+
+

राम्रो नतिजाका लागि तयारी गरेका छौं : प्रशिक्षक महर्जन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १७:३५

७ कात्तिक, काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले छोटो तयारीका बाबजुद एएफसी यू–२३ एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने बताएका छन् ।

एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले सोमबार बलियो टोली इरानविरुद्ध खेल्दै यात्रा शुरु गर्दैछ । समूह बी को खेलअघि आइतबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले राम्रो नतिजाका लागि टिम तयार रहेको बताए ।

‘हामीसँग थोरै समय थियो तर हामी तयार छौं,’ उनले भने, ‘केही खेलाडीहरु साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिममा रहेकाले प्रशिक्षकको रुपमा मैले छनोटका लागि तयारी गर्न थोरै समय थियो । हामीले एक टोलीको रूपमा केही हप्ता मात्र प्रशिक्षण गर्न सक्यौं ।’

अहिले भने टिम प्रभावकारी रहेको उनको भनाइ छ । साथै उनले नेपालको समूहमा रहेको तीनवटै विपक्षीहरु राम्रो भएको भन्दै राम्रो नतिजा ल्याउने प्रयास गर्ने बताए ।

‘तपाईंले हेर्नुभयो भने हाम्रा तीनै विपक्षीहरू गुणस्तरीय छन् । हामीले वास्तविकतालाई स्वीकार गर्नुपर्छ र हामी राम्रो नतिजाको लागि तयार छौं,’ महर्जनले भने, ‘म राम्रो गर्न सक्दो प्रयास गर्नेछु ।’

छनोटमा नेपालसँगै समूह बी मा इरान, आयोजक ताजिकिस्तान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा सोमबार इरानसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेवनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

यस्तै नेपाली टिमका कप्तान तथा गोलकिपर अर्पण कार्कीले टिमको तयारी राम्रो रहेको र क्षमता परीक्षणको बेला आएको बताए ।

छनोटअघि नेपालले तयारी स्वरुप शुक्रबार इण्डोनेसियाको यू–२३ टिमसँग खेलेको मैत्रीपूर्ण खेलमा २–० को हार बेहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?