+
+

इजिप्टको इस्मालिया महोत्सवमा घन्कियो नेपाली लोकधुन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १८:०१

११ कात्तिक, इस्मालिया (इजिप्ट)।  इजिप्ट सरकारले आयोजना गरेको २१औं ‘इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिबल’मा नेपालले पहिलो पटक भाग लिएको छ ।

महोत्सवमा नेपालसहित मेक्सिको, जोर्डन, अजबैजान, प्यालेस्टाइन, इन्डोनेसिया र इजिप्टका सात समूह सहभागी भएका हुन् ।

‘गार्डेन अफ इजिप्ट’ भनेर चिनिने सांस्कृतिक सहर इस्मालियाको कल्चरल प्यालेसमा इजिप्टका संस्कृतिमन्त्री र इस्मालियाका गभर्नरले भव्य समारोहका बीच महोत्सव उद्घाटन गरे ।

उद्घाटन समारोहमा सहभागी सबै मुलुकको झन्डा फहराइएको थियो भने स्टेजमा आआफ्नो देशको ब्यानरसहित कलाकारले मार्चपास पनि गरेका थिए ।

महोत्सवको पहिलो दिन उद्घाटन समारोहमा नेपाली कलाकारले सारंगी, बाँसुरी र मादलको संयोजनमा विभिन्न लोकधुन प्रस्तुत गरेको थियो ।

महोत्सवको दोस्रो दिन इस्मालियाको इलकन्द्र गर्व र तेस्रो दिन इल्शेइख जायेदमा नेपाली टोलीले कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

अक्टोबर २४ देखि ३० तारेखसम्म चल्ने यस महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईको नेतृत्वमा चार जनाको टोली इजिप्ट पुगेको छ ।

टोलीमा सारंगीवादक नरसिंहलाल श्रेष्ठ, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा र मादकवादक नरेश प्रजापति सहभागी छन् ।

नेपाललाई महोत्सवमा विशेष आकर्षणका रूपमा लिइएको छ । ‘इस्मालिया फोकलोर फेस्टिभलमा नेपाल पहिलो पटक सहभागी भएको हो’, नेपालको प्रतिनिधित्व गरेका सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले भने, ‘विश्वप्रसिद्ध यस महोत्सवमा नेपालप्रति जुन आकर्षण देखिएको छ यसले हामीलाई अझ उत्साहित बनाएको छ । नेपालको प्रस्तुति सहभागी मुलुकका लागि जति चासोको विषय बनेको छ त्यत्तिकै रोमाञ्चकारी पनि मानेका छन् ।’

अन्तर्राष्ट्रिय मञ्चलाई सदुपयोग गर्न सके नेपालको सांस्कृतिक विविधतालाई विश्व रंगमञ्चमा पुर्‍याउन सकिने महाप्रबन्धक राईको भनाइ छ ।

महोत्सव इस्मालियाका विभिन्न सांस्कृतिक एवं ऐतिहासिकस्थलमा सहभागी मुलुकको प्रस्तुतिसहित सात दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?