस्, कुन्तीपुत्र (युधिष्ठिर)को जस्तो सत्यवादिता होओस्, विदुरको जस्तो विज्ञान (ज्ञान) होओस्, नारायणको जस्तो कीर्ति होओस् ।

यस्तै आशीर्वाद दिने मन छ । तर, अहिलेको सन्दर्भमा त्यति मेल खाँदैन । मेल खाने नै भए पनि किन हो किन ती आशिर्वाद मलाई त्यति उचित लाग्दैनन् । ती महापुरुषजस्तै हुने जुन आशिर्वाद दिइएको छ, उनीहरूको जीवन पनि पूर्णतः आदर्शयुक्त थिएन भन्ने दृष्टान्त तिनै पौराणिक कथा-गाथाबाट स्पष्ट हुन्छ ।

आशिर्वादमा द्रोणाचार्यका छोरा (अश्वस्थामा)को जस्तो आयु होओस् भनिएको छ । तर, अश्वत्थामाले अमर हुने शक्ति पाए भन्दैमा म त्यस्तो आशिर्वाद दिन सक्तिनँ । महाभारतको युद्धमा उनी कौरवको पक्षमा लागेका थिए, जब कि उनीहरूलाई असत्यको पक्षपाती मानिन्थ्यो । जानाजान म तिमीलाई असत्यको पक्षमा लाग, तर लामो समय बाँच म कसरी भनूँ ? त्यो आयु तिमी आफैंलाई बोझ नबनोस् भन्ने मेरो चाहना हो ।

राजा दशरथको जस्तो यश-कीर्ति फैलियोस् भनेर आशीर्वाद दिइन्छ । तर उनमा पनि कमजोरी थिए । उनमा रहेको शक्तिको घमण्डले अन्धा बाबुआमाले प्यारो छोरा श्रवणकुमारलाई गुमाउनुपर्यो । पत्नीको ढिपीका अगाडि आफ्नो प्यारो छोरालाई आफंैले वनवासको आदेश दिए । त्यही आत्मग्लानीले थलिएर पुत्रशोकमा डुबे । त्यस्तो नहोओस् भन्ने मेरो चाहना हो ।

राघव (रामचन्द्र)को जस्तो शत्रु क्षय (विनाश गर्ने) शक्ति होओस् आशिर्वादमा भनिन्छ । साक्षात् विष्णुका अवतार रामचन्द्रलाई आदर्श पुरुष, मर्यादा पुरुष पनि भनिन्छ । तर, उनले पनि युद्धमा छल गरेर शत्रुलाई हराए, बिना कारण पत्नीलाई त्यागे । त्यस्तै बन भनेर म कसरी भन्न सक्छु ?

नहुष राजाको जस्तो ऐश्वर्य (धनसम्पत्ति) होओस्, पवन (हावा)को जस्तो गति होओस्, दुर्योधन (जो अहंकारी, दुराचारीका रूपमा चिनिन्छ)को जस्तो मान (सम्मान) होओस्, शन्तनु (भौतिक सुखभोगका लागि छोराको खुसी खोस्न तयार) राजाको जस्तो सौर्य (पराक्रम) होओस्, हलघर (बलराम)को जस्तो बल होओस्, कुन्तीपुत्र (युधिष्ठिर)को जस्तो सत्यवादिता होओस्, विदुरको जस्तो विज्ञान (ज्ञान) होओस्, नारायणको जस्तो कीर्ति होओस् भनेर मन्त्रमा भनिए पनि ती महापुरुषमा कुनै न कुनै पक्ष कमजोर थिए । त्यस्तो कमजोरी तिमीमा होओस् भनेर म कसरी आशिर्वाद दिन सक्छु ?

यी त भए पौराणिक कथामा वर्णित महान् पुरुषजस्तै बन्न भनेर दिइने आशिर्वाद । अब आधुनिक आदर्शवान् व्यक्ति बन्नका लागि दिइने आशिर्वादका कुरा गरौं ।

म सानो छँदा संस्कृतको वाक्य सकिएपछि नेपालीमै डाक्टर बनेस्, इन्जिनियर बनेस्, वकिल बनेस् भनेर आशिर्वाद दिनुहुन्थ्यो मावली हजुरबाले । काकाकाकी, मामामाइजूको आशिर्वाद पनि त्यस्तै हुन्थ्यो । म हुर्कँदै गएँ, समाजलाई नियाल्दै गएँ । पछिल्लो समयमा नेता (मन्त्री) बनेस्, कलाकार बनेस्, पत्रकार बनेस्, व्यापारी बनेस् पनि भन्न थालियो । तर, मलाई ती आशिर्वाद पनि दिऊँ जस्तो लाग्दैन । समाजमा जेजस्तो पेसा अपनाएर नाम र दाम कमाएका छन्, तिनीहरूको आचरण हेर्दा त तिमी यो समाजको मान्छे नबन भनेको जस्तो लाग्छ । तर, के म त्यसो भन्न सक्छु ?

