
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेत र बाँकेको कोहलपुरबाट ५ जनालाई अफिम र नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ।
- पक्राउ परेकाहरूको साथबाट ३० केजी अफिम र १२ लाख ३६ हजार बराबरको नक्कली नोट बरामद भएको छ।
- प्रहरीले संलग्नहरुविरुद्ध लागुऔषध, मुद्रा सम्बन्धी कसूर र संगठित अपराधको कसुरमा कारबाही प्रक्रिया अघि बढाएको छ।
३१ असार, काठमाडौं । प्रहरीले लागूऔषध अफिम कारोबारी नक्कली नेपाली नोटको कारोबारमा समेत संलग्न रहेको फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतले गरेको कारबाहीमा अफिम कारोबारीसँग नेपाली नक्कली नोट समेत फेला परेको हो ।
सुर्खेतका डीएसपी मोहनजंग थापाका अनुसार, प्रहरीले सुर्खेत र बाँकेको कोहलपुरबाट ५ जनालाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट कम्तिमा ३० केजी अफिम बरामद भएको छ भने उनीहरुको साथमा १३ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट समेत भटिएको छ ।
प्रहरीका अनुसार,सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० शान्तिटोलबाट मंगलबार दिउँसो एक हजार दरका ६ वटा नक्कली नोटसहित जाजरकोट कुशे गाउँपालिका-५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई पक्राउ परेकी थिइन् ।
साँझ ६ बजे दिलमायाकै डेराबाट थप एक हजार दरका १२३६ थान नोट समेत बरामद भएको थियो । ती नोटहरु जम्मा १२ लाख ३६ हजार बराबरको रहेको डीएसपी थापा बताउँछन् ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा गएराति प्रहरीले जाजरकोटका कृष्णबहादुर वली (३५) र प्रेमबहादुर बि.क (३८) लाई सुर्खेतको भेरीगंगा नगरपालिका-१२, ठकुरीटोलबाट पक्राउ गरेको थियो ।
उनीहरूको डेरामा खानतलासी गर्दा कालो झोलाभित्र लुकाएर राखिएको अफिम ११ पोका, बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुबारे अनुसन्धान गरिरहेको टोलीले कोहलपुरमा जनगर्जन नेटवर्क प्रा.लि. चलाउँदै आएका कालिकोटका मनबहादुर सहकारी देउवाको समेत संलग्नता फेला पारेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको थियो ।
उनको घर तथा कार्यालयमा छापा मार्दा एक हजार दरका नक्कली नोट ५१ वटा भेटिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट १९ केजी ३०० ग्राम अफिम र नक्कली नोट बनाउने कलर प्रिन्टरसहितका उपकरण समेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यो घटनामा संलग्नहरुविरुद्ध लागुऔषध, मुद्रा सम्बन्धी कसूर र संगठित अपराधको कसुरमा थप कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया 4