+
+
Shares

मन्त्री कुलमान घिसिङ र जर्मनीका राजदूतबीच भेट, ट्रली बसमा सहयोग गर्न आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पोखरा, बुटवल र भरतपुर जाने सडक विस्तार भइरहेका र तीन शहर जोड्ने गरी ट्रली बस चलाउने परियोजनाको अध्ययनमा सहयोग गर्न नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जसँग आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा मन्त्री कुलमान घिसिङले पोखरा, बुटवल र भरतपुर जोड्ने ट्रली बस परियोजनाको अध्ययनका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जसँग सहयोग मागेका छन्।
  • मन्त्री घिसिङले जर्मनीसँग प्रसारण र वितरण प्रणाली विस्तार गरी विद्युत भार व्यवस्थापन गर्न आवश्यक अध्ययन गर्न आग्रह गरे।
  • राजदूत भोल्जले आगामी डिसेम्बरमा सहायता पुनरावलोकनका लागि टोली नेपाल आउने जानकारी दिए।

२९ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पोखरा, बुटवल र भरतपुर जाने सडक विस्तार भइरहेका र तीन शहर जोड्ने गरी ट्रली बस चलाउने परियोजनाको अध्ययनमा सहयोग गर्न नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जसँग आग्रह गरेका छन् ।

मन्त्री घिसिङ र राजदूत भोल्जबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा सो रुटमा ट्रलीबस, चार्जिङ स्टेसन, त्यस क्षेत्रमा बढ्ने विद्युत भार र त्यसको व्यवस्थापनका लागि प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधारका लागि गर्नु पर्ने कामका लागि अध्ययन आवश्यक भएकाले सहयोग गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीकातर्फबाट बधाइ दिए । उनीहरु जर्मनी–नेपालबीचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन आयोजना, ऊर्जा रुपान्तरणका लागि सहायताका सम्भावित क्षेत्रलगायत विषयमा छलफल भएको थियो । मन्त्री घिसिङले जर्मनीले नेपाललाई पुर्‍याउँदै आएको सहायता बढाउन आग्रह गरे ।

नेपाल र जर्मनीबीच आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै राजदूतसँगको भेटमा मन्त्री घिसिङले जर्मनीको सहायतामा निर्माण भएका मध्यमर्स्याङ्दी र मर्स्याङ्दी जलविद्युत आयोजना नेपालको ऊर्जा क्षेत्रमा लाइफ लाइन रहेको बताए ।

जर्मनी र युरोपेली सङ्घको संयुक्त सहायतामा अगाडि बढाइएको सन् २०२९ सम्ममा विकास हुने पोखरा–बुटवल–भरतपुर हरित त्रिकोण परियोजना ऊर्जा खपतका लागि महत्वपूर्ण भएको बताउँदै मन्त्री घिसिङले त्यस क्षेत्रमा विद्युतीय सवारी साधन र घरायसी प्रयोजनका लागि विद्युत् प्रयोगलाई प्रोत्साहन एवम् प्रवर्द्धन गर्न प्रसारण र वितरण सञ्जाल विस्तार तथा सुधारको काम तत्काल सुरु हुने उल्लेख गरे ।

उनले जेन–जी आन्दोलनका क्रममा अगलागी गम्भीर क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको परीक्षण गरी पुनर्निर्माण यकिन गर्न स्वदेशीविज्ञ नरहेकाले अन्तर्राष्ट्रिय विज्ञ उपलब्ध गराइदिन आग्रह गरे ।

भेटमा राजदूत भोल्जले जर्मनीले नेपाललाई आगमी दुई वर्षका लागि सहायता उपलब्ध गराउने क्षेत्रको पहिचान, सहायता पुनरावलोकन लागि परामर्श गर्न आगामी डिसेम्बरमा टोली आउन लागेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?