+
+

‘घुमौ पूर्व’ अभियान : प्रदेश २ सँग सहकार्यको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते ९:११

१४ कात्तिक, वीरगञ्ज । प्रदेश नं १ का होटल तथा व्यवसायीले प्रदेश नं २ का व्यवसायीसँग अन्तर प्रदेश पर्यटन विकास र प्रवर्द्धनका लागि सहकार्य गर्न प्रस्ताव गरेका छन् ।

प्रदेश नं १ को विराटनगर, काँकडभिट्टा, दमक, धरान, विर्तामोड, इटहरी लगायत क्षेत्रबाट वीरगञ्ज आएका होटल तथा पर्यटन व्यवसायीहरूले सहकार्यको प्रस्ताव गरेका हुन् ।

उनीहरूले पूर्वका धार्मिक, ऐतिहासिक, प्राकृतिक पर्यटकीय स्थलहरूको बारेमा जानकारी गराउँदै पूर्व घुम्न आउन निम्तो समेत दिएका छन् ।

होटल एसोसियसन नेपाल हानका प्रदेश नं. १ का अध्यक्ष राजन श्रेष्ठ र आन्तरिक पर्यटन पुनरुत्थान समिति संयोजक भविसकुमार श्रेष्ठ नेतृत्वमा आएको १३ सदस्यीय पाहुना टोलीलाई वीरगञ्ज उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ प्रदेश नं २ र पर्यटन तथा हवाई यातायत समितिले वीरगञ्जमा स्वागत गरेको थियो । वीरगञ्ज उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा आपसी सहकार्यमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने प्रस्ताव पूर्वका होटल तथा पर्यटन व्यवसायीहरुले राखेका थिए ।

उनीहरूले प्याकेज बनाएर दुवैतिरको व्यवसाय प्रवर्द्धन र अन्तर सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिए । धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले दुवै प्रदेशमा प्रचुर सम्भावना भए पनि पर्यटन क्षेत्रमा राज्यको उपेक्षाका कारण पूर्वाधार विकास हुन नसक्दा ओझेलमा परेको कार्यक्रममा सहभागीहरूको धारणा छ ।

भारतीय पर्यटक हेपिएको गुनासो

कार्यक्रममा बोल्दै हान प्रदेश १ का अध्यक्ष श्रेष्ठले भारतीय पर्यटकले नेपाल जस्तो उत्तम गन्तव्यस्थल कतै नभेट्ने बताए । उनले भारतीय पर्यटक माथि गरिने हेपाहा प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।

‘नेपाल आउन पासपोर्ट भिषा चाहिन्न, खाना, रहनसहन भाषा मिल्छ । भारतीय पर्यटकलाई नेपाल जस्तो उत्तम गन्तव्य स्थल अरु हुनै सक्दैन । तर उनीहरुप्रति गरिने हेपाहा प्रवृत्ति अन्त्य हुनुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘तेस्रो मुलुकका पाहुना एउटा बियर वा एक कप कफी र पाउरोटी खाएर जान्छन्, भारतीय पर्यटक दिल खोलेर खर्च गर्छन् । उनीहरूविना नेपालको पर्यटन व्यवसाय फस्टाउन सक्दैन ।’

आन्तरिक पर्यटन पुनरुत्थान समिति संयोजक भविसकुमार श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको मेरुदण्ड नै भारतीय पर्यटक भएको बताए । एन्टी इन्डियन मानसिकताको विकास गरेर नेताहरूले राजनीतिक रुपमा फाइदा लिए पनि पर्यटन क्षेत्रको विकास सम्भव नभएको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का अध्यक्ष गणेश लाठले भारतीय पर्यटकबारे विद्यमान गलत अवधारणाविरुद्ध अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘भारतीय पर्यटकलाई बेलायती पर्यटकसँग तुलना गरिन्छ र त्यस्तै व्यवहार खोजिन्छ । अनि त्यस्तो नपाएपछि दुर्व्यवहार गरिन्छ,’ उनले भने, ‘बढी हल्ला गर्छन् होला, बोल्न नजानेका होलान् तर उनीहरुलाई हेप्न पाइन्न ।’

उनले होटल तथा पर्यटन क्षेत्रमा काम गर्ने तल्लो तहका कर्मचारीलाई कस्तो व्यवहार गर्ने भन्ने बारेमा तालिम नै दिनुपर्ने बताए । सौन्दर्य बेचेर पैसा कमाउने पेसा भएकोले होटल तथा पर्यटन व्यवसायलाई निर्यातजन्य उद्योगको रुपमा हेरेर विकास गर्नुपर्ने उनको धारणा छ ।

‘पाथीभरा, बराह र हलेसीलाई धार्मिक पर्यटकीय सर्किट बनाउन सकिन्छ’

नेपाल होटल व्यवसायी महासंघ प्रदेश नं. १ का महासचिव वासुदेव बरालले हिन्दु धर्मका तीनै समुदाय शाक्त, वैष्णव र शैवलाई पूर्वमा आकर्षित गर्न सकिने बताए । पाथीभरा, बराह क्षेत्र र हलेसी महादेवलाई धार्मिक पर्यटकीय सर्किट बनाउन सकिने उनको भनाइ छ । धरान रुद्राक्ष उत्पत्ति भएको स्थल भएको बताउँदै उनले भोजपुर र संखुवासभामा रुद्राक्षको खेती हुने जानकारी दिए ।

‘पातलेमा सिमलाको टेष्ट दिन सकिन्छ, मकालुदेखि गौरिशंकर हिमालसम्म देखिन्छ । भेडेटार रमाइलो छ, कन्यामबाट आँखाले देखेसम्म कार्पेट विच्छ्याएको जस्तो हरियो पहाड देखिन्छ,’ उनले भने, ‘धरान, इलाम र ताप्लेजुङलाई जोडेर गोल्डेन ट्रयाङ्गल बनाउने सोचमा छौं । प्रदेश नं २ तर्फ रामधुनी र जनकपुरलाई जोड्न सकिन्छ ।’

प्रदेश २ को पर्यटन तथा हवाई यातायात समितिका सहसंयोजक सञ्जय अग्रवालले भारतीय पर्यटकलाई आकर्षित गर्न प्याकेज ल्याउनुपर्ने बताए ।

संघको आगामी कार्यसमितिको बैठक भेडेटारमा गर्ने घोषणा गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले जानकारी दिए ।

कात्तिक १२ गते पूर्वबाट निस्केको टोलीले प्रदेश नं. २ को जनकपुर, वीरगञ्ज, सिमरा लगायत अन्य स्थानका होटल तथा पर्यटन व्यवसायीसँग छलफलमार्फत अनुभव आदान प्रदान गर्नुको साथै पर्यटकीय क्षेत्रको अवलोकन र आपसमा मिलेर पर्यटन प्रवर्द्धनका लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने बारेमा परामर्श समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?