+
+

तिहारको मीठो व्यञ्जन : सेलरोटीदेखि फिनीसम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १३:३८

शारदीय ऋतुको दोस्रो ठूलो उत्सव तिहार केही दिनमा नै नेपालीले धुमधामका साथ मनाउँदै छन् । धनधान्यकी देवी लक्ष्मीको पूजा र दिदी–भाइबीचको भावनात्मक सम्बन्धको पर्वको रुपमा समेत मनाइने यो पर्व केही विशेष खानपान परिकार लिएर आउने गर्छ । केही विशेष परिकारहरु छन् जुन तिहारमा मात्रै पकाउने गरिन्छ र केही यस्ता परिकारहरु छन् जसले तिहारको माहोल लिएर आउँछ ।

तिहारको उमंगलाई झनै भव्य बनाउने खाद्य परिकारहरु हुन्, चिनी रोटी, फिनी रोटी, अनरसा, अर्सा र सेल । यी सदावहार परिकारहरू आफैँमा तिहारको पर्यायवाची बनिसकेका छन् । अर्थात् तिहार यस्ता मिष्ठान्नविना फिक्का हुन्छ ।

सेल रोटी

सेल रोटी र यसको पाक् विधिबारे बेखर कमै होलान् । विशेषगरी पहाडी भेगको कुनैपनि यस्तो नेपाली घर नहोला जहाँ कहिलै सेल रोटी नपाकेको होस् । अझ तिहार मान्नेहरूको घरमा त सेल रोटी बिनाको तिहार असम्भव जस्तै हुन्छ । यहाँ सेल रोटीको पाक् विधिबारे उल्लेख गरिएको छ ।

परिकार : सेल रोटी

आवश्यक सामग्री 

– एक किलो चामलको पिठोे

– ताई-तावा एउटा

– एक लिटर तोरी वा सनफ्लावरको तेल

– एक पाउ चिनी

– ४ चम्चा घिउ

बनाउने विधि :

सेल रोटी बनाउनको लागि चामललाई केही समय भिजाएर वा सुख्खा कुटेर पिठो बनाउनु पर्छ । पिठो मसिनो खालको हुनु जरुरी छ । तयारी पिठोबाट राम्रो र स्वादिष्ट रोटी बनोस् भनेर घिउ र चिनी पनि मिसाउने गरिन्छ । सेल रोटी बनाउँदा चामलको पिठोमा आवश्यकता अनुसार दूध, तेल, नौनी, सुजी, मैदा लगायतका सामग्री पनि मिसाउने चलन छ । यी सामग्री नमिसाई पनि रोटी बनाउन सकिन्छ । सेल तातो तेलमा पकाउने परिकार हो । तर कताकतै तातो घिउमा पनि सेल रोटी पकाउने गरिन्छ । रोटी बनाउन योग्य पीठो बाक्लो तर लेदो जस्तो तरल अवस्थामा हुन्छ । त्यसलाई तातो तेल वा घिउमा गोलो बनाएर पकाइन्छ । यसरी तयार पारिएको सेल रोटीलाई सामान्य कोठाको तापक्रममा २० दिनसम्म भण्डारण गर्न सकिन्छ । सेल रोटी प्रायः घरबाट टाढा रहेका पारिवारिक सदस्यहरूलाई विशेष उपहारको रूपमा पठाउने र पूजामा प्रसादको रूपमा प्रयोग गर्ने गरिन्छ ।

फिनी रोटी

फिनी रोटी पनि तिहारमा बनाइने विशिष्ट खाद्य परिकार हो । यो कतै मैदाको पिठोको र कतै चामलको पिठोबाट बनाउने गरिन्छ । बालुवाटारमा फिनी रोटी बनाउने सन्तोषी खड्का चामल र मैदाको पिठो दुवैबाट फिनी रोटी बनाउन सकिने बताउँछिन् ।  मैदाको पिठोबाट फिनी रोटी बनाउँदा मैदाको पिठोलाई घ्युमा मिसाएर बनाइन्छ । तर धेरैतिर फिनी रोटी चामलको पिठोबाटै बनाइन्छ । फिनी रोटी बनाउने तरिका यस्तो छ ।

परिकार : फिनी रोटी

आवश्यक सामग्री :

