+
+
द्वन्द्वको घाउ :

साम्यवादीहरू शहर पसे, थवाङवासीको उपचार गर्दै जापानिज वृद्ध

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ कात्तिक १३ गते १८:५७

१३ कात्तिक, रोल्पा (थवाङ) । औसत मानिस चाहन्छ, जीवनको आखिरी क्षण परिवारको साथ सुखसयलमै बितोस् । र, त्यहीं देह-त्याग होस् । तर उनी भने अपवाद बन्न पुगे । भइदियो यस्तो कि जीवनको उत्तरार्द्धमा उनी जापानको सुखसयल र सम्पन्नता छोडेर विकासोन्मुख देशको दुर्गम बस्तीतिर निस्किए । त्यो पनि युद्धले छियाछिया बनाएका बस्तीहरूतिर ।

युद्धताका मीठा मीठा प्रतिज्ञा गरेर गाउँबस्ती छिरेका नेताहरू अहिले शहर पसेका छन् । गाउँ र त्यहाँको व्यथा उनीहरूको लागि एकादेशको कथा बनिसकेको छ । तर नौडाँडा पारिका एक वृद्ध भने नेपालका दुर्गम बस्तीमा काम गरिरहेका छन् अर्थात् उनी शहर छाडेर गाउँ पसेका छन् ।

जापानमा ४० वर्ष चिकित्सक रहेका उनी बाँकी जीवन कुनै दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा समर्पित गर्ने अठोट गरेर नेपाल आइपुगे ।

उनी अर्थात् डा. र्‍युचिकी इशिदा (७४) । जापानमा चारदशक अर्थाेपेडिक चिकित्सक रहेका उनी अवकाशपछिको बाँकी जीवन नेपालको दुर्गम क्षेत्रको स्वास्थ्य सेवा गर्दै बिताइरहेका छन् । १४ वर्षअघि नेपाल आएका उनी त दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामै बाँकी जीवन समर्पित गर्ने मात्र होइन, यहीं देहत्याग पनि गर्न चाहन्छन् ।

उनी अहिले रोल्पाको थवाङस्थित जलजला अस्पताल तथा अनुसन्धान केन्द्रमा १३ वर्षयता स्वास्थ्य सेवा दिनमा व्यस्त छन् । जापानमा आफूले चिकित्सक क्षेत्रमा बटुलेको अनुभव उनी थवाङका नागरिकको उपचार गर्न उपयोग गरिरहेका छन् । यसैमा उनले जीवनको आनन्द भेट्टाइरहेका छन् ।

‘४० वर्ष जापानमा काम गर्दा नपाएको खुशी १३ वर्ष यहाँका नागरिकको उपचार गर्दा पाएँ’ उनी भन्छन्, ‘जीवनको अन्तिम साससम्म यहींका नागरिकको उपचार गर्न चाहन्छु ।’

४० वर्षअघिको त्यो बाचा

४० वर्षअघिको कुरा हो । उनी मेडिकल विद्यार्थीको रूपमा पहिलो पटक नेपाल आएका थिए । त्यतिबेला उनी केवल एक लक्का जवान थिए । भर्खरै २१ पुगेका । त्यही बेला पाल्पाको तानसेनमा ‘क्षयरोगको भ्याक्सिनेसन’ अभियान चलिरहेको थियो । उनी पाल्पाको तानसेन हुँदै बाग्लुङसम्मको खोप अभियानमा सहभागी हुनपुगे ।

त्यहाँ पुग्दा उनले ग्रामीण भेगको स्वास्थ्य अवस्थाको डरलाग्दो अवस्था देखे- वर्षौंदेखि रोग पालेर बसेका तर कहिल्यै स्वास्थ्य उपचार नपाएका । यो देखेर उनको मन कुँडिएछ । ग्रामीण भेगमा स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता उनले महसूस गरे । त्यही बेला उनले बाचा गरेछन्, ‘कुनै दिन नेपाल फर्किएर दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नेछु ।’

पहाडी भेगका जनतासँग गरेको त्यो बाचा पूरा गर्न उनलाई ४० वर्ष लाग्यो । जापानमा चिकित्सकका रूपमा चार दशक बिताए । त्यो अन्तरालमा उनले नेपाल आउने फुर्सद पाएनन् । जब उनी रिटायर्ड भए, आफूले पहाडी भेगका मानिससँग गरेको त्यो पुरानो बाचा सम्झिए ।

रिटायर्ड हुँदा उनको उमेर थियो ६० । ‘मेरो आवश्यकता यहाँ होइन, अन्यत्रै छ’ भन्ने अनुभूतिले उनलाई जापानमा राम्रोसँग निदाउन दिएनछ । जापानको अनुभव दुर्गम क्षेत्रका नागरिकको सेवामा सदुपयोग गर्छु भन्ने चाहनाले उनलाई जापानको सुविधासम्पन्न शहरबाट नेपालको दुर्गम गाउँतिर ल्याइदियो ।

