+
+
सफलताको यात्रा :

त्यसपछि ग्लोबल आईएमई बन्यो ‘नम्बर वान’ बैंक

रोयल आचार्य रोयल आचार्य
२०७८ कात्तिक १४ गते २०:४२

१४ कात्तिक, काठमाडौं । ‘बिग मर्जर, बिग मर्जर… !’

दुई वर्ष अघिसम्म यो अंग्रेजी शब्दावलीले वित्तीय बजार एकदमै ततायो । ठूला बैंकहरू गाभ्ने राष्ट्र बैंकको चाहना र तत्कालीन सरकारले लिएको नीतिका कारण वित्तीय क्षेत्रसँग चासो राख्ने सबैको मुखमा ‘बिग मर्जर’ शब्द झुण्डिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा नै सरकारले यो विषय उठान गर्‍यो । त्यसपछि वित्तीय बजारमा ‘फोर्स मर्जर’को पनि चर्चा शुरू भयो ।

सरकारले नै साथ दिएकाले केन्द्रीय बैंकले अब बैंकहरूलाई जबर्जस्त मर्जर गराउनसक्ने आकलन त्यसबेला वित्तीय क्षेत्रका धेरैले गरेका थिए । केन्द्रीय बैंकले भने स्वतस्फूर्त मर्जरलाई प्रोत्साहन गर्न बैंकहरूलाई केही सुविधा दिने बताउँदै बिग मर्जरको योजनामा सहयोग गर्न अनुरोध गर्‍यो ।

नभन्दै, तत्कालीन ग्लोबल आईएमई बैंक र जनता बैंक नेपालले मर्जरको घोषणा गरे । मर्जरको प्रारम्भिक सम्झौता हुँदै एकीकृत कारोबार पनि रफ्तारमै भयो । अन्ततः यी दुई ठूला वाणिज्य बैंक मर्ज भएर बन्यो, ‘ग्लोबल आईएमई बैंक’ । यो मर्जरले आर्थिक क्षेत्रमा एक किसिमको तरंग ल्यायो ।

त्यो मर्जरपछि बनेको ग्लोबल आईएमई बैंक धेरै सूचकका आधारमा मुलुककै ठूलो बैंक बन्यो । यो बैंक नम्बर वान त्यति सजिलै भने बनेको होइन । वित्तीय बजारमा संघर्षमय यात्रा गरेर यहाँसम्म आएको ग्लोबल आईएमई बैंकको सफलताको कथा बुभ्mन रेमिट्यान्सको इतिहाससम्म पुग्नुपर्छ ।

सन् २००१ मा नेपालले वैदेशिक रोजगारीका लागि मलेशिया खुला गरेपछि एकै वर्षमा धेरै नेपाली त्यहाँ पुगे । त्योसँगै त्यहाँ पनि हुण्डीका कारण नेपाली कामदार ठगिने घटना बढ्न थाल्यो । त्यहाँबाट अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेपछि नेपाल राष्ट्र बैंक पनि चिन्तामा पर्‍यो ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो समस्यालाई अवसरमा बदल्ने चाँजो मिलाए, त्यही साल । उनीसँग करीब एक वर्ष मनी ट्रान्सफर कम्पनी ‘एक्सप्रेस’को एजेन्ट बनेको अनुभव थियो । एक्सप्रेस ‘यूएई एक्सचेन्ज’को वितरक कम्पनी थियो ।

ढकालले त्यही अनुभवका आधारमा ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आईएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकमा लगे । डा. तिलक रावल गभर्नर रहेको राष्ट्र बैंकले उनको प्रस्ताव सहजै स्वीकार गर्‍यो र ‘आईएमई’लाई सञ्चालन अनुमति दियो ।

अहिले रेमिट्यान्सको पर्यायवाची नै बनेको छ आईएमई । शुरुआती समय भने सजिलो थिएन । रेमिट्यान्स कारोबार गरिरहेका वाणिज्य बैंकहरूसँग आईएमईले कडा प्रतिस्पर्धा गर्नुपर्‍यो ।

अनि ढकालले सोचे– हाम्रो पनि आफ्नै बैंक वा वित्तीय संस्था हुने हो भने रेमिट्यान्सको रकम आफ्नै संस्थामा बचत हुनसक्थ्यो, ठूला बैंकहरूसँग प्रतिस्पर्धा गर्न पनि सहज हुनेथियो । त्यसमा धेरै सोचविचार गरेपछि उनले वाणिज्य बैंक खोल्ने योजना बनाए ।