–एक केजी चामलको मसिनो पिठो

–४-५ चम्चा घिउ

–मिसाउनको लागि थोरै मैदाको पिठो

–एक लिटर तोरीको तेल

बनाउने तरिका

परिवारको संख्या अनुसार आवश्यक चामलको रोटीलाई मुछ्ने । रोटी बनाउन प्रयोग गरिने पिठोको डल्लालाई मजाले माड्ने । माडिएको मैदा÷चामलको पिठोको डल्लो नरम भएपछि फिनी बनाउन तयार हुन्छ । तयार भएको पिठोलाई एकछिन त्यत्तिकै छाड्ने ता कि पिठो नरम होस् । फिनी बनाउन पिठो निकै मुलायम हुन आवश्यक छ । त्यसको लागि गाउँघरमा ओदाल नामक रुखको जरालाई चामल कुट्ने बेलामा नै तयार पार्ने गरिन्छ । कुट्नुभन्दा पहिले चामललाई एक घण्टा पानीमा भिजाएर राख्नुपर्छ । छुट्याइएको चामलको पिठोको अनुपात अनुसार घिउमा मुछ्ने । खड्काका अनुसार घिउ र चामलको पिठो मुछेर तयार पारिएको पेस्टलाई नेपाली भाषामा ‘साँठो’ भनिन्छ । तयार पारिएको मैदाको पिठोलाई राम्रोसँग बेल्ने । बेलेको रोटीमा घ्यु र चामलको पिठोबाट तयार पारिएको ‘साँठो’ लाई राम्रोसँग लगाइन्छ । बेलिएको रोटीमा बराबरी साँठो लगाएपछि बिस्तारै रोल गर्ने (बेर्ने) । गोलाकार बेलिएको पिठोलाई स–सानो डल्ला पारेर काट्ने । काटिएको पिठोको डल्लालाई बेल्ने, बेलेर तयार गरिएको रोटी पत्र–पत्र भएर छुटिन्छ । यसरी फिनी रोटी तयार हुन्छ ।

अनरसा

अनरसा पनि तिहारमा बनाइने एक स्वादिष्ट परिकार हो । तिहारको संकेत गर्ने परिकारमध्ये अनरसा पनि एक हो । यो स्वादिष्ट र स्वास्थ्यवद्र्धक पनि हुन्छ । यो परिकार पकाउनको लागि निम्न सामग्री आवश्यक पर्छ ।

परिकार : अनरसा

आवश्यक सामग्री :

–मिलमा मसिनो गरी पिँधिएको चामलको पिठो

–एक केजी घिउ वा एक प्याकेट तेल

–आवश्यक मात्रामा सेतो तिल, कागतीको रस, र जिराको धुलो

–आवश्यक मात्रामा चिनी

–किसमिस र नरिवलको टुक्रा

बनाउने विधि

अनरसा बनाउको लागि एउटा गहिरो भाँडोमा चामलको पिठोलाई मुछ्ने । पिठो मुछ्नभन्दा पहिले पिठोमा चिनी, घिउ लगायत सामग्री राखेर पिठोलाई डल्लो पार्ने । चिनी र घिउ पिठो मुछिसकेपछि पनि पिठोमा राख्न सकिन्छ । पिठो मुछिसकेपछि चिनी राख्नु परेमा एउटा भाँडोमा पिठोलाई फिँजाएर राख्नुपर्छ र त्यसको माथिमाथि आवश्यक चिनी राख्नुपर्छ । त्यसलाई ६÷७ घण्टा त्यत्तिकै छाड्दा चिनी पग्लिएर पिठोको बीचबीचमा पुग्छ । यसपछि यही पिठोबाट अनरसा बनाउन पनि सकिन्छ तर यसलाई २४ घण्टासम्म राख्ने हो भने अझै राम्रो रोटी बनाउन सकिन्छ ।

पिठो तयार भएपछि सानासाना डल्ला बनाएर त्यसलाई रोटीको आकारमा ढाल्नुपर्छ । त्यसको एकातर्फ तिल, किसमिस नरिवल जिराको धुलो आदि मसलाहरु छर्किने गरिन्छ । ती सबै तयार पारेपछि त्यो काँचो पिठोलाई तातो तेलमा बसालिन्छ । यसमा ध्यान दिनुपर्ने कुरा भनेको अनरसालाई फर्काएर पकाइँदैन । एकातर्फ राखेपछि नपाकेसम्म जस्ताको त्यस्तै छाड्ने र पछि रातो भएपछि त्यसलाई निकालेपछि स्वादिष्ट अनरसा तयार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment