+
+

प्रदेश १ बाढीपहिरो : ४९ को मृत्‍यु, साढे ८ सय परिवार विस्थापित

हरि अधिकारी हरि अधिकारी
२०७८ कात्तिक ३ गते १८:११

३ कात्तिक, विराटनगर । प्रदेश-१ मा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

केही दिनदेखि अविरल परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको हो । यो संख्या थप बढ्न सक्ने प्रदेश-१ का डीआईजी अरुणकुमार बिसीले जानकारी दिए । उनका अनुसार प्रदेश-१ मा बेपत्ता हुनेको संख्या १६ पुगेको छ ।

प्रदेशमा सबैभन्दा बढी पाँचथरमा २१ जनाको मृत्यु भएको छ । डीआईजी बिसीका अनुसार पाँचथरमा ११ जनाको मात्रै मृत्यु पुष्टि भएको छ ।

यस्तै मिक्लाजुङ गाउँपालिकामा थप १० जनाको मृत्यु भएको जानकारी आएपनि सञ्चार सम्पर्क नहुँदा पुष्टि हुन बाँकी रहेको उनले बताए । उनका अनुसार इलाममा पहिरोमा परी १३ जनाको मृत्‍यु भएको भने धनकुटामा पहिरोबाट सातजनाको मृत्यु भएको उनले बताए ।

बाढी पहिरोका कारण सुनसरीमा ४, उदयपुरमा २, भोजपुर र मोरङमा १–१ जनाको मृत्यु भएको डीआईजी बीसीले बताए। सञ्चार सम्पर्क बिच्छेद हुँदा पहाडि जिल्लाहरुबाट पूर्ण विवरण आउन बाँकी रहेको उनको भनाइ छ । ‘सबै क्षेत्रमा सम्पर्क हुन सकेको छैन,’ डीआईजी बिसीले भने,‘ सञ्चार सम्पर्क हुन नपाउँदा क्षतिको विवरणहरु आइसकेको छैन ।’

मोरङमा २ हजार सात सयको उद्धार

मोरङका विभन्न खोलामा आएको बाढीका कारण प्रभावित भएका दुई हजार सात सय ९३ जनाको उद्धार गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार ८ सय ६६ परिवारका दुई हजार सात सय ९३ जनाको उद्धार गरिएको हो । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा सारेर राहत वितरण गर्ने तयारी भइरहेको उनले बताए ।

खोलामा पानी घटेका कारण केही परिवार आफ्नो घरमा फर्किएका छन् । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार मोरङमा एकजनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् ।

विराटनगरको महेन्द्र मोरङ कलेज पछाडिपट्टी नालीमा २५ वर्षीय इसान भुजेलको शव भेटिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका– ४ बाट ४० वर्षीय सिटी सफारी चालक जीवन पराजुली बेपत्ता भएका छन् । राजमार्गमा बाढीले उनको सिटी बगाएको थियो ।

सिंघिया खोलामा एक जना बेपत्ता भएका छन् । खोलाले बगाएर ल्याउँदै गरेको ग्यास सिलिण्डर निकाल्नका लागि पसेका विराटनगर महानगरपालिका– १ का २१ वर्षीय सञ्जीव कामत बेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

बाढी प्रभावितलाई राहत वितरण गर्नका लागि जिल्ला स्तरीय विपत व्यवस्थापन समितिको बैठक बसेको उनले बताए । प्रभावितलाई तत्कालका लागि खाद्यान्य वितरणका लागि उद्योगी व्यावसायीसँग पनि छलफल गरिएको उनले बताए । उनका अनुसार पहिलो चरणमा स्थानीय जनप्रतिनिधिले राहत वितरण गरेका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?