+
+

अहो अन्नपूर्ण ! मन भयो भरिपूर्ण (फोटो फिचर)

युनिश गुरुङ युनिश गुरुङ
२०७८ कात्तिक १५ गते १९:१९

बिहानै उठेर झ्यालका पर्दा सर्काउँदा हिमालले चिसो हावा हम्कियो अनि तन चंगा भयो । मन पखेंटा हालेर छिनमै फुरुरु उड्न थाल्यो । बिहान झुल्के घाम लाग्दा सुनजस्तै टल्किएका हिमाल आँखैमा ठोक्किन आइपुग्यो । विस्तारै सुनको जलप हटाएर चाँदी ओढेर देखियो, सेता हिमाल ।

त्यही हिमालको फेदैमा छ, सानो उपत्यका । उपत्यकामा देखिन्छ, अर्धकदको सुनौलो शालिक । शालिक वरपर देखिन्छन् हिमाललाई पृष्ठभूमिमा राखेर सेल्फी खिचिरहेका देशी-विदेशी पर्यटक ।

यो दृश्य अन्नपूर्ण आधार शिविर अर्थात् अन्नपूर्ण बेस क्याम्पको हो । शालिक चाहिं फ्रान्सेली आरोही मोरिस हर्जोगको हो । मोरिस हर्जोग तिनै व्यक्ति हुन्, जसले नेपालका ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको आरम्भ गरेका थिए ।

एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहणको थालनी गर्नुभन्दा तीन वर्ष पहिले नै सन् १९५० मा अन्नपूर्ण हिमालको सफल अरोहण गरेका थिए । आरोहणपछि उनले ‘लाअन्नापूर्ना फर्मिय उइ मिल’ भन्ने पुस्तक पनि लेखे ।

४० भन्दा बढी भाषामा प्रकाशित भइसकेको यो पुस्तक सन् २००० सम्म १ करोड १० लाख प्रति बिक्री भएको थियो । यो पुस्तक यतिसम्म लोकप्रिय बन्यो कि कुनै समय अमेरिकी बजारमा बाइबलभन्दा बढी बिक्री भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । सम्भवतः विश्वमा सबैभन्दा धेरै बिक्री भएको नेपाल सम्बन्धी पुस्तक यही हो । पुस्तकमा नेपाल र अन्नपूर्णबारे लेखिएको थियो । जुन पुस्तक पढेर नेपाल घुम्न आउनेहरु बढेको जानकारहरु बताउँछन् ।

अन्नपूर्णभन्दा पछि आरोहण इतिहास बोकेको सगरमाथाले विश्वको ध्यान खिच्यो । अन्नपूर्ण शिखरमा भने आरोहीको उति साह्रो पाइला पुगेन । तर, आधार शिविरसम्म भने धेरैको आकर्षण छ ।

अन्नपूर्ण हिमालमा मोरिसको पाइला पर्नु नै नेपालको पर्यटन विकासमा महत्वपूर्ण कडी मानिन्छ । अन्नपूर्ण चुचुरोमा पुगेर मोरिसको कद मात्रै अग्लिएन, नेपालको वैभवलाई पनि अग्ल्याए ।

हर्जोग कालीगण्डकी किनारै किनार भएर म्याग्दी  पुगेका थिए  । त्यहींबाट हिमाल आरोहण गरेका थिए । शुरुका दिनमा यस क्षेत्र पुग्ने आरोही मात्र हुन्थे । पछि अन्नपूर्ण क्षेत्र फिरन्तेहरुले पनि पछ्याउन थाले । जतिबेला राम्रो पदमार्ग थिएन र होटल पनि थिएनन् । चराले झैं पखेंटा फिजाउँदै उफ्रिँदै खिचेका तस्वीरहरु छिनमै विश्वसामु पुर्‍याउने प्रविधि थिएन । तर, पनि प्रकृतिको अनुपम आनन्द लिनेहरुको रोजाइमा पर्दै गयो, अन्नपूर्ण ।

अन्नपूर्ण आधार शिविरमै चित्राको गोठ बनाएर सेवा सत्कार गरेको पर्यटन व्यवसायी राजकुमार गुरुङ स्मरण गर्छन् । सन् १९८६ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापना भएपछि यस क्षेत्रको पर्यटन व्यवस्थित हुन थालेको गुरुङको अनुभव छ ।

गर्मीको उकुसमुकुस छल्न अन्नपूर्ण आधार शिविर पुग्नेहरुलाई हिमालमा ठोक्किएर फर्केको चिसो हावाले हम्काउँछ । शहरको कोलाहलले दिक्क बनेकाहरुको मन यहाँको प्राकृतिक छटाले आनन्दित तुल्याउँछ ।

