+
+

लुम्बिनीमा सरकार निकट मिडियालाई बजेट बाँडेको भन्दै विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १७:१९

५ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सरकारले सरकार निकटका सञ्चार माध्यमलाई मात्रै बजेट विनियोजन गरेको भन्दै सञ्चार सम्बद्ध संस्थाहरुले विरोध जनाएका छन् ।

प्रकाशन तथा प्रसारण समाज र एलायन्स फर कम्युनिटी मिडियाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सरकारले तोक आदेशको भरमा आफू निकटका निजी सञ्चारलाई अनुदान दिने, घर बनाउन र पर्खाल घेर्नेदेखि लिएर उपकरण खरिद गर्नेजस्ता शीर्षकमा बजेट छुट्टाइएको भन्दै विरोध जनाएका छन् ।

प्रकाशन तथा प्रशारण समाजका अध्यक्ष नवराज कुँवर र सचिव माधव नेपालले जारी गरेको विज्ञप्तिमा यस्ता बेथितिहरुलाई तत्काल रोकी सञ्चार माध्यमलाई नगद अनुदान भन्दा पनि समानुपातिक विज्ञापन वितरण प्रणाली अंगीकार गर्न आग्रह गरिएको छ ।

यस्तै अघिल्लो सरकारले राखेका सञ्चारसम्बन्धी कतिपय कल्याणकारी कोषको बजेट कटौती गरिएको हुँदा पुनः बजेटलाई पुनरावलोकन गरी बजेट तथा लुम्बिनी प्रदेश सरकार मिडिया मैत्री बन्नका लागि आग्रह गरिएको छ । विज्ञप्तिमा समानुपातिक विज्ञापन वितरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

यस्तै सामुदायिक टेलिभिजनहरुको संस्था एलायन्स फर कम्युनिटी मिडियाका संयोजक दिनेश पाण्डेले पनि विज्ञप्ति जारी गर्दै शाही शासनका समयमा पत्रकारहरुलाई हण्डी वितरण गरे जस्तै निश्चित सञ्चार माध्यमलाई लाभ पुग्ने गरी रकम वितरण गरिनु नैतिकता र आर्थिक अनुशासन विरुद्धको काम भएको उल्लेख गरेका छन् ।

प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा मुख्यमन्त्री कुलप्रसाद केसीको गृहजिल्ला रोल्पाको रेडियो जलजलको लागि ३५ लाख, माओवादी केन्द्र निकट प्रेस सेन्टरका वसन्त गिरी प्रधान सम्पादक रहेको बुद्ध दर्पण दैनिक कपिलवस्तुको लागि २० लाख, रेडियो मायादेवी र रेडियो बुद्धआवाजका लागि ५ लाख र बुद्ध दर्पणको सञ्चार भवनको लागि भन्दै थप २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै रेडियो रोल्पा र जलजल एफएमको लागि थप शीर्षकमा २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माको ‘अफसेट प्रेस’को विकास तथा प्रवद्र्धनका लागि प्रदेश सरकारले २० लाख छुट्याएको छ । फरक–फरक शीर्षकमा ‘रोल्पा समाचार’को नाममा प्रदेश सरकारले १०–१० लाख रकम विनियोजन गरेको छ ।

यस्तै बाँकेको रुबरु एफएमलाई ५ लाख र थप सामान खरिदको लागि भन्दै ५ लाख, रेडियो माडी आवाजलाई मेसिनरी खरिदको लागि भन्दै १० लाख, रेडियो देवदहको लागि १० लाख रुपैयाँ, सामुदायिक रेडियो कपिलवस्तुको कम्पाउण्ड वाल बनाउन ५ लाख, सामुदायिक रेडियो प्रसारक संघ, ब्रोडकास्टिङ एशोसिएसन र महिलाहरुको रेडियो लागि ५/५ लाख रकम विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?