‘राज्यको नीति, सर्वसाधारणको हित र व्यावसायिकतामा ध्यान दिएर आज हामी यो स्थानमा आइपुगेका छौं ।’
चन्द्रप्रसाद ढकाल
अध्यक्ष, ग्लोबल आईएमई बैंक

काठमाडौंमा मात्र प्रधान कार्यालय भएका वाणिज्य बैंकहरू रहेको त्यो बेला राष्ट्र बैंकले बाहिर मात्र बैंक खोल्न दिने नीति अख्तियार गरेको थियो । ‘हामीले वीरगञ्ज हेड अफिस रहने गरी ग्लोबल बैंक दर्ताका लागि १८ जना प्रमोटर मिलेर निवेदन दियौं’ ढकाल सम्झन्छन् ।

निवेदन दिएको केही समयपछि राष्ट्र बैंकले आफ्नो नीति परिवर्तन गर्दै काठमाडौंमै पनि हेड अफिस राख्न दिने बनायो । त्यसपछि काठमाडौं नै प्रधान कार्यालय रहने गरी ग्लोबल बैंकले सञ्चालन अनुमति पायो ।

आईएमई फाइनान्स र ग्लोबल बैंकको छुट्टाछुट्टै कारोबार चलिरहेको थियो । राष्ट्र बैंकले क्रश होल्डिङ भएका अर्थात् एक भन्दा धेरै संस्थामा एकै शेयरधनी भएका बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर गराउने नीति लियो ।

यो नीति कार्यान्वयन गर्ने आईएमई पहिलो बन्यो । तत्कालै आईएमई फाइनान्स र ग्लोबल बैंक मर्ज भए ।

तत्कालीन ग्लोबल बैंक, आईएमई वित्तीय संस्था र लर्ड बुद्ध फाइनान्स आपसमा गाभिए पछि सन् २०१२ मा ग्लोबल आईएमई बैंकको रूपमा कारोबार शुरु भएको थियो । त्यसअघि ग्लोबल बैंक ‘क’ वर्गको बैंकको रूपमा २००७ मा स्थापना भएको हो ।

त्यसबेला रु.१ अर्ब चुक्ता पूँजी लिएर स्थापना भएको ग्लोबल बैंक अन्य संस्थालाई मर्ज गर्दै, पूँजी बढाउँदै अघि बढिरहेको थियो ।

१८ संस्थाको संगम

देशको ठूलो वाणिज्य बैंक बनेको ग्लोबल आईएमई बैंक अन्य बैंक तथा वित्तीय संस्थालाई आफूसँग गाभ्न पहिल्यैदेखि अभ्यस्त थियो । स्थापनाको १२ वर्षमा यो बैंकमा आईएमई बाहेककै १७ संस्था विलय भइसकेका छन् ।

देशको ठूलो वाणिज्य बैंक ग्लोबल आईएमई बन्नुअघि दुई वाणिज्य बैंक सहित १७ बैंक तथा वित्तीय संस्थाको अस्तित्व यसले आफूमा समाहित गरेको छ । ग्लोबल आईएमई बैंक र कमर्स एण्ड ट्रष्ट बैंक यसमा गाभिए । बाँकी १५ वटा विकास बैंक तथा फाइनान्स कम्पनी यसमा विलय भए ।

गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक यसमा मिसिएका छन् ।

यस्तै, ड्राइ डेभलपमेन्ट, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंक पनि ग्लोबलमा मिलेका छन् ।

आईएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल आवास फाइनान्स पनि ग्लोबलमा अटाएका छन् ।

राज्यको नीति कार्यान्वयनमा पनि पहिलो

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष (वेटिङ प्रेसिडेन्ट) समेत रहेका ढकाल जुनसुकै काम गर्दा तीन कुरालाई ध्यान दिने गरेको सुनाउँछन् । पहिलो– राज्यको नीति, दोस्रो– सर्वसाधारणको हित र तेस्रो– व्यावसायिकता ।

‘यी तीन कुरामध्ये मेरो पहिलो सोच भनेको राज्यको नीति पालना गर्नुपर्छ भन्ने हो’ यी तीन कुरामा ध्यान दिएर यो स्थानमा आइपुगेको बताउँदै अध्यक्ष ढकाल भन्छन्, ‘राज्यको नीति कार्यान्वयनमा पनि हामी सधैं पहिलो नम्बरमा छौं ।’

