+
+

कलम र कुचीमा महाकविको विम्ब

रासस रासस
२०७८ कात्तिक १६ गते १५:१७
फाइल तस्वीर

१६ कात्तिक, नवलपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जन्मजयन्तीका अवसरमा उनको चित्र कोरिएको छ । नवलपरासीको गैंडाकोटस्थित किसान आर्ट ग्यालरीमा सोमबार आयोजित ‘महाकविका विम्ब २०७८’ मा १९ वर्षीय किशोरदेखि ७० वर्षीय कलाकार एकै ठाउँमा बसेर देवकोटाको चित्र कोरेका छन् ।

महाकविप्रति श्रद्धासुमन अर्पण गर्न कलाकार भेला भएर चित्र कोरिएको कलाकारका अध्यक्ष भीम शर्माले बताए । लक्ष्मी जयन्ती मनाउँदै गर्दा कलाकार एकै ठाउँमा भेला भएर क्यानभासमा चित्र कोर्दा कलाकारलाई प्रोत्साहन हुने उनको भनाइ छ । ‘आफूले गरेको कामबारे छलफल पनि हुने अनि कलाको गुणस्तर पनि वृद्धि हुने भएकाले सबै कलाकार एकै ठाउँमा जम्मा भएर तस्वीर कोरिएको हो’ उनले भने, ‘विभिन्न अवसर पारेर चित्र कोरिँदा चित्रकलालाई अभियानकै रुपमा लैजान सजिलो हुन्छ ।’

नवलपुर, चितवन, इटहरीलगायतका ठाउँबाट जम्मा भएका कलाकारले देवकोटासम्बन्धी चित्र कोरेका छन् । मंगलबार बिहान कोरिएको चित्र केही दिनसम्म सोही स्थानमा प्रदर्शनीका लागि राखिने कलाकार शर्माले जानकारी दिए । ‘चित्रमा एकरुपता ल्याउनका लागि सबै क्यानभासको एउटै आकारको छ, उनले भने, ‘एउटै आकारमा कोरिएका चित्रले देवकोटा र उहाँको योगदानका बारेमा बुझ्न समेत सहज हुन्छ ।’

किशोरदेखि प्रौढ कलाकार सहभागी

११३औं लक्ष्मी जयन्तीको अवसर पारेर  कलाकार, कलावती आर्ट, त्रिवेणी साहित्य परिषद्ले संयुक्त रुपमा आयोजना गरेको देवकोटा विम्बमा भरखरै कला क्षेत्रमा प्रवेश गरेकादेखि प्रौढ कलाकार सहभागी छन् । सो कार्यक्रममा चितवनको भरतपुरका १९ वर्षीय दिवस न्यौपानेदेखि गैंडाकोटका ७० वर्षीय कलाकार गोविन्द विनोदीसँगै चित्र कोर्दैछन् । अनुजहरुसँग बसेर चित्र कोर्दा रमाइलो लाग्ने कलाकार विनोदीले बताए ।

‘मैले चित्र कोर्न लगभग छोडिसकेको थिएँ, अहिले फेरि ४६ वर्षपछि चित्र कोर्न शुरु गरें, उनले भने, ‘सानैदेखि कलामा भएको रुचिका कारण चित्र कोर्ने गरेको भएपनि बीचमा कार्य व्यस्तताका कारण छोडेको थिएँ ।’ विनोदीले लामो समय व्यावसायिक रुपमा चित्र कोरेको भएपनि बीचमा चित्रकलाबाट टाढिएका थिए । कलाकार  शर्माले निरन्तर रुपमा आफूलाई चित्र कोर्न आग्रह गरेपछि पुनः चित्रकलामा प्रवेश गरेको विनोदीको भनाइ छ ।

त्यस्तै, १९ वर्षीय कलाकार न्यौपाने आफ्नो सानैदेखि रुचिको विषय चित्रकला भएका कारण अध्ययनसँगै चित्रकलालाई अगाडि बढाइरहेको बताए । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा विज्ञान सङ्कायमा स्नातक दोस्रो वर्षमा अध्ययनरत उनले हालसम्म २०० भन्दा बढी चित्र कोरिसकेको बताए । ‘अहिलेसम्म दुई सय बढी चित्र कोरिसकेको छु, तर यसरी सबैको माझमा बसेर भने पहिलो पटक चित्र कोर्दैछु,’ उनले भने, ‘सबैको बीचमा बसेर चित्र कोर्नभन्दा एकान्तमा बसेर चित्र कोर्न सहज हुने अनुभूति गरें ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?