+
+

‘कु’विरुद्ध प्रदर्शन गरेका सुडानी भन्छन् – सेनाको गोलीबाट कत्ति पनि डराएका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १०:५२

१४ कात्तिक, काठमाडौं । सुडानमा गत हप्ता भएको सैनिक ‘कू’को विरोध गर्दै देशव्यापी विरोध प्रदर्शन भएको छ ।

शनिबार हजारौं मानिसले सुडानका विभिन्न शहरमा सैनिक ‘कू’विरुद्ध प्रदर्शन गरेको अलजजिराले जनाएको छ । प्रदर्शनका क्रममा राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले ‘सैनिक शासनको तारिफ गर्न सकिँदैन’, ‘यो हाम्रो मुलुक हो र हाम्रो सरकार नागरिक हो’ जस्ता नारा लगाएका थिए ।

त्यस्तै, पक्राउ गरिएका अधिकारीलाई तत्काल रिहा गर्न समेत प्रदर्शनकारीले माग गरेका छन् । सेनाले गत सोमबार सत्तापलट गरी प्रधानमन्त्री अब्दल्लाह हामदोकसहित वरिष्ठ अधिकारीलाई नजरबन्दमा राखेको थियो । तर पछि हामदोक नजरबन्द मुक्त भएका थिए । नजरबन्दमा रहेका अन्य अधिकारी अझै पनि सेनाको नियन्त्रणमा छन् ।

नागरिक नेतृत्वको सरकार पुनर्स्थापना गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका मानिसमाथि सुरक्षाकर्मीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको पनि समाचारमा उल्लेख छ ।

सुडानका चिकित्सकलाई उदृत गर्दै सुरक्षाकर्मीको गोली लागी ३ जना प्रदर्शनकारीको मृत्यु भएको समाचारमा जनाइएको छ । तर प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाइएको घटनालाई खण्डन गरेको छ ।

‘सेनाको गोलीबाट डराउँदैनौं’

‘जनताले आफ्नो सन्देश दिइसकेका छन् अर्थात् पछि हट्ने संभावना छैन र शक्ति/सत्ता जनताको हो’,  शनिबारको प्रदर्शनमा सहभागी हैथम मोहमदले भने ।

त्यस्तै, अधिकारीकर्मी ताहानी अब्बासले आफूहरु सैनिकबाट शासित नहुने बताएकी छन् । ‘हामी सैनिकबाट शासित हुने छैनौं र हामीहरु यही सन्देश दिन चाहन्छौं’, उनले भनिन् । सुरक्षा बल जनता मार्न उद्त रहेको र सडकमा हुन सक्ने घटनाबारे आफूहरूले अनुमान गरेको भएपनि प्रदर्शनकारी कत्ति पनि नडराउने उनको भनाइ छ ।

‘सेनाले मान्छे मारिरहेको छ, अन्याय गरेको छ र सडकमा के हुन्छ भनेर हामीले अनुमान गरिसकेका छौं’, अब्बासले भनिन्, ‘तर हामीहरु कत्ति पनि डराएका छैनौं ।’

नागरिकद्वारा नियुक्त गरिएको मन्त्रिपरिषद्ले समेत एक विज्ञप्ति जारी गर्दै विरोध प्रदर्शनप्रति समर्थन जनाएको छ । सेनाले ‘स्वतन्त्र वा साँच्चैको क्रान्तिकारी लोकतान्त्रिक शक्तिलाई आफ्नो साझेदारको रुपमा पाउने छैन्’, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?