उनी नेपाल आएको १३ वर्ष भइसकेको छ । उनी भन्छन्- ‘बाँकी जीवन यिनै पहाडी भेगका मानिसको स्वास्थ्य सेवामा बिताउँछु भन्ने सोचेर नेपाल आइपुगें ।’

नेपाल फर्किएको करीब वर्ष दिन उनी काठमाडौंको वीर अस्पतालमा स्वयम्सेवकको रूपमा काम गरे । त्यहाँ उनले नेपालमा चिकित्सकले काम गर्ने तौरतरिका बुझे । त्यसपछि उनी दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा दिन भनेर रुकुमको चौरजहारी अस्पतालमा काम गर्न आइपुगे । केही वर्ष उनले चौरजहारी अस्पतालमा बिताए ।

रुकुमको छिमेकी जिल्ला रोल्पाको थवाङ गाउँबारे उनले धेरै सुनेका थिए । माओवादीको आधार इलाका रहेको यो गाउँ युद्धकालीन समयमा निकै चर्चामा थियो । उनी नेपाल आउँदा भर्खरै युद्धविराम भएको थियो ।

त्यसको केही वर्षपछि तीन दिन हिंडेर उनी त्यहाँ पुगे । युद्धकालीन समयमा थुप्रै मानवीय र भौतिक क्षति व्यहोरेको यो गाउँमा उनी पुग्दा सिंगो गाउँ क्षतविक्षत थियो । युद्धका क्रममा राज्यपक्ष (नेपाली सेना)बाट त्यहाँका घरहरू मात्र जलाइएका थिएनन्, थवाङवासीका मनहरू समेत जलेका थिए । थवाङका हरेक मानिससँग युद्धको घाउहरू ताजै थियो ।

बाँकी थियो, त्यसमा मल्हम लगाउन । त्यसमाथि नेपाली सेनाले स्वास्थ्य चौकी समेत जलाएर ध्वस्त पारेका थिए । सानो अस्थायी छाप्रोमा थियो, स्वास्थ्य चौकी । एकजना सीएमएको भरमा चलेको स्वास्थ्य चौकीमा गतिलो स्वास्थ्य उपचार थिएन ।

‘त्यो समय राज्यपक्षबाट यहाँको स्वास्थ्य क्षेत्रमा ध्यान पुगेको थिएन । न एनजीओको आँखा पुगेको थियो’ उनले भने, ‘त्यो बेलाको अवस्था निकै जटिल थियो । यहाँका जनताले सामान्य उपचार समेत पाउने स्थिति थिएन ।’ त्यसमाथि युद्धका क्रममा घाइते, अपाङ्गता भएकाको अवस्था झनै दयनीय ।

माओवादी द्वन्द्व चरम उत्कर्षमा हुँदा निकै मार भोगे थवाङका नागरिकले । परिवारका सदस्य नगुमाएको घर भेट्न मुश्किल हुन्छ । विछोडको पीडामा अभावले नून छर्किइरहन्छ र हमला गरिरहन्छ रोग र भोकले । साम्यवादको सपना देखाउनेहरू शहर पसेका छन् । तर, सात समुद्र पारिबाट आएका पाहुनाले द्वन्द्वको घाउमा मल्हम लगाइरहेका छन्

एकदिन उनले महिलाहरूले जंगलमा गएर बच्चा जन्माउनु परेको कुरा सुने । त्यसपछि उनको मनमा चिसो पस्यो । उनलाई स्वास्थ्य सेवाको खास आवश्यकता यहीं रहेछ भन्ने लाग्यो । त्यसअघि विभिन्न दुर्गम गाउँहरूमा स्वास्थ्य सेवा दिंदै हिंडेका उनको मन थवाङमा आएर अडियो । यहींका जनताको स्वास्थ्य सेवामा आफ्नो जीवन समर्पित गर्ने प्रण गरे ।

अहिले १२ वर्ष नाघ्यो । भनिन्छ- १२ वर्षमा खोलो फर्किन्छ । तर उनी थवाङ छोडेर कतै गएका छैनन् । जाने पक्षमा पनि छैनन् ।

यसबीच थवाङ गाउँमा स्वास्थ्य क्षेत्रमा धेरै फेरबदल भएको छ । कुनै समय अस्थायी स्वास्थ्य चौकी अहिले जलजला अस्पताल तथा अनुसन्धान केन्द्रमा परिणत भएको छ । डा. इशिदाले अस्पतालका लागि चाहिने स्रोत साधन जुटाउन जापानमा अवकाश छँदा पाएको पैसा सहयोग गरेका छन् । जापानी सरकारले दिंदै आएको पेन्सन उनले यहाँको स्वास्थ्य क्षेत्रको विकासमा लगाएका छन् । फलस्वरूप अस्पतालमा अहिले ओपीडी, मिनी अपरेसन थिएटर, एक्स-रे, भिडियो एक्स-रे र वार्डको व्यवस्था छ । ठूला औषधि उपचार बाहेक सबैखाले स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्दैन ।

