+
+

नेपालको स्वच्छ ऊर्जा विकासमा लगानी गर्न बेलायतलाई प्रधानमन्त्री देउवाको आग्रह

रासस रासस
२०७८ कात्तिक १४ गते २०:१४
Photo Credit : RSS

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको स्वच्छ उर्जा विकासमा लगानी गर्न बेलायतलाई आग्रह गरेका छन् । आइतबार बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्डष्ट्रिज मन्त्री पल सोलीसँगको शिष्टाचार भेटमा उनले यस्तो आग्रह गरेका हुन् ।

नेपालमा नवीन प्रविधि भित्र्याउन बेलायतको सहयोगको अपेक्षा गर्दै प्रधानमन्त्री देउवाले ‘ग्रिन एण्ड क्लीन’ ऊर्जामा लगानीका निम्ति बेलायका उद्योगपति व्यापारीलाई नेपाल गन्तव्य बनाउन आग्रह गरे । जवाफमा बेलायती मन्त्री सोलीले बेलायत सरकार र उच्च निकायसँग थप छलफल गरेर निष्कर्षमा पुगिने र सक्दो सहयोगको प्रतिबद्धता जनाएको भेटमा सहभागी परारष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए ।

आइतबार नै लण्डनस्थित भूतपूर्व गोर्खा सैनिक संघका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले बेलायती कानूनअनुसारको माग राख्न आग्रह गर्दै उनीहरुका समस्या समाधानमा नेपाल सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

यस्तै आफ्नो सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री देउवाले कोप–२६ मा जलवायु परिवर्तनको असरले नेपालमा पारेको प्रभावलाई मुख्य मुद्दाका रुपमा प्रस्तुत गर्ने बताए ।

‘पछिल्लो समयमा जलवायुजन्य विपद्ले पारेको प्रभाव, जलवायुजन्य हानी नोक्सानी, अनुकूलन र न्यूनीकरणलगायत विषय नेपालको धारणा राख्नेछु,’ देउवाले भने ।

प्रधानमन्त्री देउवा सोमबार र मंगलबार स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाकासंरचना महासन्धिको पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप–२६) अन्तर्गत विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुँदैछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?