
२ कात्तिक, धनगढी । कञ्चनपुरमा महाकाली नदीको बाढीमा पाँच जना फसेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फार्म सञ्चालन गर्दै आएका पाँचजना महाकाली नदी र स्थानीय खहरे खोलाको बीच टापुमा फसेका हुन् ।
महाकाली नदी र खहरे खोलामा बाढी आउँदा मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ती नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुमा फसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले उनीहरुको उद्धारका लागि प्रयास भइरहेको बताउँदै पानीको सतह बढी हुँदा समस्या भइरहेको बताए ।
प्रभावित क्षेत्रमै पुगेकी प्रदेश सरकारी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले उनीहरुको उद्धारका लागि हेलिकप्टर मगाइएको बताइन् ।
सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएकाले बाढीमा फसेकाहरुको सुरक्षित उद्धार गरिने उनले बताइन् ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) पुरुषोत्तम कडेल पनि कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
प्रतिक्रिया 4