भौगोलिक हिसाबले अन्नपूर्ण हिमालको आधार शिविर अन्नपूर्ण गाउँपालिका-११ मा पर्ने भएपनि यसको नाम विश्वभर फैलिएको छ । उचाइमा त अन्नपूर्ण बेस क्याम्प लगभग ४,२०० मिटर हो, तर त्यहाँ पुग्दा खुशीको उचाइमा करोडौं मिटरमाथि मनले वेग मार्छ ।

सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउँदा मनले चाहिं खुशीको ब्रम्हाण्ड फन्को मारेझैं अनुभूति गर्छ । यहाँबाट अन्नपूर्ण, धौलागिरी, मनास्लु, गंगापूर्ण लगायत हिमशृंखलालाई नजिकैबाट हेर्दा लाग्छ, कतै स्वर्ग छ भने त्यो यही हो ।

विदेशी पर्यटकले यो गन्तव्यस्थललाई ‘अन्नपूर्ण सेन्च्युरी’को नामले पनि चिन्छन् । विशेषगरी अन्नपूर्ण बेस क्याम्पबाट देखिने सूर्योदयले पर्यटकलाई लोभ्याउँछ । यही दृश्य हेर्ने आकांक्षा बोकेर बर्सेनि हजारौं पर्यटकले यहाँको उकालो नाप्छन् ।

पोखराबाट अन्नपूर्ण बेस क्याम्प पुग्न ३ देखि ४ दिन लाग्छ । तथ्यांकले भन्छ, विश्वकै उत्कृष्टमा पर्ने अन्नपूर्ण आधार शिविर पदमार्गमा बर्सेनि लगभग ३० हजार पर्यटक पुग्छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तथ्यांक अनुसार सन् २०१७ मा ३० हजार ७२४, सन् २०१८ मा ३३ हजार ६८३ र सन् २०१९ मा झन्डै ३२ हजार पर्यटकले यस पदमार्गको यात्रा गरेका थिए । कोरोना महामारीका कारण सन् २०२० ठप्प भयो । विश्वले जस्तै अन्नपूर्ण पदमार्गले पनि मार खेप्यो तर पछिल्लो एक महिनाको तथ्यांक अनुसार २,७०० आन्तरिक र ३०० बाह्य पर्यटक पुगेका छन्  ।

कसरी पुग्ने ?

पोखरा-बागलुङ सडकखण्डको नयाँ पुलदेखि शुरु हुने पदमार्ग झन्डै ६७ किलोमिटर लामो छ । नयाँपुलबाट झिनुको उकालो हुँदै पहिलो दिन छोम्रोङ गाउँ पुग्न सकिन्छ । छोम्रोङमा पदयात्रीको विवरण टिपाउन एक्यापले पर्यटन सूचना केन्द्र स्थापना गरेको छ ।

पदयात्रीलाई मौसम सम्बन्धी जानकारी पनि दिइन्छ । लगभग २,१७० मिटर उचाइमा रहेको छोम्रोङ गाउँमा बास बस्न तथा खाना खान आधुनिक होटल र रेष्टुरेन्ट पनि छन् ।

छोम्रोङबाट चिरिच्याँट्ट परेका ढुंगेबाटो पछ्याउदै गए सिनुवा पुगिन्छ । सिनुवाभन्दा माथि बस्ती छैन, सीमित होटल मात्र छन् ।  सिनुवाबाट बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छ्रे बेस क्याम्प हुँदै अन्नपूर्ण आधार शिविर अर्थात् अन्नपूर्ण बेस क्याम्प पुगिन्छ ।

छोम्रोङबाट झन्डै २ घण्टाको उकालो चढेपछि सिनुवा पुगिन्छ । सिनुवाबाट बम्बु पुग्न साढे एक घण्टा लाग्छ । बम्बुबाट साढे एक घण्टामा दोभान र दोभानबाट २ घण्टा हिँडेपछि हिमालय पुगिन्छ । धेरैजसो पदयात्री दोस्रो दिन हिमालयमा रात बिताउँछन् । दोभानबाट माथि माछा/मासु लैजान निषेध गरिएको छ ।

हिमालयबाट खोंचैखोंच मोदी खोलालाई पछ्याएपछि ३ घण्टामा देउराली अनि देउरालीबाट २ घण्टामा माछापुच्छ्रे बेस क्याम्प पुगिन्छ । माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्पको दूरी २ घण्टाको हो ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?