
१० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिकसहित ११ इजलास तोकेका छन् । तर इजलास भने बसेको छैन ।
न्यायाधीशहरूले इजलाशमा नबस्ने गरी छुट्टै छलफल थालेका बेला प्रधानन्यायाधीश जबराले ११ इजलास तोकेका हुन् ।
जबराले आफ्नै नेतृत्वमा पूर्ण र संवैधानिक इजलास पनि तोकेका छन् । संवैधानिक इजलासमा दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठसमेत छन् । यो इजलासमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाइ गणेश हमालले दायर गरेको मुद्दा छ ।
यसैगरी जबराको एकल इजलासमा अदालतको अवहेलनासम्बन्धी लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धको मुद्दा छ । यसैगरी मधुकुमारी चौधरीविरुद्धको सम्पत्ति शुद्धीकरण सम्बन्धी, मोरङ र कास्की जिल्ला अदालतविरुद्धको बन्दी प्रत्यक्षीकरण सम्बन्धी र नेपाल सरकारविरुद्धको कालोबजार तथा केही सामाजिक अपराध सम्बन्धी कसुरको मुद्दा छ ।
प्रधानन्यायाधीश जबराले इजलास तोके पनि उपलब्धन्यायाधीशहरू छलफलमा बसेको र कानुन व्यवसायीहरूले बहस पैरवी नगर्ने निर्णय गरेकाले न्यायनिरुपण हुने सम्भावना भने देखिएको छैन । प्रधानन्यायाधीश जबराले न्यायालयको साख गिराउने काम गरेको भन्दै न्यायाधीशहरू दुई दिनदेखि इजलासमा बसेका छैनन् । न्यायाधीश इजलासमा नबस्ने र कानुन व्यवसायीले बहसमा भाग नलिने गर्दा न्याय निरुपणको हकबाट सेवाग्राही मर्कामा परेका छन् ।
आफ्नै सहकर्मी न्यायाधीश र कानुन व्यवसायीहरुले राजीनामा मागेपछि प्रधानन्यायाधीश जबरा दबाबमा परेका छन् । यद्यपि उनले कसैले माग्दैमा पदबाट राजीनामा नदिने अडान लिएका छन् ।
प्रतिक्रिया 4