डाक्टरलाई समाजमा उच्च सम्मानका साथ हेरिन्थ्यो । हरेक व्यक्तिलाई रोग लाग्छ, उपचार गर्नुपर्छ । रोगले ग्रस्त भएका बेलामा डाक्टरको उपचारले पुनर्जीवन पाएपछि साक्षात् भगवान् नै मान्न सकिन्थ्यो । तर, अहिलेको डाक्टरी पेशा (केहीलाई छाडेर) पैसामा बिक्न लागेको स्पष्ट देखिन्छ । पैसाका लागि अनेक औषधि दिने, सामान्य उपचारलाई पनि जटिल बनाउने, उपचारलाई परीक्षणमा राखेर अर्काको जीवनमाथि खेलवाड गर्ने प्रवृत्ति बढेर आएको देख्दा म तिमीलाई डाक्टर बन भन्न सक्दिनँ । अनि डाक्टर पढ्न लाग्ने खर्च देखेर पनि सामान्य जीवनस्तर भएका आमाबुबाको मनै अत्तालिन्छ, अनि कसरी डाक्टर बन भन्ने ?

समाजको विकासमा महत्वपूर्ण योगदान दिने इन्जिनियर हुन् । बाटोघाटो, पुलपुलेसा निर्माणमा योगदान दिई राष्ट्रलाई विकासपथमा अग्रसर गराउने इन्जिनियर समाजका सम्मानित व्यक्ति हुन् । तर, ठेकेदारको मोलमोलाइमा बिकेर कमसल निर्माणलाई पनि सदर गर्दै आफ्नो भुँडी भर्न र राज्यकोषको दुरूपयोग गर्न उद्यत इन्जिनियरको जीवनशैली देख्दा म तिमीलाई इन्जिनियर बन भन्न सक्दिनँ ।

समाजमा न्यायको स्थापना गर्ने वकिल सबैका सम्मानित व्यक्ति हुन् । न्याय र अन्यायको छिनोफानो गरी आफ्नो मर्यादा कायम राख्दा उनीहरूको उचाइ समाजमा चुलिन्थ्यो र सम्मान पनि उत्तिकै हुन्थ्यो । तर आजको न्यायपालिका पैसा र पावर (शक्ति)मा बिकेको स्पष्ट देखिन्छ । पैसा धेरै पाएपछि कालोलाई सेतो र सेतोलाई कालो बनाउँछन् अहिलेका न्यायमूर्तिहरू । के त्यो सही हो त ? मेरो मनले भन्छ कालो कालै हुनुपर्छ र सेतो सेतै हुनुपर्छ । अन्यायमा परेका पीडितको आँसुलाई भुलेर पैसा र पावरमा मोजमस्ती गर्ने न्यायाधीश बन भनेर म तिमीलाई कसरी भन्न सक्छु र ?

राज्य सञ्चालनसम्बन्धी नीति बनाउने र कार्यान्वयन गर्ने÷गराउने व्यक्ति राजनीतिकर्मी (नेता) हो । तर अहिलेको नेता नीति बनाउँछन् आफू अनुकूल हुने गरी । कार्यान्वयन गराउँछन्, तर आफै भंग गर्छन् । पैसा र पावरका लागि मान्छेलाई मार्न त के टुक्राटुक्रा पार्न पनि पछि पर्दैनन् । शक्तिमा आउनका लागि नीतिलाई त्याग्छन्, हिजोको नीति आज आफैंलाई खराब लाग्छ पद पाउने भएपछि । अनि पद गुमेपछि भोलि फेरि त्यही नीति ठीक रहेछ भन्दै अर्को पद प्राप्तिमा ¥याल काढ्छन् । यस्ता स्वार्थी आचरण भएका राजनीतिक व्यक्तिको जीवन देखेर म तिमीलाई राजनीतिकर्मी (नेता) बन कसरी भन्न सक्छु ?

कलाकार राज्यका सम्पत्ति हुन् भनिन्छ । हो, कला साँच्चिकै व्यक्तिमा भएको अमूल्य निधि हो । त्यो अमूल्य निधि राज्यकै सम्पत्ति हुनुपर्छ किनभने कलाबाटै संसारको संरचना अगाडि बढेको छ । तर अहिलेको कलाकारिता देख्दा म तिमीलाई कलाकार बनभ नेर भन्न सक्दिनँ । अहिले कला देखाउने होइन, नाम र दाम कमाउने सजिलो माध्यम बनेको छ ।

साँच्चि भन्ने हो भने कला भनेको पर्दामा देखाइने हाउभाउ होइन, व्यवहारमा देखाइने हाउभाउ हो । एक आदर्शवान् कलाकार हुन उसको सम्पूर्ण जीवन आदर्शमय हुनुपर्छ । पर्दामा देखिएको आदर्श कलाकार समाजमा पनि आदर्शवान् नै देखिन सक्नुपर्छ । उसको त्याग आदर्श समाज निर्माणमा लाग्नुपर्छ । तर, अहिले त्यस्तो छैन ।

नाम र दाम कमाउनकै लागि जेजस्तो अभिनय पनि गरेको पाइन्छ । पैसाकै लागि अश्लील दृश्य देखाउनु के आदर्श व्यक्तिको नैतिकता हो त ? खाएको, सुतेको जस्ता (सबै हर्कत भन्नु उचित छैन) सामान्य मानिसले गर्ने कार्य गर्दैमा आदर्श हुने भए हरेक व्यक्ति कलाकार हो, फरक उसको कार्य क्यामेरामा कैद हुँदैन र अरुले हेर्न पनि पाउँदैनन् । अहिलेका नेपाली समाजमा चर्चित कलाकारका व्यक्तिगत जीवन हेर्न हो भने उनीहरूलाई आदर्श व्यक्ति मान्न सकिएला र ?

