+
+

उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध हटाउने रुस र चीनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १५:१७

१६ कात्तिक, काठमाडौं । चीन र रुसले उत्तर कोरियामाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्न भन्दै राष्ट्रसंघीय सुरक्षा परिषद्समक्ष प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।

चीन र रुसले मूर्ति, सी फुड, कपडा निर्यातमा प्योङयाङमाथि लगाइएको प्रतिबन्ध हटाउन भन्दै सन् २०१९ मा तयार पारिएको प्रस्ताव सुरक्षा परिपद्समक्ष पुन: पेश गर्न लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । नयाँ मस्यौदा प्रस्तावमा प्रशोधित पेट्रोलियम पदार्थ आयातमाथि लगाएको प्रतिबन्ध हटाउने विषय समेत उल्लेख गरिएको समाचारमा उल्लेख छ ।

चीन र रुसले उत्तर कोरियाली जनताको जीविकोपार्जन सुधार्ने उद्देश्यसहित सुरक्षा परिषदले प्रतिबन्ध हटाउनुपर्ने प्रस्ताव गरेका छन् ।

त्यस्तै, चीन र रुसले पहिलो पटक दुई वर्षअघि प्रस्ताव गरेका विदेशमा काम गर्ने उत्तर कोरियालीमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने, अन्तर-कोरियाली रेल सेवा तथा संयुक्त सडक परियोजनालाई प्रतिबन्धबाट छुट दिनुपर्ने लगायतका विषय समावेश गरिएको छ ।

उत्तर कोरियाले आफ्नो आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर सन् २००६ देखि राष्ट्रसंघको प्रतिबन्ध सामना गर्दै आएको छ ।

चीन र रुसले आफ्नो प्रस्तावमाथि छलफल गर्ने समय तय गरिसकेका छैनन् । राष्ट्रसंघका कैयौं कुटनीतिज्ञहरूले नाम गोप्य राख्ने शर्तमा पुन: पेश गर्न लागिएको मस्यौदा प्रस्तावले न्यून समर्थन प्राप्त गर्ने बताएको पनि समाचारमा जनाइएको छ ।

सन् २०१९ मा चीन र रुसले आफ्नो मस्यौदा प्रस्तावबारे विभिन्न चरणमा अनौपचारिक छलफल गरेका थिए । तर सुरक्षा परिषदसमक्ष मतदानका लागि औपचारिक रुपमा उक्त प्रस्ताव पेश गरिएको थिएन ।

सुरक्षा परिषदसमक्ष पेश हुने कुनै पनि प्रस्ताव पारित हुन स्थायी सदस्य राष्ट्रले भिटो नलगाएको अवस्थामा ९ मत आवश्यक पर्छ ।

अलजजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?