+
+
देशभर कहाँ के भयो ? :

बाढी र पहिरोको वितण्डा : ३० जनाको मृत्यु, ३२ बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते ११:०९

३ कात्तिक, काठमाडौं । देशका विभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मंगलबार ३० जनाको मृत्यु भएको छ ।

मंगलबार रातिदेखि बुधबार बिहान १० बजेसम्म गृह मन्त्रालयमा भएको रिपोर्टिङ अनुसार ३० जनाको मृत्यु भएको हो ।

घटनामा ३२ जना बेपत्ता र १२ जना घाइते रहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बैतडीको मंगलबार राम पार्कीको घर भत्किँदा दुई महिला र एक बालकको पुरिएर मृत्यु भएको छ । मृतकको शव निकाल्ने प्रक्रिया थालिएको केन्द्रले बताएको छ ।

बैतडीकै सुर्नैया गाउँपालिका-५, विष्टपालीमा पहिरो जाँदा ७१ वर्षीया पारुदेवी महराको मृत्यु भएको छ । घटनामा दुई जना घाइते छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।

प्रदेश १ को धनकुटास्थित चौविसे गाउँपालिका-१, गेडेरेमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । घरभित्र रहेका १२ जनामध्ये ६ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । थप खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

डोटीको शिखर नगरपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिकामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र दुई घाइते छन् ।

प्रहरीका अनुसार जोरायल गाउँपालिका-३ मा जोगी सार्कीको घर पहिरोले पुरिँदा ६३ वर्षीय उनको मृत्यु भएको छ । वडा नं. ४ मा शेरबहादुर विकसहित उनको परिवारका ४ जनाको मत्यु भएको प्रहरीले जनाएको छ ।

शिखर नगरपालिका-११ मा ३६ वर्षीया मन्धरा बलायर बाटोमा हिँडिरहँदा माथिबाट ढुंगासहितको पहिरो खसेको छ । घटनामा घाइते उनको उपचारका क्रममा मृत्यु भएको छ ।

सायल गाउँपालिका ५ मा हिरुवा लोहारको मृत्यु भएको छ । उनको घरमा दुई जना घाइते छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार जारी छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका-५, खरेलमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन् ।

गाउँमा पहिरो जाँदा ६ जना बेपत्ता भएको खबर प्रहरीलाई पुगेको थियो । खोजतलासका क्रममा चार जनाको शव भेटिएको छ । दुई जनाको खोजतलास जारी छ ।

इलाममा पहिरो जाँदा तीन जनाको मृत्यु र ५ जना बेपत्ता छन् । दउमाईमा खोलाले बगाउँदा ४५ वर्षीया सरिता आचार्यको मृत्यु भएको छ ।

फाकथोक थुङ गाउँपालिका-१, ठिंगुरेमा घर पुरिँदा २ जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । सल्लेरीमा पहिरो जाँदा चार जना बेपत्ता छन् ।

पाँचथरमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । फाल्गुनन्द गाउँपालिका-३ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र ६ जना घाइते छन् ।

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार जारी छ । कुम्बाक गाउँपालिका-१, लाक्टोपामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । फिदिम-४, जोरसालमा पनि दुई जनाको मृत्यु भएको छ ।

मिक्लाजुङ गाउँपािलका-५ मा एक जनाको मृत्यु भएको छ । प्रहरीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

उदयपुरमा बाढीले एक जना बगाएको छ । त्रियुगा नगरपालिका-५, खोरिया खोला तर्ने क्रममा ४० वर्षीया टुकबहादुर खड्कालाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार आएको बाढी, पहिरोमा ६ जनाको मृत्यु भएको गृह मन्त्रालयमा रिपोर्टिङ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?