+
+

पोखराको पस्मराङमा तोकियो नयाँ ल्याण्डफिल साइट

विकास रोकामगर विकास रोकामगर
२०७८ कात्तिक ८ गते २०:००

८ कात्तिक, पोखरा । पोखरा महानगरपालिका कार्यपालिका बैठकले वडा नम्बर १६ र २० को सीमाना पस्मराङमा नयाँ ल्याण्डफिल साइट बनाउने भएको छ । हाल फोहोर व्यवस्थापन गर्दै आएको वडा नम्बर १४ को ल्याण्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नजिक पर्ने भएपछि महानगरले ल्याण्डफिल साइट सारेको हो ।

महानगरपालिकाले ल्याण्डफिल साइट खोजीका लागि वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो । गत असार १८ गते गठित सोही समितिको सिफारिसमा पस्मराङमा पोखराको फोहोर फाल्ने स्थान बनाउने निर्णय भएको हो ।

पस्मराङमा मानवबस्ती पनि नभएको र निर्माणाधीन विमानस्थलको दूरीबाट पनि टाढा पर्ने भएकाले सोही क्षेत्र नै ल्यान्डफिल साइटका लागि उपयुक्त हुने महानगरको दाबी छ ।

ल्यान्डफिल साइटका लागि करिब २ सय ५० रोपनी जग्गा आवश्यक पर्ने र सो जमिन पस्मराङमा उपयुक्त भएको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए । उक्त स्थानको जग्गा अधिकांश व्यक्तिगत छ । ‘त्यहाँ करिब पौने २ सय रोपनी जग्गा व्यक्तिको नाममा छ । सरकारी करिब ७० रोपनी छ । त्यति भए हामीलाई प्रशस्तै हुन्छ भन्ने हो,’ प्रवक्ता नेपालीले भने ।

पहिले निर्णय बल्ल छलफल !

पस्मराङमा ल्यान्डफिल साइट बनाउने कार्यपालिकाको निर्णयपछि सरोकारवाला, स्थानीयबासीसँग छलफल गर्न सहजीकरण समिति गठन गरिएको छ । कार्यपालिका बैठकमै पोखरा–१९ का वडाध्यक्ष शोभामोहन काफ्लेको संयोजकत्वमा ६ सदस्यीय सहजीकरण समिति गठन गरिएको हो ।

समितिले एक हप्ताभित्र सरोकारवाला निकाय र स्थानीयसँग छलफल गर्ने र त्यसपछि आएको प्रतिवेदनका आधारमा अन्य प्रक्रिया अघि बढाउने निर्णय भएको प्रवक्ता नेपालीले जानकारी दिए ।

‘समितिले प्रस्तावित आयोजना कार्यान्वयनको खाका, वातावरण तथा सामाजिक प्रभावको न्यूनीकरण तथा स्थानीयसँग छलफल गर्नेछ,’ उनले भने, ‘समितिले एक हप्तामा सक्छौं भनेको छ । त्यसपछि आएको प्रतिवेदनका आधारमा अन्य कारबाही अघि बढ्छ ।’

प्रस्तावित ल्याण्डफिल साइट क्षेत्रमा पर्ने व्यक्तिको जग्गालाई मुआब्जा महानगरले नै व्यहोर्नेसमेत निर्णय भएको छ । जग्गा प्राप्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको प्रवक्ता नेपालीले जानकारी दिए ।

स्थानीयको विरोध

नयाँ ल्याण्डफिल साइटका लागि तोकिएको पस्मराङ क्षेत्र काहुँ तथा काली खोलाको मुहान क्षेत्र पनि हो । त्यहाँको मुहानको पानी अहिले करिब ५ सय परिवारले पिउँदै आएका छन् । त्यहाँको २ वटा मुहानबाट भलाम, र्‍यालेचोर, काहुँ लगायतका बासिन्दाले खानेपानी र सिँचाइका लागि पानी प्रयोग गर्दै आएका छन् ।

