+
+

कोभिडपछि बन्दीपुरको पर्यटन : व्यवसायी उत्साहित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १४:०५

२ कार्तिक, तनहुँ । कोरोनाको कारण मारमा परेको तनहुँको पर्यटकीयस्थल बन्दीपुरमा दशैंको अवसरमा आन्तरिक पर्यटकको निकै घुइँचो लागेपछि व्यवसायीहरु उत्साहित भएका छन् ।

बन्दीपुरमा दैनिक औसत ५ हजारभन्दा बढी आन्तरिक पर्यटकहरु आउने गरेका छन् । समूह-समूह बनाएर आन्तरिक पर्यटकहरु बन्दीपुर घुम्न आएका छन् । यहाँका होटल, होमस्टे तथा विभिन्न गेष्ट हाउसमा पर्यटकहरु खचाखच रहेका छन् ।

बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले दुई लहरको कोभिडपछि सबैभन्दा बढि पर्यटक दशैंको बेलामा आएको बताए । उनका अनुसार बन्दीपुरमा आन्तरिक पर्यटकलाई होटल पाउनसमेत मुस्किल छ ।

फूलपाती, नवमी, एकादशी, द्धादशी र त्रियोदशीका दिनमा पर्यटकहरुको भिडभाडमा निकै बढेको पौडेलले बताए । कोभिडका कारणले घरभित्र नै बसेका र बाहिर पनि सुरक्षा मापदण्ड अपनाउँदा उकुममुकुस भएकाहरु घुमघामका लागि परिवारसहित आएको उनको भनाइ छ ।

‘यतिबेला मौसम पनि बडा गज्जवको बनेको छ, कहिले घाम, कहिले पानी, कुँहिरो र बादल छ, न त जाडो न त गर्मी छ, हिमालहरु खुलेका छन्, पहारिलो घाम छ’ होटल डी बन्दीपुरका सञ्चालकसमेत रहेका पौडेलले भने, ‘कोभिडका कारण अत्यास र छट्पटी भएका पर्यटकहरु आउनुभएको छ, रमाउनुभएको छ ।’

उनले कम्तीमा पनि एक रात विताउने गरी पर्यटक बन्दीपुर आएको बताए । उनले तिहारसम्म पर्यटकहरुको आगमन यहीँ रूपमा हुने विश्वास लिएको बताए । बन्दीपुरमा होटल तथा रेष्टुरेष्ट ७७ वटा छन् ।

बन्दीपुरमा एक दिनमा १७ सयदेखि २ हजारसम्म पर्यटक बास बस्न सक्छन् । पर्यटकहरूको भिडभाड बढ्न थालेपछि विदामा गएका कामदार तथा कर्मचारीहरु पनि काममा फर्किएका छन् ।

बन्दीपुर होटल व्यवसायी संघका अध्यक्ष विपिन प्रधानले बन्दीपुरको पर्यटन व्यवसायमा आशाको संकेत देखिएको बताए । उनले फूलपातीपछि बढेका पर्यटकहरुका कारण आफूहरु उत्साहित भएको बताए ।

नेवा गेष्ट हाउसका सञ्चालकसमेत रहेका प्रधानले बन्दिपुरमा आन्तरिक पर्यटकलाई आर्कषित गर्न विभिन्न छुट कार्यक्रम, मौलिक संस्कृतिको प्रर्दशनी, विभिन्न साताव्यापी कार्यक्रमहरु चाँडै नै गरिने बताए ।

नेवारी मौलिक संस्कृतिसहितको प्राचिन सहर, हिमाल तथा पहाड हेर्न पर्यटकहरू बन्दीपुर आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?