उनले क्रश होल्डिङको नीति आउने वित्तिकै आईएमई फाइनान्स र ग्लोबल बैंक मर्ज गराए । राष्ट्र बैंकले रु.२ अर्बबाट रु.८ अर्ब पूँजी पुर्‍याउन भन्दा होस् या बिग मर्जरको सवालमा; राज्यको नीति कार्यान्वयन गर्ने पहिलो बैंक यही हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य पनि राज्यको नीति पालनामा सधैं अग्रपंक्तिमा रहने बताउँछन् । संस्थागत सुशासन र पारदर्शितामा पनि बैंक सधैं अग्रपंक्तिमै रहने उनको भनाइ छ ।

त्यस्तै, बैंकका सूचना अधिकारीकाे जिम्बेवारीमा समेत रहेका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुरेन्द्रराज रेग्मी भन्छन्, ‘राष्ट्र बैंकले ल्याएको मेगा मर्जरको पोलिसी होस् वा चुक्ता पूँजी बढाउने नीति; ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्ने वा विभिन्न निर्देशित सेक्टरमा कर्जा लगानी गर्ने, ग्राहकलाई पुनर्कर्जा प्रदान गर्ने, कोभिड–१९ बाट प्रभावित ग्राहकहरूको कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने कुरामा हामी सधैं अगाडि छौं ।’


ग्लोबल आईएमई पछि हालसम्म अरू बैंकहरूको बिग मर्जर भइसकेको छैन । मर्ज भएका कतिपय संस्थाले धेरै समस्या झेलिरहेका छन् । ठूला बैंकहरूको मर्जर त्यति सहज छैन भन्ने कुरा यसले पुष्टि गर्छ ।

वित्तीय संस्था मर्जरमा जाँदा मुख्य समस्या जनशक्ति व्यवस्थापनमा आउँछ । मर्जरपछि दुई संस्थाका कर्मचारीबीच विभिन्न विषयमा मत भिन्नता समेत हुने भएकाले जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण बन्छ ।

ग्लोबल आईएमई बैंकले यसमा पनि कुशलता देखाएको छ ।

वित्तीय क्षेत्रमा छुट्टै पहिचान
ग्लोबल आईएमई बैंक वित्तीय क्षेत्रमा अलग पहिचान बनाउन सफल बैंक हो । यो बैंक अहिले चुक्ता पूँजी, शाखा सञ्जाल लगायत सूचकका आधारमा मुलुककै ठूलो बैंक बनेको छ ।

‘हामीले इन्डष्ट्रीमा छुट्टै र विशेष पहिचान बनाएका छौं’ डेपुटी सीईओ रेग्मी भन्छन्, ‘बैंक यो अवस्थामा पुग्नुमा यसका संस्थापक शेयरधनीहरू, अध्यक्ष तथा सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन तथा यसमा कार्यरत कर्मचारीहरूको ठूलो योगदान छ ।’

अहिले ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी रिजर्भ सहित कोर क्यापिटल रु.२९.४ अर्ब, निक्षेप रु.२८३.३ अर्ब, कर्जा रु.२४२.५ अर्ब र ग्राहक संख्या २७ लाख छ ।

बैंकमा ३२ सय भन्दा धेरै प्रत्यक्ष रोजगार छन् । अप्रत्यक्ष रूपमा रोजगारी पाउनेहरूको संख्या पनि ठूलो छ ।

बैंकले मुलुकभित्र ७६ जिल्ला र बाहिर तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४१ भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा दिइरहेको छ ।

बैंकका २८३ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर छन् ।

विदेशमा पनि फैलिने रणनीति

ग्लोबल आईएमई बैंकले ‘बैंक फर अल’ भन्ने ‘स्लोगन’ अनुसार ठूला उद्योगीदेखि साना उद्यमीसम्म पुग्ने रणनीति बनाएको छ । अहिले लगानी पनि सोही अनुरुप भइरहेको अध्यक्ष चन्द्र ढकाल बताउँछन् ।

नेपालका ७६ वटा जिल्ला पुगिसकेको यो बैंक बाँकी एक जिल्लामा पनि निकट भविष्यमा शाखा विस्तार गर्ने योजनामा छ । बैंकले विदेशमा समेत आफ्नो सञ्जाल विस्तार गर्ने रणनीति बनाएको छ ।

हाल भारत, बेलायत र अस्ट्रेलियामा यो बैंकको सम्पर्क कार्यालय छ । अबका दिनमा अन्य मुलुकमा पनि क्रमिक रूपमा शाखा खोल्दै जाने अध्यक्ष ढकाल बताउँछन् ।

‘नेपालमा हामी सबै विविध क्षेत्रमा लगानी गर्न चाहन्छौं’ उनी भन्छन्, ‘बेतन कर्णाली हाइड्रोपावरमा हामीले लिड गरेका छौं, अन्य ठूला आयोजनाहरूमा पनि लगानी विस्तार गर्दै जानेछौं ।’

