+
+

तिहारका लागि ‘पाला’ बनाउन भक्तपुरका कुमालेलाई भ्याइनभ्याइ

रासस रासस
२०७८ कात्तिक ५ गते १३:४९
फाइल तस्वीर

५ कात्तिक, भक्तपुर। नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । यसका लागि आवश्यक सामग्री फलफूल, सयपत्री र मखमली फूलको माला, भाई मसलासँगै दियो बाल्ने पालाकोसमेत खपत र माग दिनानुदिन बढ्दो छ ।

बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । तालक्व (पोटरी स्क्वायर) का हरिशरण प्रजापतिले भने, ‘तिहार आउन अझै हप्ता दिनभन्दा बढी समय बाँकी छ । हप्ता दिनभित्र मागअनुसारको पाला पठाउन नसके बनाएको व्यर्थ हुन्छ।’

उनका अनुसार अचेल तालक्वका कुमाले समुदायको दिनचर्या नै पाला तयार गर्ने कार्य मै बित्ने गरेको छ । तिहारमा पालाको उच्च माग हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडा बनाउने कामलाई थाँती राखेका छन् ।

तिहारमा लक्ष्मी पूजाका लागि बाहिरी जिल्लाबाट समेत पालाको माग आउने भएकाले गमला, धुपौरो, खुत्रुकेलगायत विभिन्न पर्यटकीय सामग्री बनाउने कामलाई थाँती राखेर पाला बनाउने काममा व्यस्त भएको उनले बताए ।

‘बिहान सबेरै उठने हो, चिया नास्ता गर्ने, अनि अघिल्लो दिनमै तयार गरिराखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने र सुकिसकेको पालालाई क्युमा बसेर पोलेर तयार गरी मागअनुसार बजार पठाउने काममा नै व्यस्त छौँ । अहिले अन्य भाँडाकुँडा बनाउन फुर्सद छैन’, उनले भने ।

अहिले भक्तपुरका तालक्वका कुम्हाले मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह र सूर्यविनायकका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् ।


विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलीमिली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलीमिली बत्ती बाल्ने परम्परा छ । तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायत स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा छ ।

पछिल्लो समय तिहारमा बत्ती बाल्नकै लागि विद्युत् बत्तीको मागसमेत उच्च हुने गरेको छ । तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्य रुपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायी बताउँछन् ।

केही वर्षअघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारी रामप्रसाद प्रजापति बताउँछन् । ‘विभिन्न आधुनिक विद्युतिय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षा, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको हो’, उनले भने ।

कुमालेले तयार भएको पाला थोकविक्रेता व्यापारीलाई बिक्री गरिन्छ । थोकबिक्रेता व्यापारीले एउटा पालाको एकदेखि दुई रुपैयाँमा हजारौँको सङ्ख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ता माझ पुर्‍याउने गरेको उनले जानकारी दिए ।

जिल्लामा उत्पादन गरेको पाला उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङको धादिङवेशी, नुवाकोटको त्रिशूलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीलेसमेत लिन आउने गरेको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?