+
+

एमालेको दशौं महाधिवेशन चितवनमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १८:४८

४ कात्तिक, काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण विष्टले जानकारी दिए ।

महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको हो । समितिको सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु रिमाल, काशीनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहेका छन् ।

यसबाहेक सातै प्रदेश र सम्पर्क समन्वय कमिटीको प्रतिनिधि मूल व्यवस्थापन समितिमा रहने बैठकले निर्णय गरेको छ । बैठकले बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रको वडा अधिवेशन र पालिका अधिवेशन सार्ने निर्णय भएको छ ।

तर कात्तिकभित्र सबै वडा र पालिका अधिवेशन गरिसक्ने सचिव प्रदीप ज्ञवालीले बताए । एमालेले कात्तिक ६ मा तोकिएको वडा र कात्तिक ९ मा पालिका अधिवेशन गर्ने तयारी गरेको छ ।

बैठकले १५–१७ असोजमा भएको विधान महाधिवेशनको समीक्षा पनि गरेको छ । विधान महाधिवेशनले भावनात्मक एकता सिर्जना गरेको र सफल भएको निश्कर्ष निकालेको ज्ञवालीले बताए ।

३१ असोजदेखि परिरहेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानबाट पुगेको क्षतिप्रति दुख व्यक्त गर्ने निर्णय बैठकले गरेको छ । बाढी, पहिरो र डुवानमा परेकाहरुलाई उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन एमालेले कार्यकर्ता पंक्तिलाई निर्देशन एमालेले दिएको छ ।

बैठकले रेडक्रस सोसाइटी र एनआरएनएको गतिविधिमाथि सत्तारुढ पक्षबाट भएको हस्तक्षेपको विरोध जनाएको ज्ञवालीले बताए । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ । भोलिको बैठकमा दश बुँदे कार्यान्वयनमा देखिएको समस्याबारे समेत छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?