बैंकको आन्तरिक योजना

सीईओ बज्राचार्य बैंकको खर्च घटाउने र आम्दानी बढाउने योजना अनुरूप काम भइरहेको बताउँछन् । उनका अनुसार, त्यसका लागि ‘भिजन–२०२५’ बनाएर कार्यान्वयन गरिएको छ । कारोबार ‘डिजिटाइजेशन’ पनि यही भिजनभित्र पर्छ ।

यसअनुसार, प्रविधिको उच्चतम प्रयोग गरी सन् २०२५ सम्म बैंकको व्यवसाय दोब्बर बनाउने रणनीति छ । व्यवसाय दोब्बर हुँदा पनि कर्मचारी भने दोब्बर हुने होइन, अझ घट्ने सीईओ बज्राचार्य बताउँछन् ।

गत वर्ष ग्लोबल आईएमई बैंक बचत निक्षेप वृद्धिमा पनि पहिलो नम्बरमा देखिएको थियो । ५० अर्ब निक्षेप बढेकोमा २५ अर्ब त बचत खातामा मात्र वृद्धि थियो । अहिले पनि बचत निक्षेप १०२ अर्बभन्दा माथि छ ।

१०४ अर्बसम्म पुगेको बचत निक्षेप गत असारपछि तरलता समस्या आए पनि अहिले १०२ अर्बभन्दा बढी नैै रहेको सीईओ बज्राचार्यले बताए । रिटेल ग्रोथमा पनि बैंक निकै राम्रो रहेको उनले बताए ।

उनका अनुसार संस्थागत निक्षेपमा बैंकको ३२ प्रतिशत र कर्जा लगानी २६२ अर्ब छ । यसमा कर्पोरेटमा ४० प्रतिशत हिस्सा छ भने रिटेलमा ६० प्रतिशत । अझ यसलाई राम्रो गर्दै अघि बढ्ने सीईओ बज्राचार्यले बताए ।

गत वर्ष एलसी ग्यारेन्टीबाट कमाउनेमा पनि निकै राम्रो सुधार गरेको बैंकले यो वर्षको शुरुआतदेखि नै निकै राम्रो छ । गैर कोषमा आधारित आम्दानीबाटै तलब भत्ता लगायतका खर्चहरू पुर्‍याउने सोच रहेको सीईओ बज्राचार्यले सुनाए ।

‘आगामी चार वर्षमा हाम्रो बिजनेश दोब्बर हुने त छँदैछ, २०२५ जुलाई सम्ममा गैर–कोषमा आधारित आम्दानीबाटै सबै खर्च पुर्‍याउने सोचेका छौं’ सीईओ बज्राचार्यले भने, ‘निक्षेप, कर्जा होस् या खुद मुनाफा, सबैलाई दोब्बर बढाउने योजना कार्यान्वयनमा छ ।’

बैंकका सूचना अधिकारी तथा नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी

देशभित्र शाखा विस्तार भने बढीमा १५–२० वटा मात्र गरिने उनले बताए । उनका अनुसार, प्रविधिको अधिकतम प्रयोगबाट कर्मचारी संख्या घटाउँदै बिजनेश दोब्बर बनाइनेछौं’ उनले भने, ‘आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा जोडेपछि उहाँहरूले बैंकसम्म धाउनुपर्ने बाध्यता हट्छ । काउन्टरमा काम गर्ने कर्मचारीलाई ‘सेल्स फोर्स’मा बदलेपछि हाम्रो फाइदा बढ्छ ।’

डिजिटल कारोबार हुँदा एकातिर ग्राहकलाई शुल्क कम पर्छ भने अर्कोतिर बैंकले जनशक्तिमा गर्नुपर्ने खर्च घट्छ । यही रणनीति अनुसार काम गरिरहेको सीईओ बज्राचार्य बताउँछन् ।

ग्लोबल आईएमई बैंकका २७ लाख ग्राहकमध्ये १० लाखलाई यही वर्ष डिजिटल प्लाट फर्ममा जोड्ने लक्ष्य लिएको उनले बताए ।

सन् २०२५ सम्म ग्राहक संख्या ५० लाख पुर्‍याएर ३० लाखदेखि ३५ लाखसम्मलाई डिजिटल कारोबारमा जोड्ने सुनाउँदै सीईओ बज्राचार्यले भने, ‘हामी हरेक कारोबार पेपरलेस बनाउन चाहन्छौं, शतप्रतिशत नभए पनि ८० प्रतिशत पेपरलेस बनाउन सकिन्छ ।’

तस्वीर र भिडियोहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?