+
+

प्रहरीको ज्यादतीबारे रूबीको बयान : जिउँदै आउन सक्छु भन्ने लागेकै थिएन

राज्यले प्रहरी लगाएर प्रतिशोध लिएको आरोप

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ कात्तिक २ गते २१:२७

२ कात्तिक, काठमाडौं । सरकारसँग सहमति भएसँगै बाँकेकी महिला अधिकारकर्मी रुबी खानले मंगलबार आमरण अनसन तोडेकी छन् । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमतिसँगै रुबीले १३ दिन लामो अनसन तोडेकी हुन् ।

माइतीघर मण्डलामा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन् ।

नेपालगञ्जबाट पैदल हिँडेर न्यायका लागि काठमाडौं आएका उनीहरूको एक महिने संघर्ष निकै दर्दनाक छ । गृह मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलबाट जुस खाएर अनसन तोड्नुअघि नै रुबीले पत्रकारहरूसँग आफ्नो पीडा पोखिन् ।

रुबीका अनुसार असोज २२ गते साँझ पक्राउ गरेपछि उनलाई खुट्टाको घाउमा टाँका लगाउने भन्दै वीर अस्पताल पुर्‍याइयो । त्यहाँ उपचार गर्ने काम नसक्दै सोह्रखुट्टे प्रहरी हिरासतमा रातभरि राखियो । भोलिपल्ट जहाजबाट बाँके जिल्ला प्रहरी कार्यालय लगिएको खानलाई त्यहाँ बारम्बार अनसन तोड्न दबाब दिइएको उनले बताइन् ।

‘महिला प्रहरीसम्म नभएको कोठामा लगेर अनसन तोड्न बार्गेनिङ गरियो’, उनले भनिन्, ‘मैले अनसन तोडेमा ममाथि लगाइएका सबै मुद्दा तत्कालै फिर्ता गर्ने भनेर त्यहाँका प्रहरीले प्रत्येक दिन मानसिक दबाव दिइरहें ।’

यता काठमाडौंमा मानवअधिकार मोहना अन्सारी तथा रुबी खानको वकिलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दिइसक्दासमेत प्रहरीले रुबीलाई काठमाडौं हाजिर गराएन । दोस्रोपल्ट २४ घन्टाभित्र थुनामुक्त गर्न आदेश दिएपछि उपचार गराइरहेको अवस्थामै प्रहरीले उनलाई २८ गते काठमाडौं ल्यायो ।

अदालतबाट रिहाइ पाएपछि माइतिघरको सडकमा नै अनसन बसिरहेकी रुबीलाई स्वास्थ्य समस्या देखिएपछि पुनः अस्पताल लगियो । मंगलबार अस्पतालले डिस्चार्ज गरेपछि मात्र उनी अन्य आन्दोलनरत साथीहरूलाई भेट्न आइन् । अनसन तोड्ने कार्यक्रममा रुबीले अनसन बस्दाको पीडा यसरी पोखिन् :

पक्राउ गरेको केही दिनसम्म मलाई प्रहरीले एक कल फोनसमेत गर्न दिएन । मेरो वकिललाई, परिवारलाई फोन गर्छु भन्दा उनीहरूले फोन गर्न दिएनन् । पुरुष प्रहरीहरूले तानातान गर्दा नै मेरो फोन फुटिसकेको थियो । उपचार गर्न अस्पताल लगे पनि चेकजाँच गर्न नपाउँदै फेरि हिरासतमा नै लगियो ।

नेपालगञ्जको भेरी अस्पतालमा पनि मलाई  ‘यो हिरासतमा भएको मान्छे हो’ भनेर मानिसहरूको अगाडि प्रहरीले नै बदनाम गर्न खोजे । स्वास्थ्य अवस्था निकै जटिल भएको बेलामा प्रहरीले लछापछार गर्दा असाध्यै गाह्रो भयो । त्यतिबेला मलाई फेरि जिउँदै सडकमा आउन सक्छु भन्ने लागेकै थिएन । पत्रकार, अधिकारकर्मी र अभियन्ताहरू सबैको प्रयासले आज बाहिर आउन सकेको छु ।

म आमरण अनसन गरेको मान्छेलाई प्रहरीले किन लछारपछार गरे मैले बुझ्न सकेको थिइनँ । ओढ्ने, ओछ्याउने माग्दा पनि दिएनन् । चिसोले स्वास्थ्य झनै खराब भयो । नेपालगञ्ज र काठमाडौंको हिरासतका प्रहरीले मान्छेलाई होइन कुनै वस्तुलाई समातिरहेको जस्तो व्यवहार गरे । उनीहरूले सामान्य मानवीयताको समेत ख्याल नगरी पशुलाई गरेजस्तो व्यवहार गर्दा मलाई मानसिक रुपमा ठूलो आघात पर्‍यो।

अहिलेसम्म मेरो महत्त्वपूर्ण सामग्री रहेको ल्यापटप, मोबाइल र कागजपत्र प्रहरीले दिएका छैनन् । त्यो कहाँ छ भन्ने पनि थाहा छैन ।

मेरो रिहाइ र आजको सम्झौता मेरोमात्र जित होइन, सबै न्यायप्रेमी र पीडितहरूले पाएको राहत हो । यदि नेपाल सरकारले आज गरेको सम्झौता अक्षरशः पालन गरेन भने हामी योभन्दा कडा आन्दोलन गर्छौं । जति नै यातना र सास्ती पाए पनि हामी थाकेका छैनौं ।

सबै न्यायप्रेमीहरूलाई हार्दिक धन्यवाद !

तस्वीरहरू : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?