+
+

नेपाली फिल्ममा कुकुर : दर्शकलाई हलसम्म तान्ने सारथी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १४:०१

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिँदैछ । आजको दिन कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खान दिने परम्परा छ । यसो गर्दा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहज रूपमा बाटो छाडिदिने धार्मिक विश्वास छ । कुकुर मानिससँग सबैभन्दा धेरै नजिकिने घरपालुवा जनावरका रूपमा मानिन्छ ।

नेपाली चलचित्रमा पनि कुकुरको महत्व र उसको भूमिकालाई झल्काइएको छ । थुप्रै नेपाली चलचित्रमा समेत कुकुरको अभिनय हेर्न सकिन्छ । केही चलचित्रमा त कुकुरलाई मुख्य भूमिकामै प्रस्तुत गरिएको छ ।

लक्ष्मीनाथ शर्माद्वारा निर्देशित चलचित्र ‘साथी’मा कुकुरलाई मुख्य भूमिकामा देख्न सकिन्छ । २०५४ सालमा निर्माण भएको चलचित्रमा कुकुरलाई अभिनेता राजेश हमालको साथीको रुपमा प्रस्तुत गरिएको छ । जुन चलचित्रमा कुकुरको नाम ‘अर्जुन’ राखिएको छ । चलचित्रमा कुकुरको बफादारिता हेर्न सकिन्छ । यो चलचित्र रिलिज भएको समयमा कुकुरको भूमिकाको खुबै चर्चा भएको थियो । चलचित्रमा समावेश ‘मलाई पनि अंग्रेजी’मा बोलको गीतमा राजेश हमाल र करिश्मा मानन्धरसँग कुकुरको नृत्यलाई पनि दर्शकले रुचाएका थिए । चलचित्रमा राजेश, करिश्माको साथमा गौरी मल्ल, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा लगायतको अभिनय छ । यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।

दीपक श्रेष्ठको कथा एवं निर्देशनमा बनेको चलचित्र ‘भाइ’मा कुकुरलाई मुख्य भूमिकामै प्रस्तुत गरिएको छ । २०५६ सालमा प्रदर्शनमा आएको यस चलचित्रमा कुकुरको नाम नै ‘भाइ’ राखिएको छ । कुकुरले नायक सुशील क्षेत्रीको हरेक सुख–दुःखमा साथ दिएको देखाइएको छ । कुकुरले पारिवारिक समस्यामा मात्र भूमिका खेल्दैन, नायक सुशील क्षेत्री अप्ठ्यारोमा पर्दा समेत उनलाई साथ दिएको हेर्न सकिन्छ । चलचित्रमा कुकुरले विभिन्न जोखिमपूर्ण कार्य समेत गरेको छ । नायक सुशीललाई बाल्यकालदेखि साथ दिँदै आएको कुकुरले उनका लागि ज्यान नै दिएको दृश्यले दर्शकलाई भावुक बनाउँछ । यसले कुकुर आफ्नो नजिकका मानिसप्रति कति इमान्दार र बफादार हुन्छ भन्ने सन्देश दिन खोजेको छ ।

दीपक श्रेष्ठकै निर्देशनमा बनेको चलचित्र ‘पापी मान्छे’मा कुकुरलाई मुख्य भूमिकामै प्रस्तुत गरिएको छ । चलचित्रमा कुकुरको नाम ‘हिरो’ राखिएको छ । यो चलचित्रमा निखिल उप्रेती, करिश्मा मानन्धर, सञ्चिता लुइँटेल, सुनिल थापा, हिउँवाला गौतम, दिनेश शर्मा लगायतको अभिनय छ । चलचित्रमा कुकुर र बाँदरले दुःखमा साथ दिने, खलपात्रबाट जोगाउने खालको भूमिका निर्वाह गरेको हेर्न सकिन्छ । दीपक श्रेष्ठकै निर्देशनमा बनेको ‘पापी मान्छे २’मा पनि कुकुरलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । यो चलचित्रमा निखिल उप्रेती, सुनिल थापा, पुजना प्रधान, सुनिलदत्त पाण्डे लगायतको अभिनय छ । त्यस्तै, दीपककै निर्देशन रहेको चलचित्र ‘तकदीर’मा पनि कुकुरलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । १३ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्रमा नायक विराज भट्टको सहयोगीको भूमिकामा कुकुरलाई हेर्न सकिन्छ । कुकुरको नाम ‘जंगे’ राखिएको छ । विराज भट्ट, झरना थापा, दिलीप रायमाझी लगायतको चलचित्रमा अभिनय छ । यो चलचित्रमा पनि कुकुरलाई इमान्दार र बफादार जनावरका रुपमा प्रस्तुत गरिएको छ ।

बासुदेव पोखरेलको निर्देशनमा बनेको चलचित्र ‘अन्त्य’मा कुकुरलाई मुख्य भूमिकामै प्रस्तुत गरिएको छ । चलचित्रमा दिनेश शर्मा, उषा पौडेल, सुशील पोखरेल लगायतको अभिनय छ । यो चलचित्रमा कुकुरलाई ‘जुनु’ नाममा प्रस्तुत गरिएको छ । यो चलचित्रमा पनि कुकुरलाई अभिनेताको सहयोगी जनावरका रुपमा प्रस्तुत गरिएको छ । त्यस्तै, दयाराम दाहालद्वारा निर्देशित चलचित्र ‘ढुकढुकी’, विकास आचार्यद्वारा निर्देशित ‘नसिब आफ्नो’मा कुकुरलाई प्रस्तुत गरिएको छ ।

यी लगायत अन्य थुप्रै चलचित्रमा पनि कुकुरको अभिनय हेर्न सकिन्छ । कुनै समय केही चलचित्रका लागि निर्माताले नायकलाई भन्दा महँगो पारिश्रमिक कुकुरलाई तिरेका थिए ।

चलचित्रमा कुकुर, घोडा, हात्ती, बाँदरको अभिनय हुँदा चलचित्र हेर्न दर्शक हलसम्म पुग्ने गरेका थिए । अहिले भने नेपाली चलचित्रमा कुकुरको प्रयोग खासै भएको पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?