+
+

सैन्य ‘कु’पछि अफ्रिकी युनियनले गर्‍यो सुडानलाई निलम्बन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १८:५१

१० कात्तिक, काठमाडौं । अफ्रिकी युनियनले सुडानलाई निलम्बन गरेको छ । बुधबार अफ्रिकी युनियनले सैन्य ‘कू’पछि युनियनका कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी सुडानलाई निलम्बन गरेको हो ।

युनियनले जारी गरेको विज्ञप्तिमा संक्रमणकालीन परिषद्को ‘प्रभावकारी पुनर्स्थापना’ गर्दै सुडानलाई निर्वाचनतर्फ अग्रसर नगरेसम्म निलम्बन लागू हुने उल्लेख छ ।

सोमबार सुडानी सेनाले सत्तापलट गरेपछि अन्तर्राष्ट्रिय समुदायले आपत्ति जनाएको छ । यसैबीच अपदस्थ प्रधानमन्त्री अब्दल्लाह हामदोक खार्तुमस्थित आफ्नो घर फर्किएका छन् ।

सैनिकले सत्तापलटपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । तर उनी कडा सुरक्षाबीच घर फर्किएका छन् ।

हामदोकको कार्यालयका अनुसार उनी र उनकी श्रीमतीलाई घर फर्किने अनुमति दिइएको समाचारमा उल्लेख छ । हाल उनी राजधानी खार्तुमस्थित आफ्नो निवासमा कडा सुरक्षासहित बसिरहेको कार्यालयले जनाएको छ ।

सेनाले सत्तापलटपछि हामदोकसहित अन्य वरिष्ठ अधिकारीलाई पक्राउ गरी नजरबन्दमा राखेको थियो । तर अन्तर्राष्ट्रिय समुदायले सेनाको उक्त कदमको निन्दा गरेपछि मंगलबार उनी नजरबन्द मुक्त भएका हुन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समेत हामदोकलाई तत्काल रिहा गर्न भन्दै ‘सत्तापलटको महामारी’विरुद्ध शक्ति राष्ट्रलाई एकजुट भएर लड्न भनेका थिए ।

नजरबन्दमा रहेका अन्य अधिकारी भने सेनाको नियन्त्रणमै छन् । उनीहरुको अवस्था अज्ञात रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?