
१४ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि अर्थतन्त्रमा भएको पुनरुत्थानको तीब्र गतिका कारण चालू आवमा तरलता अभाव भएको बताएका छन् ।
‘अपेक्षाभन्दा निकै राम्रो गतिमा पुनरुत्थान भयो,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको गहिरिँदो तरलता अभाव : कारण र समाधान विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले भने, ‘तर यसको चाप तरलतामा प्रत्यक्ष रुपमा परेको हो ।’
सरकार र नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षमा लिएका पुनरुत्थान प्याकेजहरुको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिएको उनले बताए । यसमा निजी क्षेत्रको उत्साह, नेपाल राष्ट्र बैंक र सरकारको प्रयासले अर्थतन्त्र रिकोभरी छिटो हुन सम्भव भएको बताए । यही उत्साहका बीचमा बैंक तथा वित्तीय संस्था गम्भीर हुन नसकेको परिणाम अहिले देखिएको उनले बताए । बैंक तथा बित्तीय संस्थाले हाड हेरेर घाँटी निल्नु पर्ने भनाइमा गम्भीर नभएका कारण अहिले समस्या देखियको उनले बताए ।
यद्यपि अहिले पनि तरलता अभावका कारण कर्जा नै नपाइने हो कि भनेर चिन्तिन भने हुनु नपर्ने उनको भनाइ छ । ‘अब कर्जा नै नपाइने हो कि भन्ने चिन्ता भने गर्नु पर्दैन,’ उनले भने,’ यत्ती हो, वास्तविक लगानीकर्ताले ढिलो चाँडो कर्जा पाउँछन् ।’ बैंकमा आएको चेक बाउन्स नहुने र त्यो अभाव हुन पनि नदिने उनले बताए । राजनीति परिवर्तनका कारण समेत तरलता सम्स्या आएको उनको भनाइ छ ।
उनका अनुसार साउन यता ३५१ अर्ब कर्जा लगानी भएको छ । यो बीचमा निक्षेप सङ्कलन भने १ खर्ब समेत नपुगेको उनले जानकारी दिए । सोही कारण तरलताको समस्या देखियको हो । यो वर्ष गएको ऋण मध्ये ५० प्रतिशत वस्तु आयातका लागि गएको भन्दै स्वदेशमै लगानी हुन सकेको भए कुनै न कुनै माध्यमबाट तरलता व्यवस्थापन हुन सक्ने उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सेखर गोल्छाले यो वर्ष सरकारले पुँजीगत खर्च बढाउन नसकेका कारण तरलताको अभाव बढेको बताए । सरकारी ट्रेजरीमा सात खर्ब रकम अड्किएको उनले बताए । तरलता अभावले ४५ लाख शेयर लगानीकर्ता समेत प्रभावित हुने उनले बताए । उनले आयातमा कडाइ गर्ने भन्दा निर्यात बढाउने र पर्यटक बढाउन तर्फ सरकारले बढी ध्यान दिनु पर्ने आग्रह गरे ।
नेपाल बैंकर्ष संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले घाँटी हेरेर हाड निल्न नसकेकै कारण अहिलेको अवस्था आएको स्वीकार गरे ।
प्रतिक्रिया 4