+
+

रानीमहल घुम्न गएका पर्यटक दुई दिनदेखि अलपत्र

टोपराज शर्मा टोपराज शर्मा
२०७८ कात्तिक २ गते ११:३१

२ कात्तिक, बुटवल । पाल्पाको तानसेन नगरपालिकामा पर्ने रानीमहल घुम्न गएका पर्यटकहरु पहिरोले सडक अवरुद्ध हुँदा अलपत्र परेका छन् । अविरल वर्षासँगै गएको पहिरोले तानसेन–रानीमहल सडकखण्ड दुई दिनदेखि अवरुद्ध छ ।

रानीमहल क्षेत्रको हात्तीढुंगा, गाईघाट, बैकुण्ठभीर लगायत चार–पाँच ठाउँमा पहिरो गएको छ । पहिरो हटाउन सम्बन्धित निकायले ढिला गर्दा विभिन्न जिल्लाबाट घुम्न आएका दुई सय बढी पर्यटक अलपत्र परेका स्थानीय पर्यटन व्यवसायी बसन्त कुँवरले बताए ।

कतिपय पर्यटकहरु पहिरोले रानीमहल पुग्न नपाई बीचमै रोकिएका छन् भने धेरैजसो फर्कन समेत पाएका छैनन् । ‘रानीमहल नजिकै पुग्दा हात्तीढुंगामा पहिरो झरेको रहेछ,’ कपिलवस्तुबाट घुम्न गएका रविन लुइँटेलले भने, ‘फर्कन खोज्दा फेरि अर्को पहिरोले बाटो बन्द भएपछि दुईदिनदेखि अलपत्र छौं ।’

आफूहरुले सडक डिभिजन, नगरपालिका लगायत निकायमा फोन गरेर बाटो खुलाउन अनुरोध गरेपनि पहिरो हटाउन सुरसार नभएको लुइँटेलले बताए । ‘कसैले डोजर छैन भन्नुहुन्छ, कसैले फोन समेत रिसिभ गर्नुहुन्न,’ उनले भने, ‘यस्तो पाराले पर्यटन विकास हुन्छ ?’

सडक नखुल्दा काठमाडौं,पोखरा, बुटवल, कपिलवस्तुलगायतका ठाउँबाट घुम्न गएका पर्यटकहरु त्रिपाल टाँगेर तथा सवारी साधनमै सुत्न बाध्य भएका स्थानीय पर्यटन व्यवसायी कुँवरले बताए ।

पर्यटकहरु दुई दिनसम्म अलपत्र पर्दा समेत सम्बन्धित निकायले पहिरो पन्छाएर सडक खुलाउन चासो नदिंदा पर्यटकमा नकारात्मक छाप परेको कुँवरको भनाइ छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोक शाहीले धेरै ठाउँमा पहिरो गएकाले ढिला भएको तर आजै (मंगलबार) दिउँसोसम्म रानीमहल क्षेत्रको पहिरो पन्छाउन सडक डिभिजनसँग कुराकानी भइसकेको बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?