+
+

ब्राजिलका राष्ट्रपति बोल्सोनारोमाथि ९ आरोप लगाउनुपर्ने भनिएको प्रतिवेदन अनुमोदन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १२:१५

१० कात्तिक, काठमाडौं। ब्राजिलको सिनेट छानबिन समितिले राष्ट्रपति जायर बोल्सोनारोविरुद्ध मानवताविरोधी अपराधसहितका ९ आरोप लगाउन भन्दै सिफारिस गरिएको एक प्रतिवेदन अनुमोदन गरेको छ ।

मंगलबार अनुमोदन गरिएको १३ सय पृष्ठ लामो उक्त प्रतिवेदनमा बोल्सोनारोमाथि कोभिड महामारीको गलत व्यवस्थापन र मानवताविरोधी अपराधसहित ९ आरोप लगाउनुपर्ने उल्लेख छ । विपक्षी दलको बहुमत रहेको समितिले झण्डै ६ महिना लगाएर सो प्रतिवेदन तयार गरेको थियो ।

प्रतिवेदनमा राष्ट्रपतिसहित अन्य ७७ जना व्यक्ति र दुई कम्पनीले समेत अपराध गरेको उल्लेख छ । गत हप्ता सार्वजनिक गरिएको मस्यौदा प्रतिवेदनमा बोल्सोनारोमाथि नरसंहार र मानव हत्याको आरोप लगाउनु पर्ने भनिएको थियो । तर सिनेटरले पछि प्राविधिक कारण देखाउँदै ती आरोप लगाउन नहुने निष्कर्षमा पुगेका थिए ।

अन्तिम प्रतिवेदनमा सिनेटरले थप १० जनामाथि आरोप लगाउन सिफारिस गरेको अलजजिराले उल्लेख गरेको छ । सिफारिस गरिएका १० व्यक्तिमध्ये अमेजोनास राज्यका गभर्नर विल्सन लिमा पनि छन् ।

यसैवर्षको शुरुमा अमेजोनास राज्यमा अक्सिजन नपाएर कोरोना संक्रमितको मृत्यु भएको घटनाले हंगामा मच्चाएको थियो । लिमाको सरकारमाथि मेडिकल उपकरण खरीदमा भ्रष्टाचार भएको भन्ने विषयमा संघीय जाँच सुरु गरिएको छ ।

बोल्सोनारोले लआफूमाथि लागेका आरोकको खण्डन गर्दै आएका छन् । उनले यसअघि सिनेटले सुरु गरेको छानबिनलाई मजाक भनेका थिए ।

बोल्सोनारोविरुद्ध मुद्दा चलाइने सम्भावनाकम रहेको समाचारमा उल्लेख छ । प्रमुख अभियोजनकर्ता अगस्टो अरस उनीद्वारा नियुक्त गरिएका व्यक्ति भएकाले मुद्दा दर्ता हुने सम्भावनाकम रहेको बताइन्छ ।

तर सिनेटरले तयार गरेको प्रतिवेदनका कारण बोल्सोनारोप्रति आलोचना निम्त्याउने अपेक्षा गरिएको छ । आगामी वर्ष पुन: राष्ट्रपति बन्न चाहेका बोल्सोनारोको लोकप्रियता पछिल्लो पटक घट्दै गएको छ ।

ब्राजिलमा कोभिड-१९ बाट ६ लाख मानिसको ज्यान गएको कारण उनीप्रति जनआक्रोश बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?