महानगरले स्थानीयसँग छलफल र वार्ता नगरी ल्याण्डफिल साइट बनाउने एकलौटी निर्णय गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् । आफूहरुले पानीको स्रोतका रुपमा पस्मराङलाई प्रयोग गर्दै आइरहेको र पानीको मूल मासेर फोहोर थोपर्न नदिने बताएका छन् ।

ल्याण्डफिल साइट तोकिएको स्थान

‘यहाँको पानी पस्मराङले मात्रै खाने होइन, पोखरा बजारसम्म पुग्छ । विकास हुनै नदिने भन्ने होइन । तर, कम्तीमा स्थानीयको पीरमर्का त बुझिदिनुपर्छ, छलफल सहमति गर्नुपर्छ,’ स्थानीय शिवप्रकाश अधिकारी भन्छन््, ‘पानीको मूल दूषित मात्रै होइन, सुक्ने गरी हामी कसरी सहमति दिने ?’

अधिकारीले पस्मराङ पोखराको माथिल्लो भेग भएकाले वर्षात्को समयमा सम्पूर्ण बस्तीलाई नै असर गर्ने दाबी गरे । ‘अहिले पो खोला सानो छ । बर्खामा उर्लिन्छ । यहाँ फोहोर थुपार्‍यो भने बगेर जाने पोखरामा नै हो । खानेपानी मात्रै होइन, यहाँका बचेखुचेका जमिन पनि सुख्खा पल्टिन्छ,’ उनले भने ।

करिब ४ वर्षअघि पनि पस्मराङ क्षेत्रमा महानगरले छाडाचौपाया व्यवस्थापन गर्न पस्मराङमा लगिएको थियो । तर, पछि महानगरले नै बेवास्ता गरेको भन्दै स्थानीय आन्दोलित भएपछि पोखरा महानगरपालिका–१४ मा सारिएको थियो । स्थानीय  बासिन्दा छाडाचौपायालाई बेवास्ता गरेजस्तै फोहोर थुपारेपछि पनि त्यस्तै बेवास्ता हुने हो कि ! भन्नेमा सशंकित छन् ।

‘पहिले पनि छाडाचौपाया राख्ने भनेर यही क्षेत्रलाई चुनियो । व्यवस्थित तरिकाले राख्छौं भनेर हामीसँग झूठ कुरा गरियो । छाडाचौपाया जम्मै भीरमा लडेर मरे,’ स्थानीय गुरुप्रसाद आचार्यले भने, ‘त्यसको दुर्गन्ध गाउँभरि फैलियो । छाडा गाई सम्हाल्न नसक्नेले फोहोर कसरी व्यवस्थापन गर्छन् ?’

पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सीम गुरुङलेसमेत आफ्नो वडामा बनाउने निर्णय भएको ल्याण्डफिल साइटको विरोध गरेका छन् । उनले वडालाई कुनै पनि जानकारी नदिई एकलौटी महानगरले निर्णय गरेको दाबी गरे ।

‘म महानगरकै प्रतिनिधि हुँ । तर, मेरो ठाउँमा ल्याण्डफिल साइट बनाउने मलाई नै जानकारी छैन । स्थानीयको सहमतिबिना काम कसरी अघि बढाउने हो ?’ वडाध्यक्ष गुरुङले भने, ‘यहाँ ल्याण्डफिल साइट बनाउन दिइयो भने त म पितृ भइसकेपछि मलाई थुक्छन् ।’

पस्मराङमा ल्याण्डफिल साइट बन्न नदिन त्यहाँका स्थानीयले संघर्ष समिति नै बनाएका छन् । स्थानीय क्लब, आमा समूह, खानेपानी उपभोक्तासहित लगायतले मंगलबारबाट आन्दोलनको कार्यक्रम गर्ने तयारी गरेका छन् ।

हालको पोखरा महानगरपालिका–१४ स्थित सेती किनारको ल्याण्डफिल साइट महानगरले २०६१ सालदेखि प्रयोग गर्दै आइरहेको छ । १५ वर्षका लागि स्थानीयसँग सहमति गरेर प्रयोग गरिँदै आइएको उक्त सहमति अवधिसमेत २ वर्षअघि नै सकिइसकेको छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?