पर्दामा देखाएको आदर्शलाई समाजमा झल्काउन नसक्नेले अभिनयको नाटक गरेर दर्शकको आँखामा किन छारो हाल्नु ? अतः म तिमीलाई कलाकार बन भनेर आशिर्वाद दिन सक्तिनँ, बरु आफूलाई सरल लाग्ने आदर्श जीवनयापनमा लाग ।

पत्रकारितालाई राज्यको चौथो अंग मानिन्छ । समाजमा भएगरेका राम्रा–नराम्रा गतिविधि (घटना)लाई सबैका सामु प्रस्तुत गर्दै राम्रालाई अझ राम्रा बनाउन र नराम्रालाई राम्रा बनाउन उद्यत गराउने पेसा पत्रकारिता हो भन्ने मलाई लाग्छ । तर, अहिलेको पत्रकारितालाई ‘पीत पत्रकारिता’ भन्न थालिएको छ । त्यो पनि आफूलाई वरिष्ठ पत्रकार भन्न रुचाउने व्यक्तिका आचरणले नै हो । कुनै राजनीतिक पार्टीको झोला बोकेर एकपक्षीय मत राख्ने अनि विपक्षीको खोइरो खन्ने प्रवृत्तिलाई कसरी स्वच्छ पत्रकारिता भन्न सकिन्छ ?

पत्रकारिता समाजको ऐना हो भनिन्छ । तर, अहिलेको पत्रकारिता त्यस्तो ऐना बनेको छ, जसमा पहिले नै दाग लागेको छ । त्यो दाग ऐनामा हो कि समाजमा हो भने छुट्याउन सक्ने क्षमता अहिलेका सञ्चारकर्मीमा पाइँदैन । बरु कसरी नाम र दाम कमाउने भन्ने ध्येय रहेका कारण म तिमीलाई यो पेसा अपनाउन पनि सुझाव दिन सक्दिनँ ।

जीवनयापनका लागि केही न केही त गर्नै पर्छ । बरु व्यापारी बन भनेर आशिर्वाद दिऊँ कि जस्तो लाग्छ । व्यापार भनेको अपार हो, रातारात मालामाल भइन्छ रे ! यसो सोच्छु, त्यो पनि ठीक होइन । परिश्रम गरेर कमाएको सम्पत्ति दिगो हुन्छ । ग्राहकलाई ठगेर कालो धन कमाउनु घोर पाप हो ।

पैसा कमाउने नाममा घिउमा बोसो वा पिँडालु मिसाउने, चामल, दालजस्ता खाद्यान्नमा ढुंगा वा माटो मिलाउने, अझ तेलजस्ता तरल पदार्थमा अखाद्य वस्तु (झारपातको रस-चोपजस्ता) मिसाउने गर्दा कतिको शरीरमा नराम्रो असर परेको छ । पैसा नै ठूलो भन्ने अनि पैसा कमाउन जो पनि बेच्ने (वस्तु मात्र होइन, मान्छे नै पनि (आफ्नै छोरी-श्रीमती) घृणित कार्य व्यापारीले गरेको देख्दा म तिमीलाई व्यापारी बन भन्न सक्दिनँ छोरा !

तिमीलाई जे बन्न मन लाग्छ बन, तर अरुलाई रुवाएर होइन, अरुको शोषण गरेर होइन । सक्छौ अरुलाई हँसाएर आफ्नो जीवनयापन गर, नसके अरुको आँसुमा साथ देऊ । अरुको हाँसोमा हाँसो मिलाऊ, अरुको रोदनमा आँसु बगाऊ । जीवन सबैको एउटै हो । पैसा र पावर नै सबैथोक हो भन्ने सोचाइलाई त्याग ।

घरपरिवार, इष्टमित्र, साथीभाइ, छिमेकी सबैको भलो चिताऊ, उनीहरूलाई दुःख दिएर आफूलाई धेरै नै फाइदा हुन्छ भने त्यो काम नगर । डाक्टर नबन, इन्जिनियर नबन, वकिल नबन, नेता नबन, कलाकार नबन … केवल तिमी असल मानिस बन । आदर्श व्यक्ति बन, सबैको भलो चिताउने जाति बन, यही नै मेरो यसपालिको दशैंको शुभआशिर्वाद छ ।

आदर्शापेक्षी बुबा

समर्पण शर्मा ‘उपमन्यु’

(ऋषि राम शर्मा), धादिङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?