त्यसमाथि यहाँका जनताको स्वास्थ्य उपचारका लागि डा. इशिदा २४ सै घण्टा खटिन्छन् । उपचार बापत कुनै बिरामीसँग शुल्क लिएका छैनन् । बरु बिरामीलाई बाहिर उपचारका लागि जानु परे रकम सहयोग गर्छन् ।

केही महीनाअघिको घटना यस्तो थियो । एकजना बिरामीको हड्डी भित्रभित्रै गल्दै गएको रहेछ । अस्पतालमा उपचार सम्भव भएन । बाहिर रिफर गर्नुपर्ने भयो । तर बिरामीसँग उपचारका लागि पैसा रहेनछ । डा. इशिदाले ३८ हजार दिएर ती बिरामीलाई काठमाडौं उपचार गर्ने जोहो गरिदिए ।

डा. इशिदा यस्तै छन् । जापानी सरकारबाट आफूले पाउने गरेको पेन्सनको पैसा बिरामी र दीन-दुःखीका लागि खर्चिन्छन् । अस्पतालको विकासका लागि पनि उत्तिकै सहयोग गर्दै आएका छन् । भन्छन्, ‘जे जति सक्छु यहाँका जनताको स्वास्थ्य उपचारमा सहयोग गर्न चाहन्छु ।’

माओवादी द्वन्द्व चरम उत्कर्षमा हुँदा निकै मार भोगे यहाँका नागरिकले । परिवारका सदस्य नगुमाएको घर भेट्न मुश्किल हुन्छ । विछोडको पीडामा अभावले नून छर्किइरहन्छ र हमला गरिरहन्छ रोग र भोकले । साम्यवादको सपना देखाउनेहरू शहर पसेका छन् । तर, सात समुद्र पारिबाट आएका पाहुनाले द्वन्द्वको घाउमा मल्हम लगाइरहेका छन् ।

थवाङवासी उनलाई भगवान् झैं मान्छन् र उनीप्रति श्रद्धाको भाव व्यक्त गर्छन् । भन्छन्, ‘डा. इशिदा हाम्रा लागि मानिसको अवतारमा भगवान बनेर आए । उनीप्रति सिंगो थवाङ आभारी छ ।’

उसो त डा. इशिदालाई पनि थवाङवासीसँग एक किसिमको प्रेम छ । भन्छन्, ‘यहाँका जनता इमानदार र दयालु छन् । यहाँबाट जुन माया पाएको छु, त्यो अन्यत्र पाउँदिन थिएँ होला ।’

र, त उनी थवाङका जनतालाई छोडेर अन्यत्र कतै जान सकेका छैनन् । न त यहाँका जनताले नै उनलाई कहीं जान दिएका छन् ।

उनका एक श्रीमती, तीन छोरा र एक छोरी भने जापानमै छन् । पटकपटक उनलाई जापान र्फकन भनिरहन्छन् । तर उनको मन थवाङमा बसेको छ । यहाँको जनताको सेवा गर्दा पाएको खुशी र मायाले उनले जापानको त्यो सम्पन्नता र विलासी जीवनलाई बिर्साइदिएको छ ।

बरु उनी यहींका जनताको सेवामा समर्पित भएर देहत्याग गर्ने सोचमा छन् ।

वर्षदिन अघिको कुरा हो, उनले आफ्नी श्रीमतीलाई थवाङ ल्याएछन् । उनले आफ्नी जीवन संगिनीलाई गाउँको पुछारमा रहेको शहीद स्मृति पार्कमा लगेछन् । त्यहाँ लगेर आफ्नो मृत्युपछि गाड्ने चिहान देखाएछन् । श्रीमानको चाहना सुनेर उनकी श्रीमती भावुक बनिन् । उनलाई सम्झाई-बुझाई गरी आफूसँगै घर र्फकन धेरै आग्रह गरेकी रहिछन् । डा. इशिदाले मानेनछन् ।

अहिले जापानमा रहेकी श्रीमतीले पटक-पटक उनलाई सोधिरहन्छिन्, ‘अब त पुगेन, कहिले फर्किने ?’

साँच्चै कहिले फर्किने त ?

उनी एकछिन मौन हुन्छन् र भन्छन्, ‘अब कसैगरी म फर्किन्न होला ।’ हातले इशारा गर्दै उनी थप्छन्, ‘पारि शहीद स्मृति पार्क छ । मृत्युपछि मेरो शरीर त्यहीं राखिदिन भनेको छु । बाँचुञ्जेल सेवा गरेर म यही गाउँमा शरीर सेलाउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment