+
+

निमित्त नायवी सरकार टिप्पणी गर्न पनि लायक रहेन : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते २०:१०

३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् ।

सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया दिएका हुन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उनले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दावी गरे ।

‘अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार हो । यो नायवीद्वारा चलिराखेको छ निमित्त नायकको सरकार । नायक नायक होइन । मैले भने अघि नै यो सरकार आलोचना गर्न पनि लायक रहेन क्या । टिप्पणी गर्न पनि लायक रहेन यो सरकार । जसको हातमा नायवी छ, पर्दा पछाडि छ के भन्नु ?’ उनले भने ।

अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताए । अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको उनको दावी छ । अध्यक्ष ओलीले काँग्रेस अगामी निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भएपनि ऊसँग जनतामा जाने कुनै एजेन्डा नरहेको जिकिर गरे ।

देशलाई चाहिएको एउटै मात्रै कुरा छ–जम्माजम्मी एउटै मात्रै कुरा के हो भने एमालेको दिग्विजय । एमालेको विजय चाहिएको छ । अरु केही चाहिएको छैन । एमालेका विजय भएन भने केही पनि हुँदैन । अरुसँग केही छदै छैन । न गन्तव्य, न बाटो, न प्रतिवद्धता न संकल्प’ ओलीले भने ।

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निर्वाचनबाट जनताले बदर गरिदिने पनि बताए । उनले अदालतले जनताबाट विश्वास गुमाइसकेको उल्लेख गर्दै आक्रोश व्यक्त गरे ।

‘हामीलाई चिन्ता छ । अहिले हेर्नुस् त अदालत अत्यन्त मर्यादित हुनुपर्ने होइन र ? जनताले केही भएन भने पनि अदालतमा न्याय पाउछु भन्ने विश्वास गर्नुपर्ने होईन ? हेर्नुस् त महाअभियोग पनि लाग्न सक्छ भनेका छन् । जनस्तरबाट राजीनामा गर भनेका छन । के–के आरोप छ, तपाईं हामी जम्मै सुनिराखेका छौं’ उनले भने ।

ओलीले अघि भने, ‘यस्ता निकायहरु, जसप्रति जनविश्वास असाधारण ढंगले अन्त केही भएन भने पनि अदालतप्रति जनविश्वास लोकतन्त्रको साह्रै महत्वपूर्ण कुरा के हो भने अदालतप्रतिको जनविश्वास । त्यो त आज धराशायी भएको छ ।’

अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनमा तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?