+
+

झ्याप्पै लाइन काटिने समस्याबारे अध्ययन गर्दै प्राधिकरण

प्राधिकरणको स्थानीय व्यवस्थापनमा समस्याको आशंका

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ कात्तिक १६ गते १६:३२

१६ कात्तिक, काठमाडौं । लोडसेडिङ हटेको लामो समयसम्म पनि समस्या नहटेपछि नेपाल विद्युत प्राधिकरणले यसबारे अध्ययन नै थालेको छ । समस्या नहट्नुमा स्थानीय तवरमा व्यवस्थापनमा भएको कमजोरी पनि कारक रहेको हुनसक्ने देखिएकाले यसबारे गम्भीर रुपमा अध्ययन भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘किन धेरै बिजुली गइरहेको छ, भनेर हामीले अध्ययन गरिरहेका छौं,’ मंगलबार प्राधिकरणका आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने,’स्थानीय स्तरमा हाम्रा संयन्त्रहरुले सही ढंगले समयमै व्यवस्थापन नगरेकाले यस्तो भएको हुनसक्ने भएकाले हामीले अध्ययन थालेका हौं ।’ अध्ययनको निचोडअनुसार सुधारको थप प्रयास अघि ढब्ने उनको भनाइ छ ।

अझैपनि विभिन्न स्थानमा दैनिक बारम्बार बिजुली काटिने समस्या छ । कतिपयले यसलाई ‘लोडसेडिङ’ भन्दै गुनासो गर्ने गरेका छन् । प्राधिकरणले हिउँदमा लोड बढ्दा मुख्यगरी वितरणलाइनमा आउने समस्याका कारण यस्तो बिजुली काटिने समस्या आउने गरेको बताउने गरेको छ । तर, वर्षौंसम्म गुनासो कम नभएपछि प्राधिकरणले तल्लो स्तरसम्मै व्यवस्थापनमा देखिएको समस्याबारे अध्ययन शुरु गरेको हो ।

आफूलाई चितवन सहितका तराईका जिल्लाबाट झ्याप्प-झ्याप्प लाइन जाने समस्याबारे धेरै गुनासो आउने गरेको कार्यकारी निर्देशक घिसिङले बताए । वर्षैसाल क्रमशः अनियमित बिजुली कटौतीको तथ्यांक घट्दै गएपनि २४ घण्टा नै नियमित विद्युत आपूर्तिको वातावरण बनाउनु महत्वपूर्ण रहेको प्राधिकरणले बताएको छ ।

‘यसबारे बुझ्दा कतिपय क्षेत्रमा सडक विभागसहित स्थानीय तहहरुले विभिन्न विकासे कामका लागि दिउँसो २-४ घण्टा सट डाउन माग्दा रहेछन्,’ उनले भने,’यति मात्रै कारणले समस्या देखिएको हैन, हाम्रो वितरण केन्द्रले समयमै ट्रान्सर्फमर पडि्कएको, पोल ढलेको, तार चुँडिएको लगायतका समस्याबारे रेस्पोन्स नगरेकोले पनि यस्तो भएको हुनसक्ने देखिएकाले अध्ययन थालेका हौं ।’

उनले वितरण प्रणालीमा आउन सक्ने समस्यालाई हटाउन प्राधिकरणले आक्रमक रुपमा सुधार गरिरहेको पनि बताए । तर, गत वर्ष समयमै नकिनिँदा प्राधिकरणसँग अहिले ट्रान्सर्फमरको अभाव छ । जसले गर्दा प्रणाली सुधार पनि सकस परेको छ ।

जाडो महिनामा स्थानीय क्षेत्रमा लोड बढ्दा प्रणालीले धान्न नसकेपछि ट्रान्सर्फमर पड्किने समस्याहरु देखिन्छ । माग बढेअनुसार प्रणलीको क्षमता पनि बढाउने गरी काम भइरहेको घिसिङले बताए ।

