+
+

चितवन महाधिवेशनबारे एमालेले भन्यो– कसैसँग चन्दा लिंदैनौं, प्रचण्डलाई टक्कर दिन खोजेका होइनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १०:४३

५ कात्तिक, चितवन । चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी गराउने दावी नेकपा एमालेले गरेको छ । एमालेले महाधिवेशनका लागि चन्दा नमाग्ने पनि जनाएको छ ।

एमाले स्थायी समितिको बैठकले चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार बिहान एमालेले चितवनमा पत्रकार सम्मेलन आयोजना गरेर महाधिवेशन तयारीको शुभारम्भ गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले भेगीय हिसावले चितवन आउन र जान सहज भएकाले उदघाटन समारोहमा पाँच लाख मानिसहरुलाई सहभागी गराइने बताए ।

उदघाटन र बन्दसत्र गर्ने स्थानको खोजी

महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार वा अन्य ठूलो क्षेत्रमा गर्ने गरी ठाउँको खोजी गरिएको प्रदेश अध्यक्ष पोखरेलले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनको बन्दसत्र पूर्वी चितवन वा भरतपुरमा नै गर्ने योजना छ । ‘हामी एक सातामा नै महाधिवेशनको उद्घाटन सत्र कहाँ गर्ने, बन्द सत्र कहाँ गर्ने, के कस्तो व्यवस्थापनको विधि अपनाउने सबै निर्णय गरेर सक्छौं,’ एमाले प्रदेश अध्यक्ष पोखरेलले भने, ‘त्यसका लागि प्रदेश कमिटी, जिल्ला कमिटी र केन्द्रबाट आउने प्रतिनिधि टोलीलेसमेत अध्ययन गर्नेछ ।’

महाधिवेशनस्थल चितवन रोज्नुका पछाडि भएका विभिन्न टिकाटिप्पणी सही नभएको दावी उनले गरे । प्रचण्डको गृह जिल्ला छानेर काउन्टर दिन खोजेको हो भन्ने पत्रकारको जिज्ञासामा प्रदेश अध्यक्ष पोखरेलले भने, ‘चितवन भूगोलका हिसाबले पनि मध्यभाग छ, आवतजावत गर्न पनि सहज छ, चार घण्टा समय जोगाउनुपर्छ भनेर छानिएको हो, बाहिर टिकाटिप्पणी गरेजस्तो हैन, हामीहरुको प्रतिस्पर्धा कुनै दलसँग हैन, पाँच दलीय गठबन्धनसँग हो ।’

उनले महाधिवेशन चितवनमा गरेर एमालेलाई २०७४ सालको नेकपाको हैसियतमा पुर्याउने संकल्प र सन्देश दिने बताए । महाधिवेशनमा विधान महाधिवेशनका प्रतिनिधिको आधा प्रतिनिधि मात्रै सहभागी हुने पोखरेलको भनाइ छ ।

एमाले प्रदेश कमिटी अध्यक्ष पोखरेलले महाधिवेशनका लागि चन्दा मागेर कसैलाई पनि दुःख नदिने बताए । पार्टीका सदस्य र शुभेच्छुकहरुले स्वतः दिने सहयोगमा महाधिवेशन गर्ने पोखेरलले बताए ।

एमाले बागमती प्रदेश कमिटीका सहइन्चार्ज काशीनाथ अधिकारीले एमालेको चितवनमा हुने महाधिवेशनले यहाँको गरिमा, पर्यटन र आर्थिक विकासलाई थप टेवा पुग्ने बताए ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलले चितवनमा महाधिवेशन गर्ने एमाले स्थायी समितिको निर्णयको स्वागत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?