‘सिस्टमलाई विश्वसनीय बनाउने कुरा हाम्रो लागि निकै चुनौतीपूर्ण छ,’ उनले भने,’ प्रणाली जति विश्वसनीय हुन्छ, त्यति नै उपभोक्ताको आत्म विश्वास बढ्छ र त्यसले खपत पनि बढ्छ ।’

प्राधिकरणलाई मागअनुसार वितरण गर्न बिजुली आपूर्ति गर्न समस्या नरहेको भन्दै घिसिङले अहिले मागभन्दा दिनमा २ सय मेगावाट र रातमा ५ सय मेगावाट बिजुली बढी उत्पादन भइरहेको बताए ।

जाडो मौसममा हिटर, एसी, इलेक्ट्रिक गिजर लगायत धेरै बिजुली खपत गर्ने यन्त्रहरु बढी चल्छन् । यसका कारण स्थानीय क्षेत्रमा वितरण गर्न राखेको ट्रान्सर्फमरको क्षमताभन्दा बढी बिजुली खपत हुने अवस्था आउनसक्ने सम्भावना पनि हुन्छ । त्यसले स्थानीय वितरण प्रणालीमा चाप परेर ट्रान्सर्फमर बिग्रने खतरा पनि हुन्छ ।

प्राधिकरणले हालसालै नेपाल इकरात इन्जिनियरिङ कम्पनीसँग ३ हजार ट्रान्सर्फमर खरिदको सम्झौता गरेको छ । सो ट्रान्सर्फमर पनि छिटो आपूर्ति भएर प्रणालीलाई बिलयो बनाउन सकिनेमा प्राधिकरण विश्वस्त छ ।

कार्यकारी निर्देशक घिसिङका अनुसार अहिले बिजुलीको वितरण सिंगल लाइन सिस्टममा आधारित छ । अब त्यसलाई डबल लाइन सिस्टममा रुपान्तरण गर्न अत्यावश्यक रहेको कार्यकारी निर्देशक उनी बताउँछन् । यसका लागि काठमाडौंमा काम पनि भइरहेको छ । एक स्थानको सबस्टेशनमा समस्या आउँदा अर्को सब स्टेसनबाट लाइन दिन सकिने गरी यस्तो रिंग तयार गरिँदैछ ।

लोडसेडिङ व्यवस्थापनसँगै प्राधिकरणले बिजुलीको गुणस्तर र सुरक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाएको कार्यकारी निर्देशक घिसिङको दाबी छ । हाल उपत्यकामा विभिन्न पाँच स्थानमा नयाँ सबस्टेसन निर्माण भइरहेको छ ।

ती सब-स्टेशनले मल्टिपल रिंगको काम गर्नेछन् । यी स्थानमा सबस्टेसन निर्माण सकिएर सञ्चालनमा आएपछि एकातर्फबाट लाइन काटियो भने अर्को स्टेशनबाट लाइन दिन सकिनेछ ।

वितरण लाइनलाई उच्च भोल्टेजमा लैजान पनि प्राधिकरणले काम थालेको छ  ।११ केभी र ३३ केभीमा मात्रै वितरण भइरहेको लाइनलाई १३२ केभीमा लैजाँदा उपभोक्ताले गुणस्तरीय बिजुली पाउने घिसिङ बताउँछन् । उद्योगहरुले त १३२ केभी लाइनबाटै लोड पाउन पनि थालेका छन् ।

विद्यमान सब-स्टेसनहरुमा पनि सुधारका कामहरु भइरहेको र वितरण प्रणालीलाई चुस्त बनाउन सबैतिर समानान्तर रुपमा प्रयास भइरहेको कार्यकारी घिसिङले बताए ।

‘झ्याप्प बिजुली कटौती हुन नदिन सबै खालका प्रयास एकसाथ अघि बढाएका छौं,’ घिसिङले भने ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?